राजपा उपाध्यक्ष रामनारायण यादव फरार सूचीमा

रामनारायण यादवलाई जिल्ला अदालत सप्तरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।
अवधेशकुमार झा

राजविराज — राजपाका केन्द्रीय उपाध्यक्ष रामनारायण यादव प्रहरीको फरार सूचीमा रहेको खुलेको छ । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका उनी खुलेआम राजनैतिक गतिविधिमा सहभागी हुने गरेका छन् । उनी सप्तरीको छिन्नमस्ता गाउँपालिका सखडाका हुन् ।

कर्तव्य ज्यान, आगलागी र डाँका मुद्दामा २०६९ मंसिर २६ गते पक्राउ परेका सप्तरीको साबिक रम्पुरा मल्हनिया गाविसका कमलेश यादव भनिने किसन यादवको बयानका आधारमा सप्तरी प्रहरीले रणवीर सिंह भनिने रामनारायणको खोजी थालेको थियो।

रामनारायण त्यतिबेला तराईमा भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा रणवीर सिंह समूहका केन्द्रीय अध्यक्ष थिए। रणवीर सिंह उनकै भूमिगत संगठनभित्रको नाम थियो।

कमलेशले रामनारायणलगायतसँग सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी हनुमाननगर–कुनौली सडक खण्डभन्दा १ किलोमिटरपूर्व पुलनजिक सडकमा बम गाडेको बयान दिएका थिए। त्यसपछि प्रहरीले कमलेशले भनेको ठाउँमा उत्खनन गर्दा बम फेला परेको थियो।

कमलेशको बयानपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा रामनारायणलाई समेत विपक्षी बनाउँदै पक्राउ गर्न मातहतको इलाका प्रहरी कार्यालय सखडालाई २०६९ पुस ३ गते पत्राचार गरेको थियो। तर रामनारायणलाई प्रहरीले पक्राउ गर्न सकेन। लगत्तै जिल्ला अदालत सप्तरीले उनको नाममा म्याद जारी गरेको थियो। तर जारी भएको म्याद २०७० जेठ १ गते तामेली भए पनि रामनारायण अदालतमा उपस्थित नभएको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाले बताए।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रामनारायणमाथि विस्फोटक पदार्थसम्बन्धी ऐन २०१८ को दफा ४(१) बमोजिमको अभियोग लगाउँदै सजायको मागदाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो। उक्त मुद्दामा २०७१ वैशाख १७ गते जिल्ला अदालत सप्तरीका तात्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले रामनारायण र कमलेश दुवैलाई जनही १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो।

कमलेश अर्के मुद्दामा कारागारभित्रै थिए भने रामनारायण फैसला हुँदासम्म फरार थिए। पुनरावेदन गर्नुपर्ने म्यादभित्र कमलेशले उच्च अदालत राजविराज इजलासमा फैसलाप्रति असहमति जनाउँदै रिट दायर गरेका थिए। २०७५ माघ ९ गते उच्च अदालत राजविराज इजलासका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको इजलासले २०७४ माघ १६ गते नै कमलेशको मृत्यु भइसकेकाले उनीमाथिको सजाय मिनाहा गर्ने फैसला गरेको थियो।

रामनारायणले भने म्यादभित्र पुनरावेदनसमेत नगरेकाले उनीमाथि जिल्ला अदालत सप्तरीले गरेको १ वर्ष ६ महिना कैदसम्बन्धी फैसला नै अन्तिम भएको स्रेस्तेदार बर्देवाले बताए। ‘रामनारायण अदालतबाट सजाय तोकिएर फरार भएका व्यक्ति हुन्,’ बर्देवाले भने।

रामनारायण अनिलकुमार झा नेतृत्वको तात्कालीन नेपाल सद्भावना पार्टीको केन्द्रीय उपाध्यक्ष हुँदै अहिले ६ पार्टीबीच एकता भएपछि निर्माण भएको राजपाको केन्द्रीय उपाध्यक्ष छन्। उनले भने आफू जनतान्त्रिकमा रहेका बेला राज्यद्वारा लगाइएको झूटा मुद्दाको उक्त कैद सजाय भएको बताए। ‘२०७१ र २०७५ सालमा गरी दुईपटक सरकारी टोलीसँग वार्ता भई मुद्दा फिर्ता गर्ने सहमति भएको हो। तर सरकारीस्तरबाट मुद्दा फिर्ता नगरी फरार सूचीमा राखिनु दुःखद् छ,’ उनले भने, ‘वार्तामा आई हतियार त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको पाँच वर्ष भयो तर सरकारले प्रतिबद्धताअनुरूप मुद्दा फिर्ता नगरेर द्वन्द्व बल्झाउन खोजेको छ।’

प्रकाशित : कार्तिक ६, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सैन्य भर्ना अनियमिततामा २७ जनामाथि छानबिन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गरेका ४ सैनिक र २३ गैरसैनिकमाथि अनुसन्धान अघि बढाएको छ । किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा उनीहरूलाई सैनिक निगरानीमा राखी अनुसन्धान सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सेनाले ४० भर्ना केन्द्रबाट रिक्त ५ हजार ८ सय दरबन्दीमा सैन्य छनोट प्रक्रिया अघि बढाएको थियो । नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतमा नक्कली परिचयपत्र बनाई किर्ते गरेकामा तीन सैनिक, श्री ५ नं. बाहिनी अड्डा भर्ना केन्द्र कैलालीमा आर्थिक लेनदेन गरेको आशंकामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान अघि बढाइएको निर्देशनालयले उल्लेख गरेको छ ।

सुर्खेत भर्ना केन्द्रमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन पठाउने ६ उम्मेदवार र ९ नक्कली परीक्षार्थीलाई जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएकोसमेत निर्देशनालयले जनाएको छ ।

सैन्य भर्ना केन्द्र श्री २४ नं. बाहिनी अड्डा, जुम्ला तथा श्री नं. ५ बाहिनी, कैलालीमा परीक्षा दिन आएका ४ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको र वास्तविक परीक्षार्थीको खोजी भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अरू तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ गैरसैनिकलाई नियन्त्रणमा लिइएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई संगठनमा योग्य व्यक्ति प्रवेश गराउन जोड दिँदै आएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा ‘प्रमाणीकरण कक्ष’ राखेर बायोमेट्रिक मेसिन प्रयोग गरी उम्मेदवारको प्रमाणीकरण तथा किर्ते नियन्त्रण गर्न थालिएको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्