काठमाडौंको डेंगु ‘डेन–२’

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानी काठमाडौंमा यसपटक महामारीकै रूपमा फैलिएको डेंगुलाई कडा मानिने ‘डेन–२’ सेरोटाइप (प्रजाति) को भाइरसले फैलाएको पत्ता लागेको छ । विज्ञहरूका अनुसार डेन प्रजातिको डेंगु लागेको व्यक्तिलाई भविष्यमा अन्य प्रजातिको डेंगु संक्रमण भए अत्यन्त कडा रूप लिने सम्भावना हुन्छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की निर्देशक डा. रुना झाका अनुसार काठमाडौंका डेंगु प्रभावित ३२ जनाको नमुना परीक्षण गर्दा डेन–२ सेरोटाइपको भाइरसले डेंगु फैलाइरहेको पत्ता लागेको हो । एनपीएचएलमा डेंगुको सेरोटाइपबारे परीक्षण जारी रहेको उनले बताइन् । केही महिनाअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरानका करिब ३० वटा नमुना परीक्षण गर्दा समेत डेन–२ पाइएको थियो । विराटनगरमा समेत डेन–२ सेरोटाइपको डेंगु देखिएको डा. झाले बताइन् ।


मुलुकमा डेंगो संक्रमण फैलाउने डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चारै प्रकारका भाइरस देखिएका छन् । यीमध्ये डेन–२ लाई खतरनाक मानिए पनि नेपालमा यसबाट धेरै व्यक्तिको मृत्यु भएको छैन । सन् २००६ मा मुलुकमा चारै प्रकारका डेंगु देखिएको जनाउँदै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘हाल देशभरि डेन–२ प्रजातिको डेंगु बढी देखिएको हो ।’ डा. पाण्डेका अनुसार यस पटक डेन–२ बाट संक्रमित भएकालाई अगामी वर्ष डेन–१, डेन–३ वा डेन–४ बाट संक्रमण भए ‘डेंगो हेमोरेजिक’ वा ‘डेंगो सक सिन्ड्रोम’ हुने सम्भावना बढ्छ । डेंगो हेमोरेजिक र डेंगो सक सिन्ड्रोम भए तुरुन्त अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।


डा. पाण्डेका अनुसार सन् २०१० मा चितवन, धादिङ, तनहुँ, बुटवललगायत ठाउँमा डेन–१ देखिएको थियो । सन् २०१३ मा डेन–१ र डेन–२ देखियो । सन् २०१७ मा बर्दिबास, लालबन्दीलगायतकामा डेन–२ देखिएको थियो । केही महिनाअघि पोखरामा फैलिएको डेंगो डेन–१ र डेन–२ रहे पनि बढी मात्रामा त्यहाँ डेन–२ नै देखिएको विज्ञहरूले बताए ।


मुलुकमा डेंगो फैलाउने एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस गरी दुवै प्रकारका लामखुट्टे पाइएका छन् । दिउँसो टोक्ने यो लामखुट्टेले नै चिकनगुनिया, एल्लो फिभर, जिका संक्रमणसमेत फैलाउँछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार डेंगोका लागि कुनै विशिष्ट उपचार छैन । छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचाहले मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?