दुइ माजुको सम्झौता खारेज गरिँदै, महानगरले नै संरक्षणको जिम्मा लिने

हामी आफैं संरक्षण गर्छौं : उममेयर  खड्गी 
दामोदर न्यौपाने, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र दुइ माजु मन्दिर परिसरको सम्झौता खारेज हुने भएको छ । दुइ माजु क्षेत्रमा सरसफाइ गर्ने जिम्मेवारी पाएकी गोरखा तान्द्राङकी अमृता भट्टराईले सम्झौता खारेज गर्न गत साता गुठी संस्थानमा निवदेन दर्ता गराएपछि संस्थानले खारेज गर्ने प्रकृया अघि बढाएको हो । 

उनले कार्यव्यस्ताले गर्दा सम्झौता कार्यन्वयन गर्न नसकेको निवेदनमा उल्लेख गरेकी छन्। भक्तजन पुजा गर्न आउने ठाउँ कब्जा गरेको विषय कान्तिपुरले उठाएपछि गत चैतमा यहाँका पसल संचालक आफैंले हटाएका थिए। त्यसको ६ महिनापछि फेरि त्यही ठाउँमा पसल संचालन भएपछि सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासीले विरोध गरेपछिका भट्टराई सम्झौता खारेज गर्न संस्थान गएकी थिइन्।

पसल संचालन गरेको ठाउँको अनुगमन गर्न काठमाडौं महानगरपालिकाका उपमेयर तथा अनुगमन समिति संयोजक हरिप्रभा खड्गी श्रेष्ठ दुइ माजु गएकी थिइन्। त्यहाँ निरक्षण गरेर खड्गी गुठी संस्थान गएकी थिइन्। खड्गीसहित संस्थान गएका सम्पदा संरक्षण अभियन्ता, पत्रकार लगायतसँग छलफल गर्ने क्रममा संस्थानका प्रशासक नारायण चौधरीले प्रकृया पुर्‍याएर खारेज गर्ने जानकारी दिए।

अमृताले गुठी संस्थान काठमाडौं कार्यलयसँग सम्झौता गरेकी थिइन्। उनले खारेजीको लागि निवेदन पनि कालमोचन घाटस्थित संस्थानको काठमाडौं कार्यालयमा दिएकी थिइन्। गुठी संस्थान काठमाडौंका प्रमुख शैलेन्द पौडेलले सम्झौता खारेज गर्न केन्द्रलाई सिफारिस गरिसकेको जानकारी दिए। ‘सिफारिस आएको छ,’ चौधरीले भने, ‘सम्भवत आजै खारेज गर्ने निर्णय हुन्छ।’

काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै यो क्षेत्र कब्जामा परेको थियो। गुठी संस्थानबाट अमृताले अनुमति लिएर अरुलाई पसल संचालन गर्न दिएकी थिइन्। गोरखाका भीमसेन गाउँपालिका—२ तान्द्राङकी अमृता भट्टराइले व्यवसाय संचालन गर्न संस्थानसँग ५ वर्षका लागि भाडामा लिएकी थिइन्।

‘हामीले सफाइ गर्न अनुमति दिएका हौं। सफाइको लागि आम्दानी पनि होस भनेर कतै पसल राख्नुस भनेका हौं,’ चौधरी भन्छन्, ‘यसरी आफूले लिएर अरुलाई संचालन गर्न देउ भनेकै थिएन।’ चौधरीले अमृतलाई नियम अनुसार नै संचालन गर्न दिएको दाबी गरे। ‘त्यो गुठीको स्वामित्वको जग्गा हो। नियमसंगत तरिकाले नै चलाउन दिएको हो,’ उनले भने, ‘तैपनि सम्पदा संरक्षण अभियन्ताले विरोध गरे। महानगरको उपम्रखुक आफैं आउनु भयो। त्यही भएर खारेज गर्नै निर्णयमा पुग्यौं।’

उपम्रमुख खड्गीले दुइ माजु परिसरको जिम्मेवारी महानगरले लिने बताइन्। ‘फोहोर भयो भने सफाइ गर्ने दायित्व अब महानगरले लिन्छ,’ खड्गीले भनिन्, ‘सफा गर्छु भनेर छिर्ने अनि कब्जा गर्ने गर्न पाइँदैन।’

खारेज गर्न दबाब दिंदै सम्पदा संरक्षण अभियन्ताले दुइ माजु परिसरमा बुधबार बिहान धर्ना समेत दिएका थिए। ‘हेर्दा केही नदेखिएपनि यो महत्वपूर्ण शक्तिपिठ हो,’ सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘महत्वपूर्ण सम्पदा सरकारी निकायकै मिलेमतोमा कब्जामा पर्‍यो। त्यही भएर हामी दबाब दिन आएका हौं। गुठी हटाउन बाध्य भयो। यस्ता मिचिएका हरेक ठाउँका सम्पदामा हामी दबाब सिर्जना गर्छौ। अब हाकाहाकी सम्पदा मिच्न हामी दिंदैनौं।’

