६ लेन सडकको निर्माण सुस्त

‘सुविधायुक्त सडक बनेपछि सहरको काँचुली फेर्ने भएकाले बिनाक्षतिपूर्ति नगरवासीले आफ्नो घरसमेत भत्काएर सहयोग पुर्‍याए, तर निर्माण भने कछुवा गतिमा भयो’
मोहन बुढाऐर

(धनगढी) — सुदूरपश्चिमको प्रमुख सहर धनगढीदेखि अत्तरियासम्मको ६ लेन सडक निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीयले सास्ती भोग्नुपरेको छ । 

६ लेन सडकको निर्माण सुस्त

सडक निर्माण पूर्वनिर्धारित समयभित्र पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सडकको दुवैतर्फ घर, पसल भएका परिवारले २ वर्षदेखि धूलो खानुपरेको बोराडाडीका पदम विष्टले बताए । त्रिनगरदेखि गेटा राजपुरसम्मको व्यवसायमा पनि असर परिरहेको व्यवसायीको भनाइ छ ।


‘६ लेन सडक निर्माणले सहरको काँचुली फेर्ने भएकाले बिनाक्षतिपूर्ति नगरवासीले आफ्नो घरसमेत भत्काएर सहयोग पुर्‍याए,’ विष्टले भने, ‘तर निर्माणको गति भने कछुवा गतिमा अघि बढेको छ ।’ उनले यही गतिमा ६ लेन निर्माणको काम भए अगामी ५ वर्षमा पनि पूरा नहुने बताए । त्यतिबेलासम्म ६ लेनसँग जोडिएका व्यापार व्यवसाय चौपट हुने र स्थानीयले धूलो खानुपर्ने बाध्यता देखिएको स्थानीय हर्कसिंह बोहरा बताउँछन् ।


समयमै निर्माण सक्न सरकारी र ठेकेदार पक्षले ६ लेन सडक निर्माणलाई तीव्र बनाउनुपर्ने बोहोराले बताए । ६ लेन सडक आयोजनाका प्रमुख इन्जिनियर होमबहादुर केसीले निर्माण तीव्र बनाउन कार्यान्वयन एकाइका तर्फबाट ठेकेदारलाई दबाब दिइरहेको बताए । उनले अगामी डेढ वर्षभित्र ६ लेन सडक निर्माण पूरा भइसक्ने दाबीसमेत गरे ।


म्याद थप प्रक्रियामा

गत जेठमा ६ लेन सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सकिएको हो । आयोजना प्रमुख केसीले निर्माण कम्पनीले २०७७ जेठसम्मका लागि म्याद थपका लागि अनरोध गरेको बताए । ‘उनीहरूले मागेको थप म्यादभित्र निर्माण पूरा गरी सक्ने आधार (ग्यारेन्टी) हेरेर म्याद थपको सिफारिस गरिनेछ,’ केसीले भने, ‘सचिव स्तरबाट म्याद थप हुने र आयोजनाले सिफारिस मात्रै गर्ने हो ।’


अहिले निर्माण कम्पनीले थप मागेको समयावधिभित्र निर्माण पूरा गर्ने आधारहरू र तयारीसमेत गरेको केसी बताउँछन् । उनका अनुसार हालसम्म ८३ करोड रुपैयाँ खर्च भएर ५५ प्रतिशत प्रगति भएको छ ।


उनले २०७३ जेठमा ६ लेन सडक निर्माणको ठेक्का सम्झौता ३ ठेकेदार कम्पनीसंँग भएको थियो । शर्मा/अमर नार्गजुन जेभीसंँग त्रिनगरदेखि बोराडाडीसम्मको खण्ड र त्यहाँदेखि अत्तरियासम्म लुम्बिनी/राजेन्द्र डाँफे र लामा/राजेन्द्र डाँफे जेभीसँग ठेक्का सम्झौता भएको हो । तीनै ठेक्का सम्झौता कुल १ अर्ब ६८ करोडभन्दा बढी रकममा भएको छ । ६ लेन सडकको ३ हजार ३ सय ८७ मिटर ४ लेनको र १० हजार ८ सय १० मिटर ६ लेनको निर्माण हुने गरी ठेक्का भएको छ । इन्जिनियर केसीले २०७३ जेठमा ६ लेन सडक निर्माणको ठेक्का सम्झौता ३ ठेकारदार कम्पनीसंँग भएको बताए । शर्मा अमर नार्गजुन जेभीसंँग त्रिनगरदेखि बोराडाँडीसम्मको खण्ड, त्यहाँदेखी अत्तरियासम्म लुम्बिनी राजेन्द्र डाँफे र लामा राजेन्द्र डाँफे जेभीसँग ठेक्का सम्झौता भएको हो ।


ठेक्का सम्झौता भएको १ वर्षसम्म ६ लेन सडकभित्र रहेका भौतिक संरचना हटाउन नसक्दा निर्माण ढिलो सुरु भएको ठेकेदार कम्पनीले बताएका छन् । केहि व्यक्तिले सर्वोच्चमा मुद्दा दर्ता गर्दा पनि निर्माणमा ढिलो भएको थियो । ‘भौतिक संरचना, बिजुली र खानेपानीका पाईप र पोल हटाउन भएको ढिलाईले निर्माणको काम १ वर्ष विलम्ब भएको हो,’ ठेकेदार कम्पनी राजेन्द्र निर्माण सेवाका लक्षण साउँदले भने, ‘अहिले कामले गति लिएको छ । कुनै अवरोध नभए अगामी २०७७ जेठभित्र निर्माण पूरा हुनेछ ।’


उक्त ६ लेन सडकमा पर्ने मोहना, सुनहरा र मनहरा नदीमा बन्ने मोटरेबल पुलको भने अहिलेसम्म डिजाइनसम्म तयार हुन सकेको छैन । ‘डिजाइन तयार हुने क्रममा छ,’ उनले भने, ‘डिजाइन स्वीकृत भएपछि मात्रै पुलको ठेक्का आह्वान हुनेछ ।’


प्रकाशित : कार्तिक ६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?