कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाल–भारतका कोच युवा सम्मेलन : ‘समुदायको विकासमा रणनीतिक योजना आवश्यक’

कान्तिपुर संवाददाता

(बिर्तामोड) — नेपाल र भारतमा बसोबास गर्ने कोच समुदायको विकासका लागि रणनीतिक योजना आवश्यक रहेको दुवै देशका युवाहरूले निष्कर्ष निकालेका छन् । झापाको बिर्तामोडमा कात्तिक २–३ गते भएको ‘अन्तर्राष्ट्रिय कोच सांस्कृतिक युवा सम्मेलन’ का सहभागीले कुनै एउटा विषयको विकासले मात्र समग्र समुदायको उत्थान नहुने ठहर गरेका छन् । 

उनीहरूले दुवै देशमा कोच समुदायको समस्या समान भएकाले समुदायको विकास र उत्थानका लागि मिलेर अघि बढ्नुको विकल्प नरहेको समेत निष्कर्ष निकालेका छन् । आआफ्नो राज्य प्रशासनमा कोच समुदायको सांस्कृतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायत समस्याबारे अवगत गराउनु अहिलेको आवश्यकता भएको सम्मेलनको ठहर छ ।


पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाई, माझी, सन्थाललगायत जातजाति कोच समुदायअन्तर्गत पर्दछन् । यो समुदायको बसोबास झापा, मोरङ र सुनसरीमा ठूलो संख्यामा छ । भारतको पश्चिम बंगाल, बिहार, असामलगायतका राज्यमा कोच समुदायको बसोबास रहेको पाइन्छ । सम्मेलनमा मेची क्याम्पस भद्रपुरकी प्राध्यापक निता राजवंशीले कोच समुदायको अवस्थाबारे धारणा राखेकी थिइन् । कोच नायिका विनोता बर्मनले युवा एकता नै विकासको पहिलो खुट्किलो भएको बताइन् ।


कोच राजवंशी गाभुर संघ उत्तर दिनाजपुर पश्चिम बंगालका महासचिव मोहनलाल सिंहले कोच समुदाय राज्यको बेवास्तामा परेको गुनासो गरे । ‘एउटा इतिहास बोकेको समुदायको संरक्षण गर्ने जिम्मेवारी राज्यको हो । तर, दुवै देशले त्यसो गरेनन’ उनले भने, ‘यहाँबाट पाठ सिकेर हामीले आफ्नो समुदायका लागि केही गर्नुको विकल्प छैन ।’


‘कोच समुदाय सबै हिसाबले राज्य संयन्त्रबाट टाढिएको अवस्थामा छ । आफ्नै भाषा, कला, साहित्य, संस्कृतिले पूर्ण यो समुदायको विकास र जगेर्ना गर्नु राज्यको पनि दायित्व हो । त्यसैले राज्यको ध्यानाकर्षणका लागि नेपाल–भारतका कोच युवाहरू एकठ्ठा भएका हौं,’ कोचिला गाभुर फ्रन्ट नेपालका अध्यक्ष अभय राजवंशीले भने । राष्ट्र अलग भए पनि रहनसहन, संस्कार संस्कृति र सामाजिक समस्याहरू दुवै देशका कोच समुदायको एकै भएको उनले बताए । उनले विगतमा समुदायका अगुवाहरूले गर्न छुटाएको पहल र नेतृत्व भावी दिनमा संयुक्त रूपमा गर्नका लागि कोच युवा सम्मेलन लाभदायी भएको दाबी गरे ।


सम्मेलन कोचिला गाभुर फ्रन्ट नेपालले आयोजना गरेको थियो । सम्मेलनमा नर्थ बंगाल इथ्निक कल्चरल वेलफेयर, कोच राजवंशी गाभुर संघ उत्तर दिनाजपुर पश्चिम बंगाल, इबोङ आमार एन्जेओ भारत, राजवंशी विकास समिति बिहार, सिलिउड सिने क्रिएसन भारत, अनुरोध फाउन्डेसन मोरङ र कोचिला गाभुर फ्रन्टका झापा र मोरङका विभिन्न गाउँ/नगर समितिका गरी १५ वटा संस्थाका २ सय ५० बढी युवाको सहभागिता थियो ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?