२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्राथमिक तहमा विद्यार्थी घट्दै

विद्यार्थी नभएरै अधिकांश प्रावि बन्द हुने अवस्थामा छन् । कति त मर्ज भइसके । सामुदायिकमा प्रविधिमैत्री पठनपाठन, बहुभाषा शिक्षण र शिक्षक नहुँदा अभिभावक आफ्ना बालबच्चालाई संस्थागत विद्यालयमा भर्ना गरिरहेका छन् ।
विप्लव महर्जन

(सल्यान) — शारदा नगरपालिका–५, तल्नोमार्केस्थित जनकल्याण प्राविमा तीन शिक्षक र एक बालविकास सहयोगी छन् । विद्यार्थी संख्या भने ११ मात्र छ । कालीमाटी गाउँपालिका–१, हिङबरेस्थित प्राविको हालत पनि उस्तै छ । ३ कक्षासम्म सञ्चालित विद्यालयमा जम्मा पाँच विद्यार्थी छन् । 

प्राथमिक तहमा विद्यार्थी घट्दै

सरकारले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा ध्यान नदिँदा विद्यार्थी संख्या बर्सेनि घटिरहेको छ । प्रायजसो अभिभावकले बालबालिकालाई आधारभूत तह निजी विद्यालयमै पढाउँछन् ।


माध्यमिक तहमा पुगेपछि भने केहीले सामुदायिकमै ल्याउँछन् । प्रविधिमैत्री पठनपाठन, बहुभाषा शिक्षण र शिक्षक नहुनु, परम्परागत शैलीको पढाइजस्ता कारणले प्राथमिक तहमा विद्यार्थी घटिरहेको शिक्षासेवी डिल्लीबहादुर भण्डारी बताउँछन् । उनका अनुसार विद्यार्थी नभएरै अधिकांश विद्यालय बन्द हुने अवस्थामा छन् ।


बागचौर नगरपालिका–२, चिल्ढालेको भानुभक्त आधारभूत विद्यालयमा बालशिक्षाका सहित १८ विद्यार्थी छन् । एक शिक्षक र बालविकास सहयोगीको दरबन्दी रहेको विद्यालयमा विद्यार्थी घटेको भन्दै नगरपालिकाले शिक्षक सरुवा गरेको छ । विद्यालयलाई शिशु कक्षामा सीमित गर्ने नगरपालिकाको योजना छ ।


स्थानीय सरकारले सामुदायिक विद्यालयको विकास र निगरानी गर्न नसकेको शिक्षासेवी भण्डारीको आरोप छ । जिल्लाका ५ सय ४ सामुदायिक विद्यालयमध्ये ७१ माध्यमिक, ८७ आधारभूत र २ सय ८७ प्राथमिक तहका छन् । जिल्लाभर संस्थागत विद्यालयको संख्या ४९ छ । सामुदायिकमा विद्यार्थी संख्या घट्दै गए पनि संस्थागत विद्यालय मौलाउँदै गएको उनले बताए ।


जिल्लामा सामुदायिकका प्राथमिक तहमा ०७४ मा ३९ हजार ७ सय ८७ विद्यार्थी थिए । ०७५ मा घटेर ३२ हजार ९ सय १२ र चालु शैक्षिक सत्रमा ३० हजार ५ सय ९३ पुगेको छ । विद्यार्थी घटेका कारण यहाँका एक दर्जन विद्यालय मर्ज गरिएका छन् । तीन दर्जन विद्यालयको तह घटाइएको छ । करिब दर्जन विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।


सदरमुकामस्थित शारदा नगरपालिकामा ०७४ मा ३ हजार ९ सय ५ र २०७५ मा ३ हजार ७ सय १५ विद्यार्थी प्राविमा अध्ययनरत थिए । यस वर्ष ३ हजार ५ सय ४१ विद्यार्थी रहेको नगरले जनाएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी शारदा नगरपालिकामा ५ हजार २ सय ५ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा १ हजार ५ सय ५२ विद्यार्थी प्रावि तहमा छन् ।


