१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हुन नसकेको त्यो वार्ता

हिमेश

काठमाडौँ — यो त्यस समयको घटना हो, जति बेला राजा ज्ञानेन्द्र शाह कसैको कुरा सुनिरहेका थिएनन्, एक्लै अगाडि बढिरहेका थिए । देशमा सशस्त्र द्वन्द्व भने उत्कर्षमा थियो । ज्ञानेन्द्र न तत्कालीन विद्रोही माओवादीसँग प्रत्यक्ष वार्ता गर्न मानिरहेका थिए, न त उनीहरूले दिएको विकल्पमा मञ्जुर थिए । राजासँग नजिकका केही भने माओवादीसँग संवाद हुनुपर्छ भनिरहेका थिए र उनीहरूले यसका लागि जिम्मेवारी सुम्पेका थिए, पद्मरत्न तुलाधरलाई । 

हुन नसकेको त्यो वार्ता

वामपन्थी राजनीतिज्ञ तथा अधिकारकर्मी तुलाधरको गत वर्ष कात्तिक १८ मा निधन भयो । २०४६ को आन्दोलनमा कांग्रेस र वाममोर्चाको संयुक्त आन्दोलनका लागि भूमिका खेलेका उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि उत्तिकै सक्रियता देखाएका थिए । अबको शनिबार यिनै तुलाधरको नेपाल भाषामा जीवनी निस्कँदै छ र त्यो उनकै नाममा छ, ‘पद्मरत्न तुलाधर’ ।


निधनअघि उनी आफ्नो जीवनी किताबमा उतार्ने क्रममा थिए । यसका लागि पत्रकार सुरेशकिरण मानन्धरको निरन्तर सम्पर्कमा थिए । पत्रकार मानन्धरका अनुसार तुलाधरको किताबमा त्यस्ता धेरै घटनाक्रमका विस्तृत विवरण छन्, जुन धेरैलाई थाहा छैन अथवा थाहा भए पनि त्यसबारे ठोस रूपमा केही लेखिएको छैन ।


तुलाधरले त्यस्ता खास घटनाबारे पनि उल्लेख गरेका छन्, जसमा उनी प्रत्यक्ष सहभागी थिए । त्यस्तै एउटा घटनाको विवरण हो, ‘जुइमफुगु वार्ता’ अर्थात् ‘हुन नसकेको वार्ता ।’ २०६० मा नेपालगन्जमा तत्कालीन विद्रोही माओवादीका प्रतिनिधि बाबुराम भट्टराई र सरकारका प्रतिनिधि कमल थापाबीच मात्र कुराकानी भएको थियो, तर त्यसबाट केही निष्कर्ष निस्केन । राजाले पठाएका वार्ताकार र माओवादीबीच हुने गोप्य बैठकबारे मिडियाले अगाडि नै समाचार लेखिसक्थ्यो । त्यसैले गोप्य वार्ता गर्ने तय भएको थियो । मिडियाले थाहा नपाउने गरेर वार्ता गर्ने हो भने विदेश नै जानुपर्छ झनेर स्विट्जरल्यान्डको ‘सिरियस सेत्रेट टक एग्रोथ’ नामको संस्थाले सुझाव दिएको रहेछ । त्यसका लागि सबै प्रकारको व्यवस्था जेनेभामा रहेको ‘सेन्टर फर ह्युमानिटेरियन डायलग’ नामक संस्थाले गर्ने भयो ।


यो प्रस्तावमा राजा ज्ञानेन्द्र पनि तयार भए, माओवादीका तर्फबाट पनि स्वीकृति आयो । लामो तयारीपछि राजाको पक्षबाट स्विट्जरल्यान्ड जानेमा दुई जनाको नाम तय भयो, कमल थापा र शरदचन्द्र शाह । माओवादी पक्षबाट नाम आएको थियो, कृष्णबहादुर महरा र सुरेश आलेमगर । सहजकर्ताको भूमिकामा तुलाधर मात्र जाने भए । उनको युरोप यात्राबारे शंका होला भनेर पत्नी नीलशोभा पनि सँगै जाने भइन् । स्विटजरल्यान्ड जाने भनिएको दिन ६ जना मात्र अट्ने चार्टर विमान त्रिभुवन विमानस्थलमा ओर्लियो । विमान उड्नुअघि तुलाधरले हेलिकप्टरबाट काठमाडौंबाहिर गई माओवादी प्रतिनिधि लिएर आउने कार्यक्रम थियो । अत्यन्त गोप्य रूपले वार्ता गर्ने त्यो रोमाञ्चकारी तयारी अन्तिम समयमा नाटकीय रूपमा रोकियो । तुलाधर हेलिकप्टर चढिसकेका थिए । अप्रत्याशित रूपमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको फोन आयो ।


