उपकुलपति नियुक्तिमा ढिलाइ : सर्च कमिटी नै अनिर्णीत

सदीप कैनी

काठमाडौँ — त्रिविसहित सात विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सर्च कमिटीले त्रिविबाहेक अन्य विश्वविद्यालयका लागि नाम सिफारिस गर्न सकेको छैन । त्रिविका लागि उपकुलपतिमा ३ जनाको नाम दसैंअघि सिफारिस भइसके पनि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका छैनन् । विश्वविद्यालय उपकुलपतिविहीन हुँदा दैनिक कामकाज प्रभावित हुन थालेको गुनासो प्राध्यापक र विद्यार्थीको छ । 

उपकुलपति नियुक्तिमा ढिलाइ : सर्च कमिटी नै अनिर्णीत

त्रिवि उपकुलपतिमा सर्च कमिटीले दसैंअघि डा. भगवान कोइराला, डा. धर्मकान्त बाँस्कोटा र चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओली बाँस्कोटा र शिक्षामन्त्री पोखरेल कोइरालालाई उपकुलपति बनाउन चाहन्छन् । मेडिकल काउन्सिलका पूर्वअध्यक्ष बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै वैदेशिक भ्रमणमा रहेकाले पनि नियुक्तिको निर्णय नभएको हुन सक्ने जानकारहरू बताउँछन् । पूर्वमाओवादी खेमाले भने एक नम्बरमा नाम सिफारिस भएका वरिष्ठ चिकित्सक कोइराला नभए पौडेललाई उपकुलपति बनाउनुपर्ने लबिइङ गर्दै आएको स्रोतले जनायो ।


संस्कृत, पूर्वाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तिहारअघि नै सर्च कमिटीको बैठक डाकेर नाम सिफारिस गरिने शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । कमिटीको बैठक सोमबार बसे पनि निर्णय लिन सकेन । प्रधानमन्त्रीसँग परामर्श गरेर मात्र नाम सिफारिस प्रक्रिया अघि बढाइने एक सदस्यले बताए । पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति सिफारिसका लागि भने सर्च कमिटी नै बन्न सकेको छैन ।


संस्कृत विश्वविद्यालयमा ६ जनाभन्दा बढी प्राध्यापक उपकुलपतिको आकांक्षी देखिएका छन् । यादवप्रकाश लामिछाने, रमेश ढकाल, लेखनाथ शर्मा, काशीनाथ न्यौपाने, भागवत शर्मालगायतले लबिइङ बढाएको शिक्षा मन्त्रालयनिकट स्रोतले जनायो । पूर्वाञ्चल विश्वविद्यालयमा यादवराज कोइराला, सुधा त्रिपाठी र रामकुमार घिमिरे उपकुलपतिका आकांक्षी देखिएको नेकपानिकट एक प्राध्यापकले जनाए । पोखरा विश्वविद्यालयमा देवराज अधिकारी, रमेश भट्टराई, मदन कोइराला, रामनाथ ओझा, विश्वकल्याण पराजुलीलगायतले आकांक्षा देखाएका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जयप्रकाश दत्त, श्यामसुन्दर पन्त, शारदा थपलिया, पुण्यप्रसाद रेग्मी उपकुलपति बन्ने प्रयासमा छन् । सुदूरपश्चिम विश्वविद्यालयमा तारादत्त भट्ट, जयराज अवस्थी र पूर्णबहादुर चन्दको चर्चा छ ।


मध्यपश्चिम विश्वविद्यालयमा जनार्दन लामिछाने, मस्तबहादुर गरम्जा, पुण्यप्रसाद रेग्मी र केशरसिंह राना उपकुलपति बन्न लबिइङमा रहेको स्रोतले जनायो । उनीहरू सत्तारूढ नेकपानिकट प्राध्यापक हुन् । कांग्रेसनिकट प्राध्यापकहरूले उपकुलपति नभए अन्य पदाधिकारीका लागि लबिइङ गरिरहेका छन् । त्रिविबाहेक दुई विश्वविद्यालयका लागि उपकुलपतिको नाम सिफारिस गर्न भदौ ५ गते सर्च कमिटी गठन गरिएको थियो ।

प्रकाशित : कार्तिक ६, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?