कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मान्छेमाथि एक्स्काभेटर : बकेटको ठक्करले महिला बेहोस, अरु ७ जना घाइते

चालकसहित ४ पक्राउ
तृप्ति शाही

(बैतडी) — दशरथ चन्द नगरपालिकाको चिलाउने टोलका बासिन्दा एक्स्काभेटरसहित सडक खन्न तम्सिएपछि अयरखालीका मानिस जम्मा भए । उनीहरूले सडक खन्ने काम रोक्न आग्रह गरे । उपभोक्ता समितिका व्यक्तिहरूले सुनेनन् । समितिको निर्देशनमा चालकले जबर्जस्ती एक्स्काभेटर अघि बढाए । त्यसपछि स्थानीयले प्रतिरोध गरे ।

मान्छेमाथि एक्स्काभेटर : बकेटको ठक्करले महिला बेहोस, अरु ७ जना घाइते

मेसिनले खन्दै गयो, स्थानीयले विरोध गर्दै गए । केहीबेरमा दुवै पक्षबीच ढुंगा हानाहान सुरु भयो । यही क्रममा चालकले एक्स्काभेटरको ‘बकेट’ ले गौरी जोशीलाई हिर्काए । गौरी बल्ड्याङ खाँदै तल झरिन् । त्यहीँ बेहोस भइन् । अरूले उनलाई उद्धार गरे ।


दशरथ चन्द नगरपालिकाको वडा नम्बर ९ ग्वालेकमा सुन्नाखान–चिलाउने–पार्सा सडक खन्ने क्रममा सोमबार गौरी घाइते भएकी हुन् । सडक चिलाउने टोलबाट अगाडि अयरखाली टोलमा काटिँदै थियो । अयरखालीका बासिन्दा त्यहाँबाट सडक लैजान नहुने अडानमा थिए । सडक जबर्जस्ती खन्न खोज्दा विरोधमा उत्रिएकी गौरीलाई एक्स्काभेटरले हिर्काएपछि दुवै पक्षबीच झडप भएको थियो । त्यस क्रममा सात जना घाइते भएको स्थानीयले बताए । गाउँलेले गौरीलाई बेहोस अवस्थामै जिल्ला अस्पतालमा पुर्‍याएका थिए । त्यहाँबाट धनगढी रेफर गरियो । धनगढीबाट पनि उनलाई कोहलपुर पठाइएको छ । ‘धनगढीमा असजिलो हुने देखिएपछि कोहलपुर ल्याएका हौं,’ गौरीका पति जगदीशले कान्तिपुरसँग टेलिफोनमा भने । उनले उपचार गर्ने पैसा नभएर आफू तनावमा रहेको समेत सुनाए । घटना भएका बेला उनी डडेलधुरामा थिए । जगदीशले चालकलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा कारबाही गरिनुपर्ने बताए ।


गौरीबाहेक अरूको भने अवस्था सामान्य छ । उनीहरू जिल्ला अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् । गौरीको भने बाहिरी चोटपटक नदेखिए पनि भित्री चोटपटकले अशक्त पारेको चिकित्सकको भनाइ छ । सडकमा प्रयोग भएको एक्स्काभेटर भवानीदत्त जोशीका नाममा छ । उनी नेकपाका स्थानीय कार्यकर्ता हुन् । सोमबार एक्स्काभेटर किशोर बोहराले चलाएका थिए ।


स्थानीय केशव जोशीले सम्बन्धित निकायमा निवेदन दिए पनि समस्या सुल्झाउन बेलैमा पहल नगरिँदा घटना भएको बताए । ‘विवाद समाधान नगरी जबर्जस्ती काम गर्न खोज्दा घटना भयो,’ उनले भने ।


जसरी पनि सडक खन्ने र कुनै हालतमा नदिने अडान दुई पक्षबीच पहिल्यैदेखि विवाद थियो । अयरखालीका बासिन्दाले वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका थिए । आफ्नो देवताको गुठीको जमिनमा सडक बनाउँदा क्षति हुने उनीहरूको जिकिर थियो । स्थानीय हंसराज जोशीले सडक खनेकै ठाउँबाट ५० मिटर तल ग्वालेक केदार मन्दिर रहेको छ । सडक निर्माण गर्न लागिएको ठाउँको जग्गा गुठीको रहेको उनले बताए । ‘हामी त्यहाँको जग्गामा खेती गरेर देउतालाई चढाउने गर्छौं,’ उनले भने, ‘हामीले सहमति गरौं भन्दा जबर्जस्ती गरियो ।’ उपभोक्ता समितिका अध्यक्ष केशवदत्त जोशीले सडक खन्न नदिने पक्षले डोजरमा एक्कासि ढुंगामुढा गरेकाले घटना भएको दाबी गरे । वडा, नगरपालिका र प्रशासनले पनि विवाद सुल्झाउन पहिल्यैबाट पहल गरेको जनाए । आफूले नगरपालिका कार्यालयमै दुवै पक्षलाई बसाली मिलेर काम गर्न भनेको नगर प्रमुख नरेन्द्रसिंह थापाले बताए । उनले भने, ‘मैले सबैसँग छलफल गरेको थिएँ । उपप्रमुखसहित सम्बन्धित ठाउँमा पनि पुगेर मिलेर काम गर्न आग्रह गरेका थियौं ।’ उनले अब सबै पक्षसँगको छलफल तथा समझदारीपछि मात्र काम अगाडि बढ्ने बताए । घाइतेको उपचार खर्च नगरपालिकाले बेहोर्ने पनि उनले जानकारी दिए ।


