कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिल्यो भूमि बाँडफाँट

हरि गौतम

(रुकुमपूर्व) — मुलुकमा ७५ जिल्ला हुनुअगावै सुरु भएको सीमा विवाद बल्ल समाधान भएको छ । नेपालमा ३६ जिल्ला हुँदादेखिको सीमासम्बन्धी विवाद अहिले साबिक रुकुम प्रदेश ५ र कर्णाली प्रदेशमा विभाजित भएपछि समाधान भएको हो । 

मिल्यो भूमि बाँडफाँट

साबिकका पाल्पा र सल्यान जिल्लाबीच सीमा विवाद सुरु भएको थियो । सार्वजनिकलाई व्यक्तिगत बनाउने प्रयास भएपछि दुवै जिल्लाले उक्त जग्गा सार्वजनिक भएको र आफ्नो क्षेत्रभित्र पर्ने दाबी गर्दै आएका थिए । उक्त विवाद ३६ जिल्ला हुँदा सुरु भएको थियो । जिल्लाको संख्या ७५ भएपछि विवादित जमिन साबिक रुकुम जिल्लामा परेको थियो । तत्कालीन राजा महेन्द्रले ०१८ सालमा नेपालका ३६ जिल्लालाई बढाएर ७५ घोषणा गरेका थिए ।


रुकुम जिल्लाका साबिक शोभा र साँख गाविसबाट सीमा विवाद सुरु भएको हो । एउटै जिल्ला भएपछि विवाद उत्कर्षमा नपुगे पनि उक्त क्षेत्र ‘झ’मै थियो । स्थानीय तहको निर्वाचन र साबिक रुकुम दुई जिल्ला बनेपछि उक्त विवाद फेरि सतहमा आयो । उक्त क्षेत्र रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ मा रहेको छ । गाउँ, टोल, वडा, जिल्लामात्र नभई प्रदेशको सीमा भएपछि विवाद बढ्दै गएको हो ।


दुवै जिल्ला, स्थानीय तह, वडा, गाउँ तथा टोलका बासिन्दाको छलफलले उक्त विवाद समाधान गरेको छ । सिस्ने गाउँपालिका–६, खोपीचारमा दुवै जिल्लाका प्रतिनिधिले विवादका विषयमा छलफल गरेका थिए । छलफलपछि उक्त ठाउँलाई आधा–आधा बनाएर सीमा निर्धारण गरिएको छ । ‘झ’ रहेको भनिएको उक्त क्षेत्र प्रदेश ५ को रुकुम पूर्वतिर ९५ मिटर र कर्णाली प्रदेशको रुकुम पश्चिमतिर ९५ मिटर बाँडफाँट गरिएको छ । दुवै जिल्लाका नापी कार्यालयका प्राविधिकले कीला ठोकेर सीमा निर्धारण गरेका हुन् ।


‘दुवै प्रदेशमा पर्ने जिल्लाका प्रतिनिधिबीचको छलफलले लामो समयदेखिको विवाद समाधान गरेको छ,’ जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले भने, ‘उक्त क्षेत्रको दूरी नापेर बराबर गरी साँध सीमा निर्धारण भएको छ ।’ सीमा विवादकै कारण गाउँदेखि स्थानीय सरकारसम्मको तिक्तता बढ्दै गएपछि विवाद समाधानका लागि छलफल थालिएको उनले बताए ।


दुवै जिल्लाका प्रतिनिधि विवादित क्षेत्र आधा बनाउन तयार भएपछि सीमा विवाद समाप्त भएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । दुवै प्रदेश र जिल्ला स्तरीय टोलीबीचको नीतिगत सहमतिअनुसार सीमा विवाद समाप्त भएको उनले बताए । स्थानीय तह सक्रिय भएपछि सीमा विवाद बल्झिएको थियो । दुवै स्थानीय तहले एकले अर्कालाई सीमा मिचेको आरोप लगाउँदै आएका थिए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?