२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘एक ठाउँको गरिबी सबै ठाउँको सुरक्षाको चुनौती’

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले कुनै एक ठाउँको गरिबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती भएको बताएका छन् ।

‘एक ठाउँको गरिबी सबै ठाउँको सुरक्षाको चुनौती’

चीनको राजधानी बेइजिङमा आयोजित नवौ सियनसान फोरममा मंगलबार सम्बोधन गर्दै पोखरेलले ती चुनौतीहरुको सामना गर्न विकसित मुलुकहरूले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्न आवश्यक रहेको कुरा उल्लेख गरे ।


रक्षा मन्त्रालयका अनुसार पोखरेलले ‘संयुक्त सुरक्षा र मझौला तथा साना मुलुकहरूको चासो’ विषयमा नेपालको तर्फबाट आफ्नो भनाइ राखेका थिए । मन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिको आधारमा नीति सञ्चालन गर्दै आएको बताए ।


उनले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रहरुले जलवायु परिवर्तका कारण विभिन्न चुनौतीहरू सामना गर्नुपरेको बताए । उनले भने,‘पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकहरुले आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने हुन्छ ।’


उनले नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याहरुको बारेमा विकसित र औद्योगिक मुलुकहरुको ध्यानाकर्षण गराए । ‘जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेको छ । त्यसलाई सहभागिताका लागि सबैलाई आमन्त्रण गर्दछु,’ पोखरेलले भने ।


कार्यक्रममा विश्वका ६८ देशका ६ सय भन्दा बढी प्रतिनिधिहरुले भाग लिएको यो फोरमको उद्घाटन सत्रमा चीनका राष्ट्रपति सी चिनफिङले चीन विश्व शान्ति, स्थायित्व र मावनजातिको संयुक्त समृद्धिको पक्षमा रहेको बताएका थिए ।


सन् २००६ देखि आयोजना हुन थालेको यो फोरममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा सरोकाका समसामयिक विषयहरूमा यस क्षेत्रका नीति निर्माता र सहभागीहरुबीच बृहत छलफल हुँदै आइरहेको छ ।

प्रकाशित : कार्तिक ५, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?