बलात्कार र हत्या अभियुक्त १९ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — झण्डै दुई दशक पुरानो बलात्कार पछि हत्या घटनाका फरार अभियुक्त लिलाराज गौतमलाई नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)को सहयोगमा अमेरिकाबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

बलात्कार र हत्या अभियुक्त १९ वर्षपछि पक्राउ

२०५७ असोज २९ गते झापा चन्द्रगढी ३ का लिलाराज गौतम, मनोज खड्का र सिताराम बस्नेतले स्थानीय सन्ध्या राजवंशीलाई जर्बजस्ती करणी पछि घाँटी थिचेर हत्या गरेका थिए ।


झापा जिल्ला अदालतले २०५८ कार्तिक २१ गते सफाई दिएको यो घटना पुनरावेदन हुँदै सर्वोच्च अदालत पुगेर उल्टिएको थियो । सर्वोच्चले २०६६ भदौ २९ गते गौतम समेतलाई घटनामा दोषी ठहर गरी जन्म कैदको फैसला गरेको थियो । फैसला लगत्तै फरार रहेका गौतमलाई प्रहरीले रेड कर्नर नोटिस जारी गरी पक्राउ गरेर ल्याएको हो । जिल्ला अदालतको आदेश अघि नै १० महिना हिरासतमा बसेका गौतमले अब बाँकी रहेको १९ वर्ष २ महिना असुल गर्न बाँकी छ ।


फैसला कार्यान्वयन इकाइबाट प्राप्त सूचना पछि प्रहरीले २०७४ असोज २६ गते गौतमलाई खोजतलास गर्न इन्टरपोलसँग समन्वय गरी रेड कर्नर नोटिस जारी गरेको थियो । उनी अमेरिका रहेको पत्तो लागेपछि इन्टरपोल वासिङटनले २०१८ जनवरीमा गौतमको घर ठेगाना पत्ता लगाएको थियो ।


वासिङटन इन्टरपोलले गौतमले अमेरिकाको अध्यागमन कानून समेत उल्लंघन गरेको सूचना नेपाल प्रहरीलाई दिएको थियो । २०१८ फेब्रुअरी १२ मा पक्राउ परे लगत्तै गौतलाई ‘डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ हिरासतमा राखिएको थियो ।


अमेरिकी अध्यागमन उल्लघंन सम्बन्धी मुद्दाको छिनोफानो भएपछि बुधबार गौतमलाई टर्किस एअरलाइन्समार्फत नेपाल ल्याइएको हो । अमेरिकास्थित नेपाली दूतावासको समन्वयमा नेपाल ल्याइएका गौतमलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा राखिएको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?