१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आर्यघाटमा काम गर्नेहरुको पारिश्रमिक बढ्यो, सुविधा बढेपछि आन्दोलन फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपतिको आर्यघाट लगायत मृगस्थली क्षेत्रमा अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरा बोक्ने, खाडल खन्ने तथा शवदाह गर्ने कार्यमा संलग्न हुने श्रमिकहरुले सेवा-सुविधा बढाउनुपर्ने माग गर्दै सुरु गरेको आन्दोलन वार्तामा सहमति भएपछि टुंगिएको छ ।

आर्यघाटमा काम गर्नेहरुको पारिश्रमिक बढ्यो, सुविधा बढेपछि आन्दोलन फिर्ता

घाट सेवा केन्द्रका कर्मचारीहरुले अन्तिम संस्कारका कार्यमा संलग्न नहुने घोषणा गरे लगत्तै पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । आन्दोलनरत पक्षले समयानुकुल पारिश्रमिक वृद्धि, अवकाश हुँदा पाउने उपदानमा वृद्धि, स्वास्थ्य बिमाको व्यवस्था तथा काम गर्न सुरक्षित उपकरणको व्यवस्था हुनुपर्ने लगायतका माग अघि सारेर बुधबार बिहानदेखि आन्दोलनको घोषणा गरेका थिए ।


पशुपति क्षेत्र विकास कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा महाशाखामा भएको दुईपक्षीय वार्तामा सहमति जुटेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका छन् ।


आज बिहान भएको वार्तामा पहिला नियमानुसार ५० हजार, १ लाख र १ लाख ५० हजार उपदानका रुपमा पाउने रकमलाई वृद्धि गरेर क्रमश: १ लाख ५० हजार, ३ लाख र ५ लाख पुर्‍याइने सहमति भएको छ । यस्तै उपचारका लागि दिइने ५ हजार र २० हजारलाई पनि क्रमश: बढाएर १५ हजार र ३० हजार गर्ने सहमति भएको छ ।


यसका साथै श्रमिकहरुले प्राप्त गर्ने ज्यालामा पनि वृद्धि गर्ने सहमति भएको छ । जसअनुसार दाहसंस्कार गर्नेले पाउने रकम १२ सयबाट बढाएर १५ सय गर्ने, चपरी र दाउरा ओसार्नेको रकम ४ सयबाट बढाएर ६ सय गर्ने सहमति भएको छ । यस्तै प्रत्येक २ वर्षमा पारिश्रमिक वृद्धि गर्ने र उमेर हदलाई पनि ६० बाट बढाएर ६५ गर्ने विषयमा सहमति जुटेको सामुदायीक महाशाखाका प्रमुख राजु रेग्मीले जानकारी दिएका छन् ।


प्रकाशित : कार्तिक ६, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?