वार्ताका लागि चन्द समूहका दुई सर्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ । 

वार्ताका लागि चन्द समूहका दुई सर्त

चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर बैठकले सरकारले अघि सारेको वार्ताको कुरा पत्यार गर्न लायक नभएको निष्कर्ष निकालेको छ ।


‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भन्डाफोर गर्ने तर इमानदारीसाथ प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ,’ चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


बैठकले नेपाली राजनीति, एकीकृत जनक्रान्ति, संयुक्त मोर्चा, ध्रुवीकरण, पार्टी शुद्धीकरण, आर्थिक अभियान, पार्टी पुनर्गठन दिवसलगायत प्रस्तावहरूमा छलफल गरेको थियो ।


बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो क्षेत्रगत प्रतिवेदन पेस गरेका थिए । उनीहरूले सरकारको प्रतिबन्ध, हत्या अपरेसन, गिरफ्तारी र केही गम्भीर क्षतिका बाबजुद पार्टी जनताका बीचमा स्थापित र अनुशासित बन्दै गएको रिपोर्ट गरेका थिए । नयाँ पूर्णकालीन कार्यकर्ता बढ्दै गएको, सेनामा भर्ती बढिरहेको उनीहरूले उल्लेख गरेका थिए । महासचिव चन्दले ‘आफैंलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौं, फाँसीवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं’ शीर्षक राजनीतिक प्रस्ताव पेस गरेका थिए । दुई दिन चलेको बैठकको स्थल भने खुलाइएको छैन । केपी ओली नेतृत्वको सरकारका कारण मुलुकको स्वाधीनता र सार्वभौमिकता दिन प्रतिदिन संकटमा पर्दै गएको बैठकले निष्कर्ष निकालेको छ ।


बैठकमा सामाजिक फाँसीवाद, दलालीकरण र सरकारी भ्रष्टाचारका विरुद्ध सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबन्दी गर्ने र संयुक्त संघर्ष सञ्चालन गर्ने निर्णय भएको विज्ञप्तिमा छ ।

राज्यको नियन्त्रणमा परेका समयमा पार्टी नीतिविपरीत जनतामा गलत समाचार पुग्ने गरी आत्मसमर्पण गर्ने, समन्वय गर्ने नेता–कार्यकर्तालाई कारबाही गरिएको समूहले जनाएको छ । केन्द्रीय सदस्य गुणराज लोहनीलाई भने स्वास्थ्यका कारण काम गर्न कठिनाइ भएकाले जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।



प्रकाशित : कार्तिक ५, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?