सामुदायिकमा राजनीतिक चलखेल बढी हुँदा अहिलेसम्म दरबन्दी वितरण र समायोजन हुन सकेको छैन । शिक्षक राजनीति र अन्य काममा व्यस्त हुँदा पनि सामुदायिक विद्यालयको स्तर उक्सिन नसकेको स्थानीय अगुवा पूर्ण केसीको बुझाइ छ ।


शारदा नगरपालिका–१०, मधनास्थित कालिका प्राविका प्रधानाध्यापक दीपक थापा विद्यार्थी नहुँदा बन्द भएको विद्यालय नगरपालिकाको सहयोगपछि पुनः सञ्चालनमा ल्याइएको बताउँछन् । कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयमा २८ जना मात्र विद्यार्थी छन् ।


स्थानीय तहले अस्थायी शिक्षक भर्ना गरे पनि अन्य व्यवस्थापनमा ध्यान नदिँदा आधारभूत तहको पढाइ कमजोर बन्दै गएको कालीमाटी गाउँपालिकाको काल्चेडाँडास्थित नेपाल राष्ट्रिय प्राविकी प्रधानाध्यापक लीला थापाले बताइन् । उनले शैक्षिक सामग्री र शिक्षक अभावमा प्राथमिक तहको पठनपाठन गुणस्तरीय बन्न नसकेको जनाइन् । ७ वर्षअघि करिब एक सय विद्यार्थी रहेको उनको विद्यालयमा यस वर्ष ४५ जना मात्र छन् । ‘शिक्षक म एक्लै छु, बालबालिकालाई खेलाउने र पढाउने शैक्षिक सामग्री छैनन्,’ उनले भनिन्, ‘सबै कक्षामा नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ ।’


त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर रानाले आर्थिक अवस्था राम्रो भएका अभिभावकले बालबालिकालाई निजीमा पढाउने गरेका कारण सामुदायिक विद्यालय सुधार्न मुस्किल परिरहेको बताए । ‘अधिकांश विद्यालयमा विद्यार्थी संख्या कम छ, जसकारण सरकारी अनुदान घट्दा शैक्षिक विकासमा पनि असर परिरहेको हो,’ उनले भने, ‘विद्यार्थी संख्याका आधारमा अनुदान वितरण गरिरहेका छौं, केही विद्यालयमा गुणस्तर बढिरहेको छ ।’


शिक्षामा गरिएको लगानीका आधारमा तीन–चार वर्षपछि मात्र प्रभाव देखिने दार्मा गाउँपालिकाका शिक्षा शाखाप्रमुख रोम पाण्डे बताउँछन् । उनका अनुसार गाउँपालिकाले शिक्षा क्षेत्रमा योजना बनाई लगानी गरिरहेको छ । कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले गुणस्तर बढाउन पूर्वाधार निर्माण, स्थानीय पाठ्यक्रम, डिजिटल हाजिरी, शैक्षिक सामग्रीमा लगानी बढाइएको बताए । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लालबहादुर घर्तीले संघीयताले शिक्षामा ठूलो असर पारिरहेको बताए । ‘यसअघि एकीकृत रूपमा जिल्लाभरि शैक्षिक विकासमा रकम विनियोजन हुन्थ्यो,’ उनले भने, ‘तर स्थानीय सरकारमार्फत आवश्यकताभन्दा पहुँचका आधारमा बजेट विनियोजन हुँदा दुरुपयोग बढिरहेको छ ।’


एकाइका अनुसार जिल्लामा दरबन्दी अभावको समस्या कायमै छ । प्राथमिक तहमा १ हजार २ सय २० शिक्षक कार्यरत रहेको एकाइले जनाएको छ । त्यसमध्ये ५ सय ६२ स्थायी, ३ सय ५६ राहत र ३ सय २ अस्थायी शिक्षक छन् ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?