कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हतियार भिरेर मदिरा तस्करी

अवधेशकुमार झा

राजविराज — सोमबार राति सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरमा चेकिङका बेला नम्बर नभएको एउटा मोटरसाइकल चेक प्वाइन्ट भन्दा ५० मिटर परै रोकियो । चेकिङमा खटिएका प्रहरीहरु मोटरसाइकलसम्म पुग्दा सवार व्यक्ति भागिसकेका थिए ।

प्रहरीले उक्त मोटरसाइकलमा रहेको बोरा जाँच गर्दा २८ बोतल कस्तुरी नामक मदिरा र सोको बीचमा गोली लोड भएको एक थान सिक्सर फेला पार्यो ।


‘मदिराका बोतल रहेको बोरामा लोडेड सिक्सर फेला पर्यो,’ सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीले भने । तस्करी गरी भारततर्फ लैजाँदै गरेको मदिरामा सिक्सर फेला पर्नुले तस्करहरु हतियार लिएरै कारोबार गर्न थालेको प्रष्ट भएको छ । ‘कि त भारततर्फका अपराधी मदिरा खान र लग्न हतियार लिएर नेपाली भूमि आएर फर्किँदै गरेको हुन सक्छ वा तस्करीकै प्रयोजनका लागि हतियारसहित आएको हुनसक्छ,’ निरीक्षक बुढाथोकीले भने ।


सोमबार रातिको यो घटना उदाहरण मात्र हो । सप्तरीबाट पछिल्लो समय तस्करी बढेको छ । सिमावर्ती विहारमा मदिरामा प्रतिबन्ध लागेपछि अहिले सप्तरीबाट मदिरा तस्करी अत्यधिक हुन थालेको छ भने अन्य वस्तुको तस्करी पनि विभिन्न नाकाहरुबाट हुन थालेको छ । विभिन्न समयमा प्रहरीले तस्करीका केही सामानहरु पक्राउ गरेपनि संलग्नहरु पक्राउ गर्न सकेको छैन । प्रहरीले मोटरसाइकल, साइकल, टेम्पो लगायतका साधनबाट सामानहरु बरामद गर्ने गरेको बताए पनि तस्कर भने पक्राउ पर्देनन् ।


सप्तरी ३ ‘स’ र ३ ‘म’ को तस्करी हुनेमा चर्चित छ । यहाँबाट सुन, सुपारी र स्याउ तथा मटर, मरिच र मदिराको तस्करी हुने गरेको छ । भारतीय क्षेत्रबाट कपडा, खाद्यान्न, राँगा, इलेक्ट्रिक सामान तस्करी हुने गरेको गुनासो व्याप्त छ ।


सदरमुकाम राजविराजमा पछिल्लो समय मदिराका थोक बिक्रेता थपिदै गएका छन् । यस्तै सिमावर्ती नेपाली चोक र बजारमा मदिराका थोक बिक्रेताको पसलले गुल्जार बन्दै गएको छ । हनुमाननगर, कुनौली, कोसी ब्यारेज, छिन्नमस्ता, पातो र रामनगर लगायतका क्षेत्रबाट जिल्लामा तस्करी बढेको हो । हनुमाननगर क्षेत्रबाट दैनिक रुपमा मदिरा र मटरको तस्करी बढेको स्थानीय बताउँछन् ।


हनुमाननगरबाट कोसीको गोवरगाढा टापु हुँदै डुंगाबाट मदिरा, मटर र गाँजा तस्करी हुने गरेको छ । प्रहरीले विभिन्न समयमा गोबरगाढा क्षेत्रबाट मदिरा नियन्त्रणमा पनि लिने गरेको छ । तर तस्करीमा रहेका व्यक्ति भने पक्राउ पर्दैनन् । ‘तस्करीमा संलग्नहरु प्रहरी देख्ने बितिकै भाग्ने गरेका छन्,’ जिल्ला प्रहरीका डीएसपी तिलक भारतीले भने, ‘तस्करी नियन्त्रणलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं,’ प्रहरीले नियन्त्रण गरिरहेको दाबी गरेपनि पछिल्लो समय तस्करी भने ह्वातै बढेको सीमाक्षेत्रका बासिन्दाहरु बताउँछन् ।

प्रकाशित : कार्तिक ५, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?