कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा हत्याका पुराना मुद्दा ब्युँताइँदै 

‘विगतमा राम्ररी अनुसन्धान नगरिएका वा दोषी पत्ता नलागेका घटनामाथि पुन: अनुसन्धान सुरु हुन्छ’ : एसपी खत्री

(रौतहट) — राजपुर फरदहवा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हाली मारेको घटनामा अनुसन्धान सुरु भएपछि रौतहटमा भएका अन्य व्यक्ति हत्याका घटनाप्रति पनि चासो सुरु भएको छ । राजनीतिक प्रतिशोध, लेनदेन, फिरौती र अन्य कारणले गोली हान्दै मान्छे मारिएका तर अनुसन्धान नटुंगिएका दर्जनौं घटनाको छानबिन ब्युँतिने आशा पीडित परिवारमा पलाउन थालेको छ । 

रौतहटमा हत्याका पुराना मुद्दा ब्युँताइँदै 

राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाई गौर–८ स्थित जिल्ला अदालतअगाडि २०६८ असार २३ मा गोली प्रहार भएको थियो । बजारबाट पान किनेर आफ्नो घरतर्फ जान हिँडेका उनीमाथि कसले र किन गोली प्रहार गर्‍यो, कसैले ठम्याउनै सकेनन् । स्थानीयले घाइते अवस्थामै उनलाई नजिकैको गौर अस्पतालमा पुर्‍याए तर ज्यान बचेन ।

आठांै दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक पाएका उपेन्द्रले विभिन्न कुस्ती प्रतियोगितामा अब्बल क्षमता देखाएका थिए । उनले तत्कालीन राजा वीरेन्द्र शाहबाट गोरखा दक्षिणबाहुसमेत प्राप्त गरेका थिए । ख्याति प्राप्त खेलाडी भए पनि उनको हत्याको निष्पक्ष छानबिन र दोषी पत्ता लगाउने काममा सधैं अलमल भइरह्यो ।

घटनाको एक सातापछि मृतकका दाइ वीरबहादुर राय यादवले जिल्ला प्रहरी कार्यालयमा ५ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरे । उनले सर्फलाल भन्ने सर्फ महतो, जगन्नाथ राय यादव, शिवजी राय यादव, सोनफीलाल पासवान, महेश राय यादवविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले सर्फलाल र जगन्नाथलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लियो तर अदालतबाट उनीहरूले सफाइ पाए ।

एमालेनिकट रहेका उपेन्द्रको केही माओवादी कार्यकर्तासँग पहिलो संविधानसभा निर्वाचनको दिन वादविवाद भएको थियो । उनको हत्यालाई केहीले त्यही राजनीतिक विवादसँग पनि जोडेर हेरे । घटनाको नौ वर्ष बितिसक्दा पनि बैरागीको हत्या रहस्यमै छ ।

उपेन्द्रका जेठा दाइ राजेन्द्रको पनि २०६० पुस २० मा गोली हानी हत्या गरिएको थियो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहेका बेला तत्कालीन एमालेका समर्थक राजेन्द्रको हत्यालाई राजनीतिक प्रतिशोधका रूपमा हेरिएको थियो । राजेन्द्र हत्याको प्रश्न पनि अनुत्तरित नै रह्यो ।

यादव परिवारका कान्छो भाइ वीरबहादुर दुवै दाइको हत्यारालाई कारबाही हुनुपर्ने त बताउँछन् तर गम्भीर अनुसन्धान हुनुपर्ने भनी सार्वजनिक रूपमा व्यक्त गर्न डराउँछन् । उनले भने, ‘मलाई त बोल्न नि डर लाग्छ । ८ वर्षमा दुई जना दाजुको हत्या भयो । म के बोलूँ ।’ दुई वर्षअघि देवाही गोनाही–७ को वडाध्यक्षमा उठेर पराजित भएका वीरबहादुर आफ्ना दाइहरूको हत्याको रहस्य प्रहरी प्रशासनले खोतल्ला भन्ने विश्वास पनि गर्दैनन् । उनले भने, ‘अब न्यायको आस पनि मरिसक्यो । अनुसन्धानको झन्झटमा पनि खोइ कसरी पो पर्नु ?’

राजेन्द्रका दुई छोरा र दुई छोरी अनि माइलो दाइ उपेन्द्रका दुई छोराको अभिभावकीय जिम्मेवारी वीरबहादुर आफंैले सम्हालिरहेका छन् ।

राजेन्द्र र उपेन्द्रको जस्तै नसुल्झेका हत्याको लामो सूची जिल्ला प्रहरी कार्यालय रौतहटमा छ । छोरा ओसी अख्तरको न्यायको खोजीमा दौडँदा दौडँदै हत्या गरिएकी सरुअठाकी रुक्साना खातुनको पनि २०६४ चैत २७ मा गोली हानी हत्या भएको थियो । कहीँ न कतै राजनीतिक पृष्ठभूमि भएका व्यक्तिको हत्यामाथि निष्पक्ष छानबिन नहुने र राजनीतिक शक्ति केन्द्रका कारण अनुसन्धान प्रभावित हुने परम्परा रुक्सनाको घटनामा पनि देखियो ।

