डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता- समाचार - कान्तिपुर समाचार

डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

रासस

काठमाडौँ — डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।

महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । “मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ”, उनले भने, “जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ ।”


वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो । झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो । डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते हुनुभएको छ । उहाँको कोहलपुरमा उपचार भइरहेको छ ।

यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो । ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए । विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो । तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।


यो पनि

मान्छेमाथि एक्स्काभेटर : बकेटको ठक्करले महिला बेहोस, अरु ७ जना घाइते

प्रकाशित : कार्तिक ६, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

सीतारामको फूल संसार

कान्तिपुर संवाददाता

टीकापुर — वरिपरि धान खेत । धान खेतका बीचमा करिब १० कट्ठामा सयपत्री फूल ढकमक्क । त्यही फूलबारीमा रमाएका छन् टीकापुर नगरपालिका १, वनगाउका सीताराम चौधरी । त्यही फूलबारीले उनको दैनिक रोजीरोटी चलेको छ ।

सभा, समारोह, उत्सव या जुनसुकै शुभ कार्यमा फूलको प्रयोग हुन्छ । प्राकृतिक फूलको ठाउमा कृत्रिम फूलको प्रयोगले पनि आवश्यकता पूर्ति गरेको पाइन्छ तर त्यसको सौन्दर्य भने फरक हुन्छ ।

सीतारामले भने, ‘तिहारमा दिदी–बहिनीले दाजुभाइलाई फूलको मालाको साटो प्लास्टिकजन्य सामग्रीबाट बनेका माला लगाइदिएको देखें । पुष्प खेतीको संभावना देखें र फूल खेती थालें ।’ १० कट्ठाको फूलबाट एक सिजनमा करिब ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको उनले सुनाए । उनले भने, ‘सुरुमा बजारको समस्या हुने हो कि भन्ने लागेको थियो । बजारमा समस्या भएन । स्थानीय बजारमै फूलको खपत भइरहेको छ ।’ उत्पादित फूल दाङसम्म पठाउने गरेको सीतारामले बताए । उनले भने, ‘यहाँ कसैले फूल खेती गरेका थिएनन् । चुनौती निकै थियो । अहिले राम्रै भएको छ ।’ एउटा बोटमा ३ देखि ५ वटासम्म माला बनाउने फूल फूलेको सीतारामले बताए । उनले भने, ‘एउटा माला ६० देखि ८० रुपैयाँसम्ममा स्थानीय बजारमा बिक्री भइरहेको छ ।’

उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएका चौधरीले फूल उत्पादक संघ फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) सँग आबद्ध भएर काम गरिरहेको बताए । टीकापुर नगरपालिका १, वनगाउँका सीतारामले पनि आफ्नो घर आँगन ढकमक्क फूलले सिँगार्दै आएका हुन् ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले संघको कार्यक्रमका लागि भारतबाट फूल ल्याउने गरिएकोमा अब त्यो बाध्यता रोकिएको बताए ।

प्रकाशित : कार्तिक ६, २०७६ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×