निर्देशन थियो, ‘भ्रमण रद्द गर्नुहोस् । अहिले स्विट्जरल्यान्ड जानु पर्दैन ।’ यो सुनेर तुलाधर उनकै भाषामा ‘विस्मित भए’ । आखिरमा यो वार्ताका लागि सरकारबाट प्रधानमन्त्री र माओवादीबाट पुष्पकमल दाहालको स्वीकृति थियो । स्वयं राजाको समेत स्वीकृति रहेको वार्ता किन रद्द भयो ? त्यो पनि एकाएक ? तुलाधरलाई लाग्यो, केही ठूलै गडबडी भएको हुनुपर्छ । नत्र यति ठूलो निर्णय एकाएक आउने थिएन ।


उनले सोधेछन्, ‘वार्ता किन रद्द भएको हो त ? ’ प्रधानमन्त्रीको उत्तर आयो, ‘यो वार्ताको कुरा एक्सपोज भइसक्यो । यसबारे विदेशीलाई पनि थाहा भइसक्यो । भारतलाई पनि थाहा भइसक्यो ।’


पूरा घटनाक्रमले जटिल स्थिति सिर्जना गर्‍यो । विदेशबाट जहाज आइसकेको थियो, सरकारी वार्ताकार तयार थिए, माओवादी पर्खिरहेका थिए । विदेशमै पनि सबै प्रकारको तयारी भइसकेको थियो । तुलाधर र थापा तुरुन्तै सिंहदरबार पुगे । चन्दसँग वार्ता स्थगित नगर्न अनुरोध गरे तर उनले मानेनन् । यो घटनापछि तुलाधर लामै समय तनावमा रहे । त्यो गोप्य वार्ताको कुरा कसरी बाहिर आयो ? डर थियो, कतै आफ्नै तर्फबाट पो कुरा चुहियो कि ? लामो समयसम्म कुनै मेसो पाउन सकेनन् ।


केही समयपछि उनी फरक काममा काठमाडौंस्थित नर्वेली दूतावासमा पुगे अनि थाहा पाए, वार्ता हुन नसक्नुको कारण । नर्वेली दूतावासले अज्ञानवश गरेको एउटा सोधपुछले पूरा वार्ता रोकिएको रहेछ ।


स्विटजरल्यान्डमा सरकार र माओवादीबीच धेरै दिन धेरै चरणमा वार्ता गर्ने कार्यक्रम थियो । त्यो वार्ता सकिएपछि फेरि अर्को वार्ताका लागि पनि स्थान तय गरिएको थियो र त्यो थियो, नर्वे । नर्वेले यसअघि पनि धेरै अवसरमा यस्ता शान्तिवार्ता आफ्नो देशमा गरिसकेको पृष्ठभूमि थियो ।


नेपालमा प्रतिबन्धित माओवादीका सदस्य विदेश जान लागेको हुनाले त्यसमा सरकारको स्वीकृति छ अथवा छैन भनेर नर्वेली दूतावासले बुझ्न खोजेको रहेछ । यसबारे परराष्ट्र मन्त्रालयलाई थाहा थिएन, त्यसैले सचिवले प्रधानमन्त्रीलाई यसबारे जानकारी दिए । प्रधानमन्त्री चन्दलाई के लागेछ भने गोप्य वार्ताको योजना त ‘एक्सपोज’ भइसकेछ । नर्वेली दूतावासलाई थाहा भएपछि भारतीय दूतावासको जानकारीमा पनि आएको हुनुपर्छ भन्ने ठानेर उनले वार्ता रद्द गर्न भने । तर यथार्थ के थियो भने वार्ताबारे नर्वेली दूतावासलाई केही पनि जानकारी दिएन । उसले एउटा नियमित प्रक्रिया मात्र पूरा गर्न खोजेको थियो । तर यसले निकै गोप्य राखिएर अगाडि बढाइएको वार्ता सुरु हुनु अगावै तुहाइदियो ।


सम्भवत: पूरा घटनाक्रमबारे तत्कालीन राजा ज्ञानेन्द्रसम्म पनि सबै सूचना पुगेको थियो । त्यसैले वार्ता रद्द गर्न उनीबाटै चन्दकहाँ निर्देशन आएको हुन सक्छ । तुलाधरलाई वार्ता रद्द भएपछि के लागेको थियो भने त्यो सम्भव भएको भए र त्यसले सफलता प्राप्त गरेको भए नेपालमा शान्ति बहाली केही चाँडै हुन सक्थ्यो । त्यसपछि धेरै कुरा सजिलै अगाडि बढ्न सक्थे । र, त्यसबाट नेपालको आधुनिक इतिहास नै फेरिन सक्थ्यो । तर वार्ता रद्द भएपछि समयले आफ्नै दिशा लियो, जुन अहिलेको स्थितिमा आइपुगेको छ ।


प्रकाशित : कार्तिक ६, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?