३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुइ वर्ष १७ जनाले ज्यान गुमाएपछि हात्तीसार सारियो

प्रदीप मेन्याङ्बो

(सुनसरी) — कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा पालिएका हात्तीहरू उदयपुरको भागलपुर पोस्टमा सारिएका छन् । जंगली हात्तीको आतंकबाट पीडित बनेकाहरुको दबाबपछि सारिएको  हो । जंगली मत्ता हात्तीको हूल संसर्गका बेला उपद्रो गर्छन् ।

दुइ वर्ष १७ जनाले ज्यान गुमाएपछि हात्तीसार सारियो

आरक्षका पोथी हात्तीसँग यौन सम्पर्क गर्ने बेलामा भाले हात्तीका हुलले आरक्ष आसपासका बस्ती र खेतीमा बर्सेनि वितण्डा मच्चाउँदै आएका छन् । मानवीय क्षति पुर्‍याउने घटना बढेपछि स्थानीय समुदायले हात्तीसार सुनसरीको पश्चिम कुसाहाबाट अन्यत्र सार्न दबाब दिएका थिए ।


आरक्षका ५ वटा हात्ती भागलपुर पोस्टमा सारिएको हो । आरक्षसँगै जोडिएको उक्त गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले भने, ‘दुई वर्षको अवधिमा हात्तीको आक्रमणमा परी १७ जनाको ज्यान गइसकेको छ ।’ वडा ३ को साविक पश्चिम कुसाहा र ४ का जुटवनमा मानवीय क्षतिले आरक्षलाई हात्तीसार स्थानान्तरण गर्न दबाब दिनुपरेको उनले बताए । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घरपरिवारका ८४ हजार ४ सय २३ जनाको बसोबास छ ।


वन्यजन्तुका संरक्षणका लागि ०३२ सालमा स्थापित कोसी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरी १ सय ७५ वर्गकिलोमिटरमा फैलिएको छ । आरक्षको कार्यालय सुनसरीतर्फ कोसी–३ पश्चिम कुसाहामा छ । कज्याउन गाह्रो पर्ने भएकाले संरक्षित क्षेत्रका हात्तीसारमा भाले हात्ती राखिँदैन । यहाँको हात्तीसारमा रहेका मत्तासँग संसर्गका लागि आउने जंलगी हात्तीले आसपासको बस्तीमा आतंक मच्चाउँदै आएका छन् । धनजनको क्षति हुनुमा आरक्षमा पालिएको पोथी हात्ती नै मुख्य कारक भएको ठहर गरिएकाले तत्कालका लागि सारिएको हो ।


हात्तीसार सार्नका लागि गत सोमबार सुनसरी जिल्ला प्रशासन कार्यालयमा बैठक भएको थियो । उक्त बैठकमा सरोकारवालाले मत्ता सार्न आरक्षको उत्तरतर्फ उदयपुर क्षेत्र उपयुक्त हुने ठहर गरेका थिए । तत्कालका लागि भागलपुर पोस्टमा हात्ती सार्न सहमति भए पनि उपस्थितमध्ये केहीले पोथी हात्तीहरू बर्दिया वा चितवन राष्ट्रिय निकुन्जमा सार्न माग गरेका थिए ।


‘माग गरे भन्दैमा बर्दिया वा चितवन सार्न अव्यावहारिक हुने भएकाले तत्कालका लागि भागलपुरको आरक्षकै पोस्टमा सारेका हौं,’ आरक्षका संरक्षक अधिकृत रामदेव चौधरीले भने, ‘हात्तीसार सार्दैमा समस्या समाधान हुँदैन । चितवन वा बर्दिया सार्दा त्यहाँको स्थानीय समुदायले पनि स्वीकार्नुपर्ने हुन्छ । बरु वन्यजन्तुको उचित व्यवस्थापन गर्न उपयुक्त हुन्छ ।’


प्रकाशित : कार्तिक ३, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?