कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टेकुमा फोहोर जम्मा गर्न नपाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — टेकुस्थित ट्रान्सफर स्टेसनमा अब फोहोर जम्मा गर्न नपाइने भएको छ । फोहोर संकलन गरेर ल्याइएको दिन नै डम्पिङ साइटमा पुर्‍याइसक्नुपर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले बताए । 

टेकुमा फोहोर जम्मा गर्न नपाइने

महिनौंदेखि जम्मा भएको करिब तीन मेट्रिक टन फोहोर आइतबार उठाएर ओखरपौवा पुर्‍याइएको थियो । सो क्रममा अधिकृत न्यौपानेसहित महानगरपालिकाको वातावरण विभागका अधिकारी स्टेसन पुगेका थिए । फोहोर उठाइसकेपछि उक्त ठाउँ पखालेर फिनेल र चुना छर्किइएको वातावरण विभागले जनाएको छ ।


‘स्टेसन भनेको एक छिन बिसाउने, नमिलेको फोहोर मिलाउने ठाउँ मात्र हो,’ न्यौपानेले भने, ‘प्राविधिक समस्या भए मात्र एक दिनसम्म राख्न सकिन्छ, अर्को दिन डम्पिङ साइटमा पठाइहाल्नुपर्छ ।’


सहरका सडक र गल्ली–गल्लीमा पुगेर फोहोर जम्मा गरेपछि ट्रान्सफर स्टेसनमा ल्याउने गरिएको छ । संकलित फोहोरलाई ठूला सवारीसाधनबाट ल्यान्डफिल साइटमा पुर्‍याउने गरिन्छ । कुनै एक ठाउँमा समस्या भयो भने त्यसको चाप सीधै स्टेसनमा पर्दा फोहोर थुप्रिन्छ ।


स्टेसनलाई सधैं सफा राख्न अझ प्रयास गरिने वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापन गर्ने प्रणालीमा सबै जिम्मेवार भए फोहोर व्यवस्थापन सजिलो हुने उनको भनाइ छ ।


टेकुमा सञ्चालित ट्रान्सफर स्टेसन करिब ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । अब महानगरले बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने योजना अघि सारेको छ ।


विभागले २०७२ भदौमा पनि ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाएको थियो ।




प्रकाशित : कार्तिक ४, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?