कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दाइजोमा भालु र सर्प

भरत जर्घामगर

(सिरहा) — गाउँघरमा भालुको नाच देखाएर उनको गुजारा चलेको छ । सिरहा सुखिपुर–८ का ३० वर्षीय साविरको परिवारमा १० जना छन् । चटक देखाउने पेसा गर्न उनले भालु जंगलबाट समातेर ल्याएका होइनन् । बाजे हथियालाई बिहेमा ससुरालीले दाइजोमा भाले र पोथी भालु दिएका थिए । अहिलेको भालु तिनै जोडीको अन्तिम सन्तान हो ।

दाइजोमा भालु र सर्प

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनत: दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् । सिरहाको सारस्वर बस्ने हथियाको विवाह भारतको गोरखपुरमा भएको थियो । बजैले दाइजोमा दुईवटा भालु घरमा आफूसँगै भित्र्याएकी थिइन् । ‘त्यही भालु नचाएर बाजेले गुजारा चलाए,’ साविर भन्छन्, ‘त्यही भालेपोथीबाट जन्मिएका बच्चा बाजेले छोरीहरूका बिहेमा दाइजोमा दिए । छोराहरूलाई पनि भालु नै अंश दिए ।’ बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुर्ख्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए ।


अबु मोहम्मदले पनि दिदीहरूका बिहेमा त्यही भालुको बच्चा दाइजो दिए । अबु वृद्ध भएपछि अहिले साविरले बाजेले दाइजोमा पाएको तिनै भालुको २७ औं सन्तानबाट गुजारा चलाउँदै आएका छन् ।


भालुलाई उनी धुथरु भनेर बोलाउँछन् । एकवर्षे धुथरु भाले हो । साविरले ६ महिना तालिम दिएपछि धुथरु नाचमा सिपालु भयो । अहिले त्यसको नाचबाट हुने आम्दानीले साविरको घर चलेको छ । ‘धुथरुले माला जप्ने, चर्खा काट्ने, बच्चा खेलाउने, मातेको मान्छे जसरी हिँड्ने, ब्रेक डान्ससमेत ६ प्रकारका कला प्रस्तुत गर्छ,’ सिरहाको घलेटोलमा भालु नचाइरहेको भेटिएका साविरले भने, ‘कला प्रदर्शन गरेपछि धुथरु आफैं कचौरा बोकेर पैसा थाप्न दर्शकमाझ पुग्छ ।’


एक ठाउँमा आधा घण्टा धुथरुको नाच हेरेपछि दर्शकले प्रशंसा गर्दै पैसा दिन्छन् । एक घण्टासम्म देखाइने नाचमा एकपटकमा ५ सयदेखि १५ सय रुपैयाँसम्म हुने गरेको साविरले सुनाए । आफू र भालुलाई ख्वाएर मासिक १५ हजार रुपैयाँ जोगिने गरेको छ । उनका अनुसार धुथरुले एक दिनमा ४ लिटर दूध, एक किलो पिठो र एक किलो चामलको भात खान्छ । साविर तीन महिनासम्म गाउँघर घुमेर कमाएको पैसा लिएर घर पुग्छन् । ‘घरमा बालबच्चालाई तीन महिना पुग्ने रासन पानीको जोहो गरेपछि फेरि घरबाट निस्कन्छु,’ उनले भने, ‘यसबाट गुजारा चलेको छ, एउटा घडेरी छ । अरू जग्गाजमिन जोड्न सकेको छैन । मेरो सम्पत्ति भनेकै यही धुथरु हो ।’ तीन पुस्तादेखि भालु नचाएर गुजारा चलाएका परिवार यतिबेला हजुरआमाले दाइजोमा पाएको भालुको सन्तान मासिने चिन्तामा छन् । कारण, उनले नचाउँदै आएको भालु ‘भाले’ हो ।


पोथी छैन । ‘कानुनले जंगलबाट भालु ल्याउन दिँदैन, त्यसमा पनि भालु तराईका जंगलमा पाइनै छाड्यो,’ उनले भने, ‘किनेर सकिँदैन, सकिए पनि किन्न पाइँदैन ।’ एक छोरी र दुई छोराका बाबु साविरले छोराको बिहेमा दाइजोमा पोथी भालु माग गरेर जोडा बनाउने निधो गरेका छन् ।


भालु स्तनधारी जनावर हो । विश्वभर भालुका आठ प्रजातिहरू मात्रै पाइन्छन् । तीमध्ये नेपालमा तीन प्रजातिका भालु पाइन्छन् । भालुहरू उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र एसियामा प्रशस्त पाइन्छन्, तीमध्ये हिमाली कालो भालु मध्य पहाडी क्षेत्रमा पाइन्छ । कालो भालु आफ्नै बासस्थानमा बस्न रुचाउने प्रजाति हो । वनमा खानेकुराको अभाव भएमात्र मानव बस्ती तथा खेतबारीतिर छिर्ने गर्दछ । कहिलेकाहीं बाटो भुलेर पनि आउने गरेको पाइएको छ । यिनले मानिससँग जम्काभेट हुँदा आफ्नो बचाउका लागि आक्रमण गर्दछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ऐन, २०२९ अनुसार भालु संरक्षित वन्यजन्तु हो ।


नट जातिको सम्पत्ति नै भालु र सर्प

तराई मधेसमा छरिएर बसेका नट अल्पसंख्यक जाति हुन् । सुकुम्बासी र फिरन्ते जीवन बिताउने यो जातिको मुख्य पेसा महिलाहरूले खोदा (टाटु) भर्ने र पुरुषहरूले सर्प, बाँदर, भालु नचाउनु हो । ‘सर्प नचाउने नट जातिमा जसको सर्प बढी छ, भालु छ उनै आफ्नो समुदायमा धनी कहलाउँछन्,’ मुस्लिम संघका केन्द्रीय सदस्य मोहम्मद हनिफ भन्छन्, ‘अरू जातमा छोरीलाई दाइजोमा धनदौलत, सुनचाँदी, पैसा दिने गर्छन् तर नटहरू छोरीको बिहे गर्दा अनिवार्य रूपमा दाइजोमा सर्प दिनुपर्ने चलन छ ।’ पहिले यस्तो चलन भए पनि शिक्षाको विकाससँगै अहिले नट जातिले सपेरा र जनावर नचाउने चटकेको पेसा छाड्दै गएको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?