१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सैनामैनामा संग्रहालय निर्माण गरिँदै

अमृता अनमोल

(बुटवल) — रूपन्देहीको सैनामैनामा रहेका बुद्धकालीन अवशेषको संरक्षण थालिएको छ । सैनामैना नगरपालिकाको अगुवाइमा बुद्धकालीन पुरातात्त्विक क्षेत्र र त्यहाँ रहेका अवशेषको संरक्षण थालिएको हो ।

सैनामैनामा संग्रहालय निर्माण गरिँदै

बुद्ध जन्मस्थल लुम्बिनीको उत्तरपट्टि पूर्वपश्चिम राजमार्गसँग जोडिएको सैनामैना बौद्धकालीन प्राचीन सहर मानिन्छ । यहाँ दर्जनभन्दा बढी बुद्ध र उनको जीवनीसँग जोडिएका पुरातात्त्विक क्षेत्र छन् ।


अहिलेसम्म बुद्धकालीन मूर्ति, राजारानीले नुहाउने कुवा, बुद्धकालीन घरका संरचना, इँटा, भाँडा, औजारलगायत भेटिएका छन् । ११ वटा बुद्धकालीन कुवा मात्रै छन् । दुईवटा अहिले पनि चल्तीमा ल्याउन सकिने खालका छन् । अन्यत्र पानीका मूल र कुवा सुक्दा पनि यहाँको वडाकुवा र रानीकुवामा पानी सुक्दैन । कुवाको ढाँचा र पानीमा समेत फरक स्वाद रहेको स्थानीय गणेश अधिकारीले बताए ।


सैनामैनामा ०२२ सालतिर बस्ती बस्न सुरु भएको हो । यहाँ अहिले पनि खेत खनजोत गर्दा, माटो खन्दा, जंगल जाँदा पुरातात्त्विक वस्तु भेटिन्छन् । गाउँमा भेटिएका बुद्ध मूर्ति, बुद्ध आसन, त्यसबेलाका भाँडाकुँडा, इँटालगायत अवशेषलाई सिरानटोलमा अस्थायी पुरातात्त्विक संग्रहालय बनाएर राखिएको छ । तिनको थप अध्ययन गरेर प्रमाण जुटाउने नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए ।


‘बौद्धकालीन धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक तीन चीजबाटै महत्त्वपूर्ण प्रसस्त स्थल छन् । महत्त्व बुझाउन नसक्दा अहिलेसम्म ओझेलमा परे,’ उनले भने, ‘अब तीन तहकै सरकारको समन्वयमा संरक्षण र संवर्द्धनको काम गरिनेछ ।’ यसअघि सैनामैनामा भेटिएका बुद्धकालीन मूर्ति लुम्बिनीमा राखिएको उल्लेख छ । अब यहाँका वस्तु यहीं राख्ने, बुद्धकालीन सहर पुष्टि गराउने र पर्यटन प्रवर्द्धन गर्ने नगर प्रमुख कार्कीले बताए ।


विभिन्न बौद्ध ग्रन्थमा बुद्धबल्लीको एउटा प्रमुख सहरका रूपमा सैनामैनादेखि बुटवलको जितगढीसम्म फैलिएको उल्लेख छ । त्यसमा सिद्धार्थ गौतम गृहत्याग नगर्दै गृहनगर कपिलवस्तुबाट कन्थक रथसहित सैनामैनामा घुम्न आउने बताइएको छ । १० वर्षअघि लुम्बिनी विकास कोषले गरेको सामान्य उत्खननका क्रममा बुद्धकालीन सभ्यताका महत्त्वपूर्ण पुरातात्त्विक वस्तु तथा अवशेष फेला परेका थिए । त्यसपछि यस क्षेत्रलाई पर्यटकीय एवं पुरातात्त्विक क्षेत्रको सूचीमा राखिएको थियो । तर, बुद्ध क्षेत्रको संरक्षणको जिम्मा पाएको लुम्बिनी विकास कोषले यसबारेको थप अध्ययन, अनुसन्धान र संरक्षणमा चासो देखाएको थिएन ।


जसले गर्दा प्रशस्त बुद्धकालीन वस्तु रहेर पनि औपचारिक पुष्टि भएको छैन । गत वर्ष नेपाल सरकारले तयार गरेको बुद्ध सर्किटमा सैनामैना समावेश भएको छ । सरकारले घोषणा गरेको एक सयवटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा यो क्षेत्र पनि परेको छ । त्यसपछि भने यहाँका बौद्धकालीन क्षेत्र र अवशेष संरक्षणमा संघीय सरकारले समेत चासो देखाएको हो ।


गत वर्ष संस्कृति तथा पर्यटन मन्त्रालयले बुद्धकालीन अवशेष संरक्षणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले स्थलगत अनुगमन गरी पुरातात्त्विक क्षेत्र पहिचान र उत्खननको तयारी गरेका छन् । पूर्वअर्थमन्त्री विष्णु पौडेलले ओझेलमा परेको सैनामैनालाई बुद्ध सहरका रूपमा परिचित गराउन पुरातात्त्विक संरक्षण र पर्यटन प्रवर्द्धनका काम एकसाथ थालिएको बताए ।


संघीय सरकारको सहरी विकास मन्त्रालयले सैनामैनासहित बुद्धबल्लीका अवशेषलाई संरक्षण गर्न चालु आर्थिक वर्षमा बौद्ध संग्रहालय निर्माण गर्दैछ । बुद्धकालीन सभ्यतालाई संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न भन्दै सैनामैना–१ को बनकट्टामा संग्रहालय निर्माण थालिएको हो । १२ बिघा क्षेत्रफलमा निर्माण हुने संग्रहालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । चालु आर्थिक वर्षमा पहिलो चरणको कामका लागि १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यही महिनादेखि भौतिक निर्माणको काम सुरु हुने नगर प्रमुख कार्कीले बताए ।


नगरपालिकाले लुम्बिनी आएका पर्यटकलाई सैनामैनासम्म पुर्‍याउने भन्दै व्यवस्थित सडक बनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले लुम्बिनी आउने पर्यटक सैनामैना ल्याएर बुद्धबल्लीको जितगढी किल्ला हुँदै देवदह र नवलपरासीका बौद्ध स्थलमा पुर्‍याउने योजना बनाएको बताए ।


प्रकाशित : कार्तिक ३, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?