कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चीनसँग संयुक्त सुरक्षा अभ्यास हुने, उत्तरी ४ नाकामा सशस्त्र फौज

मातृका दाहाल

काठमाडौँ — नेपाल र चीनले दुवै देशका सशस्त्र प्रहरीमार्फत अन्तरदेशीय सीमा अपराध, आतंकवाद नियन्त्रण र सीमा व्यवस्थापनका लागि ‘संयुक्त सुरक्षा अभ्यास’ गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा भएको समझदारीअनुरूप दुई देशका अर्धसैनिक बलबीच पहिलोपटक सुरक्षा अभ्यास गर्न लागिएको हो ।

चीनसँग संयुक्त सुरक्षा अभ्यास हुने, उत्तरी ४ नाकामा सशस्त्र फौज

सीको राजकीय भ्रमण क्रममा सीमा सुरक्षा र आतंकवाद नियन्त्रणका लागि कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सुरक्षा अभ्यास गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भ्रमणपछि दुवै देशका तर्फबाट जारी संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा पनि सीमा सुरक्षार्थ तैनाथ निकायबीच संयुक्त अभ्याससहित चीनले कानुन कार्यान्वयन गर्ने नेपालका निकायलाई ३ वर्षमा एक सयवटा तालिम प्रदान गर्ने, सुरक्षा सहायतालगायतमा सहयोग गर्ने उल्लेख छ ।

नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र चीनको पिपुल्स आर्म्ड पुलिस फोर्स (पीएपी) बीच सुरक्षा अभ्यासका लागि दुवै देशले संयुक्त कार्ययोजना बनाइने गृह मन्त्रालयका एक अधिकारीले बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण क्रममा भएको समझदारी कार्यान्वयन गर्न दुवै मुलुकबाट छिट्टै संयुक्त खाका बन्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘सीको भ्रमण क्रममा जारी संयुक्त वक्तव्य परराष्ट्र मन्त्रालयबाट औपचारिक रूपमा आएपछि सुरक्षा अभ्याससम्बन्धी कार्ययोजना बन्नेछ ।’


गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुई देशबीच भएको समझदारीपत्र मन्त्रालयमा आइनसकेको बताए । ‘समझदारीपत्र औपचारिक रूपमा आएपछि त्यसलाई कार्यान्वयन गर्न कार्ययोजना बन्छ,’ उनले भने । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरज श्रेष्ठले दुई देशका अर्धसैनिक बलबीच संयुक्त अभ्यास भए सीमा व्यवस्थापन र सुरक्षामा प्रभावकारी काम गर्न सकिने बताए । ‘दुई देशका सशस्त्र प्रहरीबीच अहिलेसम्म संयुक्त सुरक्षा अभ्यास भएको छैन, चीनसित संयुक्त अभ्यास गर्ने समझदारी हुनु निकै उपलब्धिपूर्ण कदम हो,’ डीआईजी श्रेष्ठले भने ।


उत्तरी ४ नाकामा सशस्त्र फौज

सरकारले चीनसँग सीमा जोडिएका ४ वटा नाकामा सशस्त्र प्रहरीको बोर्डर अब्जर्भर पोस्ट (बीओपी) स्थापना गर्न स्वीकृति दिएको छ । चालू आवभित्रै बीओपी स्थापना गरिसक्ने गरी गृह मन्त्रालयले स्वीकृति दिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरज श्रेष्ठले बताए । उनका अनुसार दार्चुलाको टिंकर भञ्ज्याङ/लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमाथाङ र संखुवासभाको किमाथांका नाका सुरक्षार्थ बीओपी स्थापना गर्न लागिएको हो । लिपुलेक नेपाल, चीन र भारतको त्रिदेशीय सीमा हो ।


मनाङमा शिखर शिक्षालय खोल्न प्रस्ताव

सशस्त्र प्रहरीले चीनसँग सीमा जोडिएको मनाङमा ‘पर्वतीय उद्धार तालिम शिक्षालय’ स्थापना गर्न प्रस्ताव गरेको छ । उत्तरी नाकाको सुरक्षा र हिमाली तथा पहाडी भूभागमा हुन सक्ने द्वन्द्व, आतंकवाद नियन्त्रण, प्राकृतिक प्रकोपसम्बन्धी खोज/उद्धार तथा राहत व्यवस्थापन र अपराध नियन्त्रण तालिमका लागि शिक्षालय स्थापना गर्न प्रस्ताव गरिएको हो ।


प्रस्तावअनुसार गृह मन्त्रालयले शिक्षालयका लागि उपयुक्त स्थान पहिचान गर्न निर्देशन दिइसकेको छ । गृहको निर्देशनपछि सशस्त्रले जग्गा व्यवस्थापन र संरचना निर्माण खाका बनाउन एसपीको कमान्डको एउटा टोली मनाङमा खटाइसकेको छ ।


प्रकाशित : कार्तिक ३, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?