तत्कालीन माओवादीको दशक लामो सशस्त्र द्वन्द्वका अन्तिम वर्षहरूमा मध्य मधेसको रौतहट हिंसाको केन्द्र जस्तै बनेको थियो । राजनीतिक प्रतिशोधमा हुने व्यक्ति हत्याका घटना नियमित आकस्मिकता जस्तै भए । त्यसै शृंखलाको एउटा घटना थियो, २०६३ चैत ७ मा गौरको राइस मिलमा भएको नरसंहार । उक्त घटनामा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

राजनीतिक वृत्तमा उदाउँदै गरेको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले गरेको आमसभा स्थलमै तत्कालीन माओवादीले पनि आमसभा गरेको थियो । एकै स्थानमा दुई फरक शक्तिबीचको आमसभा एकैछिनमा हिंसामा परिणत भयो र घटनास्थलमै दुई दर्जनभन्दा बढीको मृत्यु भयो । यो गम्भीर घटनामाथि न निष्पक्ष छानबिन सुरु भयो न त दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास नै । राजनीतिक शक्ति केन्द्रको आडमा घटनालाई सामसुम पार्दै मृतकका परिवारहरूलाई आर्थिक सहायता दिएर न्यायको खोजी नगर्ने बनाइयो ।

घटनाको सूत्रधारका रूपमा तत्कालीन स्वतन्त्र सभासद बबन सिंहलगायत थुप्रै स्थानीय राजनीतिकर्मी मुछिए । तर स्वतन्त्र छानबिन राजनीतिक दबाबमा ओझेल पर्दै आयो । नरसंहारको १४ वर्षपछि पनि न पीडितका परिवार न्यायको पक्षमा बोल्ने अवस्थामा छन् न जिल्लाका कुनै राजनीतिकर्मी यो विषय उक्काउने पक्षमा देखिन्छन् ।

नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ केशरीले राजनीतिक पक्षपोषणका आधारमा मुद्दालाई हेर्ने र शक्तिका आधारमा अनुसन्धानलाई प्रभावित पार्ने खेलले जिल्लामा दण्डहीनता बढेको बताए ।

‘कानुनी राज्यमा सबैलाई समान हुनुपर्ने हो । तर जिल्लामा कहिल्यै त्यस्तो देखिएन । ठूलाठूला काण्ड राजनीतिक प्रभावमा दबाइयो । त्यसले सामान्य जनतामा न्यायको अनुभूति हुनै दिएन,’ उनले भने । जघन्य हत्याका घटनामा पनि राजनीतिक सौदाबाजी गर्ने र कमजोर राज्य प्रणालीको फाइदा उठाउने परम्परा अझै नरोकिएको उनले बताए । ‘केही वर्ष अघिसम्म छिमेकी विहारमा व्यक्ति हत्याका घटनाको शृंखला चलेको थियो तर कानुनी कारबाही बलियो पारिएपछि अवस्था सुध्रेको छ,’ उनले भने, ‘राजनीतिक दबाबबिना स्वतन्त्र अनुसन्धान गर्ने हो भने यस्ता घटनामा कमी आउँछ ।’

देवाही गोनाही नगरपालिकास्थित तत्कालीन गोनाही निमाविका शिक्षक सुनील यादवको २०६५ कात्तिक ७ मा भएको हत्या पनि रहस्यमै छ । विद्यालयभित्रै अतिरिक्त कक्षा पढाइरहेका बेला अपरिचित समूहले उनलाई कक्षा बाहिर बोलाएर गोली हानेको थियो । शिक्षक सुनीलको कञ्चट, छाती र पाखुरामा गोली लागेको थियो । कक्षाकोठामा पढिरहेका विद्यार्थी चिच्याउँदै आत्तिँदै बाहिर निस्कँदा उनको प्राण उडिसकेको थियो ।

देवाही गोनाही–९ धरहरी घर भएका सुनील तत्कालीन मधेसी जनअधिकार फोरमको भ्रातृ संगठन मधेसी शिक्षक फोरमका क्षेत्रीय सभापति थिए । उनको हत्यालगत्तै परिवारका सदस्यहरूले राजीव कुशवाहसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । फरार रहेका आरोपितहरूलाई प्रहरीले पक्राउ त गर्‍यो, तर राजनीतिक दबाब र कानुनी छिद्रबीच उनीहरू सजिलै उम्किए ।

स्थानीयका अनुसार फोरम र तत्कालीन माओवादीबीचको राजनीतिक प्रतिशोधको भुंग्रोमा परेर सुनीलको हत्या भएको थियो । सुनीलको परिवारका सदस्यको मनमा अझै डर हटिसकेको छैन । कान्तिपुरको सम्पर्कमा आएका सुनीलको परिवारका केही सदस्य घटनाबारे बताउन पनि डराए । उनीहरूले असुरक्षाको कारण देखाउँदै बोल्न अनिच्छा प्रकट गरे ।

सुनीलका काका सुदामा राय यादवले भने, ‘घटनापछिको दु:खको के कुरा गरूँ । हाम्रो दु:ख र चोट कसले पो सुन्ला र ? ’

रौतहटका एसपी भूपेन्द्र खत्रीले नसुल्झिएका पुराना व्यक्ति हत्याका घटनाको फाइल पल्टाउने बताए । ‘विगतमा राम्ररी अनुसन्धान नगरिएका वा दोषी पत्ता नलागेका घटनामाथि पुन: अनुसन्धान सुरु हुन्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक ४, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?