आफूले न्युन मुल्यमा चलाउन अनुमति लिएर भट्टराइले १७ जनालाई भाडामा दिएकी थिइन्। गिफ्ट सप, रेडिमेड पसलदेखि जुस पसलसम्म संचालन गरिएका छन्। पसल संचालन गर्नेले काठमाडौं महानगरपालिकामा व्यवासाय दर्ता समेत गरेका छन्। मन्दिर परिसरमा अस्थायी टहरा निर्माण गरिएको छ। टहरा निर्माण गर्न पनि काठमाडौं महानगरपालिकाले अनुमति दिएको छ।

महानगरको भवन निर्माण विभागले टहरा बनाउन अनुमति दिएको वडा महानगर वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले जानकारी दिए। दुइ माजु क्षेत्र महानगरको २८ नम्बर वडामा पर्छ। अमृताले मरिण ठाकुर इन्टरनेशनलाई टहरा बनाउन ठेक्का दिएकी थिइन्। मरिण ठाकुरकै मातहत रहने गरी १७ जनलाई पसल संचालन गर्न अनुमति दिएको पाइएको छ।

गुठी संस्थान काठमाडौं शाखा कार्यालय र भट्टराइ बीच विभिन्न १३ वटा शर्तमा रहेर व्यवसाय संचालन गर्न सम्झौता भएको थियो। पसल संचालन गर्न सटर बनाउन काठमाडौं महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्यले सहमति दिएका थिए।

त्यही सहमति अनुसार सटर बनाएर पसल संचालन गर्न गुठी संस्थानले अनुमति दिएको हो। विभाग प्रमुख शाक्यले २०७५ फागुन १० मा अस्थायी टहरा निर्माण गर्न सहमति दिएका थिए। ‘गुठी अन्तरगतको मीन्दर परिसरमा आवश्यक पुजा सामग्री व्यवस्थापन, सरसफाइ, पुजाआजा तथा रेखदेखका लागि तहाँ गुठीबाट स्वीकृत नक्सा बमोजिम सहमति माग भएकोमा मिति २०७५ फाुगन १० को सदर टिप्पणी निर्णय अनुसार तहाँबाट पेश नक्सामा फरक नपर्ने गरी अस्थायी टहरा निर्माणको लागि सहमति प्रदान गरिएको व्यहोरा अनुरोध छ,’ शाक्यले गुठी संस्थानलाई लेखेको सहमति पत्रमा उल्लेख छ।

जग्गामा ५ वर्षसम्म व्यवसाय संचालन गर्न दिने निर्णय गत मंसिर २० गते गुठी संस्थानले गरेको थियो। जग्गा गुठी संस्थानको पूर्ण स्वामित्वमा छ। त्यही निर्णय अनुसार गुठी संस्थान काठमाडौं शाखा कार्यालयका प्रमुख वैकुण्ठ प्रसाद रेग्मीले गत पुस ४ गते भट्टराईलाई व्यवसाय संचालन गर्न कार्यदेश दिएका थिए।

‘यस संस्थानको पूर्ण स्वामितत्वमा रहेको श्री दुईमाजु गुठी मन्दिर परिसरमा रहेको खाली जग्गामा साधारण व्यवसाय संचालन गर्न तपाईलाई यो कार्यदेश दिइएको व्यवहारा जानकारी गराइन्छ,’ कार्यलय प्रमुख रेग्मीले भट्टराइलाई लेखेको पत्रमा उल्लेख छ।

तत्कालिन कार्यालय प्रमुख रेग्मी र भटटराइबीच भएको सम्झौतामा मन्दिर परिसर प्रयोग गरे वापत मासिक १५ हजार रुपैयाका दरले बुझाउनु पर्ने उल्लेख छ। व्यवसाय संचालन गर्नु पहिला ६ महिनाको एकमुष्ट भाडा ९० हजार रुपैया बुझाउने सहमति भएको छ। भाडा वापतको रकम हरेक महिना बुझाउनु पर्ने गरी सम्झौता भएको छ। २ महिनासम्म भाडा नतिरेमा करार स्वत भंग हुने र धरौटी रकम समेत जफत समेत हुने व्यवस्था गरिएको छ।

मन्दिर समेत भित्र पर्ने गरी यहाँ सटर निर्माण गरिएको छ। मन्दिरको वरिपरि खाट राखिएका छन्। प्रत्येक खाटमा एक जनाको पसल छ। भट्टराइले अरु ३२ जनालाई भाडामा दिएकी छन्। एक जनासँग कम्तीमा ५ हजार लिने गरेको एक पसल संचालकले बताए।

