१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यूएन उपमहासचिव कनेम काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषकी कार्यकारी निर्देशक तथा यूएनकी उपमहासचिव नतालिया कनेमको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार काठमाडौं आएको छ ।

यूएन उपमहासचिव कनेम काठमाडौंमा

पहिलोपटक नेपाल आएकी कनेमसँगै एसिया र प्रशान्तका लागि कोषका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र कोषकै चिफ अफ स्टाफ पियो स्मिथ पनि छन् । कोषको नेपालस्थित कार्यालयले विज्ञप्ति जारी गर्दै टोलीको नेपाल भ्रमणका बारेमा जानकारी दिएको हो ।


सन् २०१९ कोषको ५० औं वार्षिकोत्सव तथा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको २५ औं वार्षिकोत्सव मनाइँदै छ । सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा सम्पन्न उक्त सम्मेलनमा नेपाललगायत विश्वका १७९ राष्ट्रहरूले हस्ताक्षर गरेका थिए ।


सम्मेलनले महिला तथा किशोरीहरूलाई विकास एजेन्डाको केन्द्रमा राख्दै जनसांख्यिक विकास र व्यक्तिगत अधिकार तथा छनोटबीचको सम्बन्धमा सर्वसहमतिले महत्त्वपूर्ण दूरदर्शी निर्णय गरेको कोषको विज्ञप्तिमा उल्लेख छ ।


कायरो सम्मेलनको दूरदृष्टि तथा सन् २०३० सम्म यस सम्मेलनको कार्ययोजनाको पूर्ण कार्यान्वयनमा नेपाल सरकारको प्रतिबद्धतामा नेपालले हालसम्म हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरूसँग साक्षात्कार हुनका लागि उक्त उच्चस्तरीय टोलीले नेपालको दुईदिने भ्रमण गरेको बताइएको छ ।


साथै, आगामी नोभेम्बर १२–१४, २०१९ मा नैरोबीमा आयोजना हुन लागेको कोषको २५ औं शिखर सम्मेलनमा प्रजनन अधिकार सुनिश्चिततामा नेतृत्वदायी भूमिकासहित सहभागी हुन सरकारको उच्च तहलाई आमन्त्रण गर्ने उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ३, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?