नगरपालिकाले उक्त सडक निर्माणका लागि ४ लाख रुपैयाँ छुट्याएको छ । थप रकम कामअनुसार दिने निर्णय पनि नगरपालिकाले गरेको छ । उक्त सडकमा प्रदेश सांसद लीलाधर भट्टले पनि बजेट हाल्ने आश्वासन दिएको स्थानीय बताउँछन् । सांसद भट्टका सहयोगी रहेका नेकपाका स्थानीय नेता पुष्करराज जोशीलगायतले उक्त सडक निर्माणमा बढी चासो दिँदै आएका थिए । सोमबार चलाइएको एक्स्काभेटरमा सांसद भट्टको समेत लगानी रहेको स्थानीयको दाबी छ । नेता जोशीले ६/७ महिनादेखि सडक निर्माण रोकिएकाले स्थानीय सोमबार डोजर चलाउने निर्णयमा पुगेको बताए । उनले सञ्चारमाध्यममा आएको भिडियो भन्दा घटनाको वास्तविकता अर्कै भएको दाबी गरे । सांसद भट्टले सडक निर्माणमा आफूले कुनै आश्वासन नदिएको र एक्स्काभेटरमा लगानी रहेको हल्ला निराधार रहेको बताए । ‘घटनामा मानवीय व्यवहार भएको देखिएन । सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिनुपर्छ,’ उनले भने ।वडाबाट उपभोक्ता समिति गठन गरेर सडक खन्न थालिएको हो । सुन्नाखान–पार्सा २४ सय मिटर कच्ची सडकको काम २ वर्षअघि सुरु भएको हो । नगरपालिकाका सबइन्जिनियर गोपाल चन्दले भने, ‘हामीले सर्वेक्षण गरेपछि काम थालिएको हो । अयरखालीमा पुग्दा विवाद भएर घटना भयो । हामीले सर्वेक्षण गर्ने हो, कसको जमिन कहाँ पर्छ भन्ने त उपभोक्ता समितिले मिलाउने कुरा हो ।’


चालकसहित ४ जना पक्राउ

एक्स्काभेटर चालक दशरथ चन्द नगरपालिका–२ का किशोर बोहरालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले चालकसँगै अन्य ३ जनालाई पनि नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । ‘दुवै पक्ष र अन्य स्थानीयसँग घटनाबारे सोधपुछ सुरु गरेका छौं,’ पाण्डेयले भने, ‘महिलालाई बकेटले हिर्काउने चालकलाई कानुनबमोजिम

कारबाही गर्छौं ।


हात जोड्दा पनि मानेनन्

– हरिदत्त जोशी, स्थानीय

बिहान ९/१० बजेतिर हामी स्थानीय विद्यालयमा भेला भएर सडक बनाउनेबारे नै छलफल गर्दै थियौं । हामीसँगै एक्स्काभेटर धनी भवानीदत्त जोशी पनि थिए । हामी जग्गाधनीहरूबीच तल्लो गरा वा माथिल्लो गरा कहाँबाट सडक लैजान दिने भन्नेमा बहस भइरहेको थियो ।


अघिल्लो दिनदेखि एक्स्काभेटर धनी भवानीदत्त र उपभोक्ता समिति अध्यक्ष केशवदत्त जोशी दुवै जनाले विवाद भएकाले मेसिन प्रयोग नगर्ने भन्दै थिए । अध्यक्ष केशवदत्त ‘बरु प्रशासन बोलाएर समाधान खोज्ने’ अडानमा थिए । समितिका सचिव शिवराज जोशीले पनि जग्गाधनी पक्षले मागेको ४ दिनको समयपछि मात्र काम सुरु गर्ने भन्दै आएका थिए । स्थानीय भोजराज जोशी, धर्मानन्द, टेकराज, हरिदत्तलगायतले भवानीदत्तलाई ‘एक्स्काभेटरको डेढ करोड हामी तिर्छौं, चाबी हामीलाई दिनू’ भन्दै जबर्जस्ती गर्दै थिए ।


स्कुल र सडक खनिएको ठाउँ २० मिनेट पैदल दूरीमा छ । हामीले स्कुलबाटै एक्स्काभेटर चलाउन थालेको देख्यौं । हामीमध्ये एक जना र एक्स्काभेटर धनी त्यहाँ पुगेर ‘आज काम नगरौं’ भनेर आग्रह गर्न थाल्यौं । केही व्यक्ति ‘रगतको होली खेलेर भए पनि सडक काट्ने’ भन्दै उफ्रिए । चालकलाई दबाब दिए । हाम्रो पक्षका सबै जग्गाधनी र महिलाहरू मिलेर ‘बाटो नकाट्न’ आग्रह गर्‍यौं । अगाडि उभिएर हात जोड्दासमेत सुनिदिएनन् । विरोध गरिरहेकै बेला सिधै एक्स्काभेटर चलाउन सुरु गरियो । बकेटले अगाडि पुगेका एक महिलालाई माथि र अर्कालाई तल फाल्यो । तल फालिएकी गौरी जोशी बेहोस भइन् । एक दुई जना घाइतेलाई उठाउनतर्फ लागे । अरूले ढुंगा हान्न थाले । विरोध गर्ने ८ जना थियौं । उनीहरू २०/२५ जना थिए । ढुंगाले एक्स्काभेटरको सिसा फुटेपछि चालक किशोर बोहरा रोकेर भागे ।


दुवै पक्षका बीच हात हालाहाल र कुटपिट सुरु भयो । विरोध मात्रै भइरहेको घटनास्थल एकाएक झगडास्थल बन्यो ।


(खगेन्द्र अवस्थीसँगको कुराकानीमा आधारित)


प्रकाशित : कार्तिक ६, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?