महिलाको संख्यात्मक र गुणात्मक सहभागितामा जोड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेतृत्वमा महिला सहभागिता बढेपनि पर्याप्त नभएको महिला सांसदहरुले  बताएका छन् । ‘महिला राजनीतिज्ञहरुसँगको अन्तरक्रिया’ विषयक एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक रहेको बताइन् ।

महिलाको संख्यात्मक र गुणात्मक सहभागितामा जोड

‘राजनीतिक, आर्थिक, सामाजिक लगायतका सबै क्षेत्रमा आ—आफ्नो पृष्ठभूमिका महिला नेतृत्वको सहभागिता बढेको छ, तर यतिले मात्रै पुग्दैन, यो प्रतिस्पर्धाको जमानामा हामी (महिला)ले संख्या र गुणस्तर बढाउनैपर्छ,’ उनले भनिन् ।


यसका लागि सञ्चार माध्यम र महिला राजनीतिज्ञहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताइन् । ‘सञ्चार माध्यमहरुले महिलाको आवाज उठाउने विषयमा योजना बनाउनुपर्छ र राजनीतिज्ञ महिलाहरुले आफ्ना कुराहरु उठाउँदा विषय केन्द्रित शसक्त आवाज उठाउने गर्ने तयारीमा हुनुपर्छ ।’


संसदकी एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराको विषयमा राजनीतिक दलका महिला संगठनहरु मौन बनेको विषयलाई जोड्दै महिला राजनीतिज्ञहरुले डटेर लड्नुपर्ने समाजवादी पार्टीकी नेतृ हिसिला यमीले बताइन् । उनले भनिन्, ‘सरकार अप्ठेरोमा पर्ने, अल्पमतमा पर्ने भएपनि महिला हिंसाका सवालमा हामीले बोल्नैपर्छ ।’


संविधानमा सुरक्षित महिला अधिकारलाई थप स्थापित र प्रभावकारी कार्यान्वयनका लागि सञ्चार माध्यम र महिला राजनीतिज्ञहरुले समन्वय गर्नुको विकल्प नहुने नेकपाकी सांसद विन्दा पाण्डेले बताइन् ।


नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सञ्चारमाध्यमहरुले महिला नेतृहरुलाई समान स्थान दिनुपर्ने बताइन् । ‘सेलीब्रेटीले बोलेको कुरा चारदिन पछिसम्म पनि समाचार बनिरहने तर चेलीबेटीले बोलेको समाचार एउटै पनि नबन्ने त्यस्तो हुनुभएन ।’


आइतबार बानेश्वरस्थित सञ्चारिका समूह, निर्वाचन आयोग लगायत संस्थाहरुको संयुक्त आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल, सांसद रामकुमारी झाक्री, अष्टलक्ष्मी शाक्य, कुमारी सुवेदी लगायत महिला सांसदहरुले बोलेका थिए ।

प्रकाशित : कार्तिक ३, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?