पसल संचालन अवधि पाँच वर्षबाट दुवै पक्षको सहमतिमा थप्न सकिने व्यवस्था सम्झौता पत्रमा गरिएको छ। मन्दिर परिसरको धार्मिक एवम् सांस्कृतिक मुल्य मान्यतामा आँच नआउने गरी व्यवस्थापन गर्नु पर्ने सम्झौतामा उल्लेख छ।

‘नित्य पुजा हुने मन्दिरमा सटर राखिएको छ,’ काठमाडौं क्षेत्र नम्बर ६ का सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान भन्छन्, ‘यो ऐतिहासिक मन्दिर कब्जा भएको छ। पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा समेत यही दुइमाजुबाट शक्ति लिएको इतिहास छ। यस्तो ऐतिहाििसक स्थल कब्जा गरिएको छ। यसलाई तुरुन्त खुला गर्नु पर्छ।’

सम्पदा संरक्षण अभियन्ताले मन्दिर परिसर तुरुन्त खाली गर्न अल्टिमेटम दिएका छन्। ‘ऐतिहासिक महत्व बोकेको दुई माजु गुठीको जग्गा सरकारी निकाय र माफियाले आफ्नो स्वार्थको लागि दोहन गरेका छन्। सम्झौताकर्ताले नै सम्झौता रद्ध गरिपाउँ भनेपछि गुठीले तुरुन्त रद्ध गर्नु पर्छ’ सम्पदा संरक्षण अभियन्ता गणपपतिलाल श्रेष्ठ भन्छन्, ‘कब्जा गर्नेलाई छानवीन गरि कडा कारबाही गर्नु पर्छ। यो ठाउँ तुरुन्त खाली गरियोस्। नत्र जनताले हस्तक्षेप गरेर हटाइदिन्छन्।

हनुमानढोको तलेजु भवानीसँग साइनो छ दूईमाजुको। यसका पुजारी पनि तलेजु भवानीकै हुन्। तलेजु भवानीको सारथीको रुपमा पुजा अर्चना हुने पुजारी कर्माचार्यले बताए। ‘जुन ठाउँमा तलेजु हुन्छन्, त्यो ठाउँमा दुईमाजु पनि हुन्छन्,‘ कर्माचार्य भन्छन। काठमाडौं, भक्तपुर, ललितपुर, टोखा, दोलखा, टिस्टुङ, पालुङ जस्ता प्राचीन नेवार वस्ती भएका ठाउँमा तलेजु भवानी छन्।

पुजारी उद्धव कर्माचायका अनुसार दुइमाजु भनेको अदृश्य शक्ति हो। अदृश्य शक्तिलाई धोक्रो जस्तो स्वरुपमा छोपि राखिएका हुन्छ। ‘तलेजु पनि अदृश्य हो। दुई माजु पनि अदृश्य हो,’ कर्माचार्य भन्छन्, ‘शक्तिलाई सारथी चाहिन्छ। तलेजु शक्ति हुन्। तलेजुलाई शक्ति दिने सारथी दुइमाजु हुन्। त्यही भएर जहाँ तलेजु हुन्छन्, त्यहाँ दुईमाजु हुन्छन्।’ टुडिखेलको दुई माजु मन्दिरमा आकृति नदेखिने दुईमाजु छन्। पहिला मन्दिर खुला थियो। ९० सालकोको भुइचालोपछि राणाहरुले मन्दिर निर्माण गरेको कर्माचार्याले बताए। मन्दिर ‘निओ क्लाशिकल’ वास्तु अनुसार बनेको छ।

काठमाडौंको तलेजु भक्तपुरबाट ल्याएको मानिन्छ। इतिहासकार प्रा श्रीराम उपाध्यायका अनुसार रत्न मल्लको पालामा भक्तपुरबाट काठमाडौं तलेजु ल्याइएको थियो। यक्ष मल्लको विस १५३८ मृत्यु भएपछि उपत्यका टुक्रिएको थियो। काठमाडौंका महापात्रलाई कब्जामा लिएर विस १५४१ मा काठमाडौं स्वतन्त्र राज्य बनाएका थिए।

प्रकाशित : कार्तिक ६, २०७६ १३:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बलात्कारको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

(गण्डकी) — बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक युवालाई पक्राउ गरेको छ ।

गत बुधबार १७ वर्षीयालाई बलात्कार गरेको पीडितका आफन्तको जाहेरीको आधारमा प्रहरीले आँधीखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमैलाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार पक्राउ दमैलाई सोही दिन नै जिल्ला अदालत स्याङ्जामा ५ दिने म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

‘दमैले विभिन्न बाहाना बनाई, ललाईफकाई, बोल्न, कराउन, चल्न नदिई करणी गरेकोले भन्ने उजुरी आयो’ उनले भने, ‘पीडितको बयान र उजुरीको आधारमा दमैलाई पक्राउ गरि जबरजस्ती करणीको मुद्दामा म्याद थप गरायौं । थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : कार्तिक ६, २०७६ १३:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT