दूषित पानी बेच्ने धरौटीमा रिहा

कान्तिपुर संवाददाता

विराटनगर — दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ मिसिएको पानी बेच्ने विराटनगर–७, बुद्धमिलन चोकस्थित ओम जेके पानी उद्योगका तीन सञ्चालकलाई जिल्ला अदालत मोरङले शुक्रबार जनही २ लाख रुपैयाँ धरौटी लिएर छाडेको छ ।

थुनछेक बहस लगतै न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले दिएको आदेश अनुरूप उद्योगका सञ्चालकहरू सुनसरी कोशी गाउँपालिका–१ का २९ वर्षीय जितेन्द्र यादव, महोत्तरीका २९ वर्षीय कैशलेन्द्र कुमार कर्ण र सप्तरी कंकालिनी नगरपालिका–१ का २७ वर्षीय ओमप्रकाश राउतले धरौटी बुझाएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ अन्तर्गत ‘गुणस्तरहीन प्रशोधित पिउँने पानी उत्पादन तथा बिक्री–वितरण’ मा मुद्दा दर्ता गरेको थियो ।

उक्त कार्यालयले कानुनी प्रावधान अनुरूप ५० हजार जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गरेको छ । उक्त उद्योगले ‘एच टू’ नामबाट जार र बोतलको पानी बेच्दै आएको छ । उनीहरूलाई प्रतिवादी बनाएर हाजिर जमानीमा राखिएको थियो ।

उक्त कार्यालयले १७ भदौमा उक्त पानी उद्योगको आकस्मिक अनुगमन गर्दा शौचालयको सेफ्टी ट्यांकी नजिक उत्पादनमा प्रयोग हुने बोरिङ मेसिन राखिएको फेला परेको थियो । अनुगमन टोलीले तत्कालै उद्योगको पानीको उत्पादन एवं बिक्री–वितरणमा रोक लगाएर नमुना संकलन गरेको थियो । २२ भदौमा आएको प्रयोगशाला प्रतिवेदनले उक्त उद्योगको पानीमा दिसामा पाइने जिवाणु ‘कोलिफर्म’ देखिएको ठोकुवा गर्‍यो ।

झन्डै एक महिना लगाएर उद्योग सञ्चालकहरूको बयान र अनुसन्धान प्रक्रिया पूरा गरेपछि उक्त कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा बिहीबार मुद्दा दर्ता गरेको थियो । दुई दिनमै बयान र थुनछेक बहस सकेर अदालतबाट आदेश आएको हो ।

प्रकाशित : कार्तिक २, २०७६ १९:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रपति भण्डारीले जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिलाई भेट्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने राजकीय भ्रमण पूरा गरी शनिबार जापान प्रस्थान गरेकी छन् । उनी जापान सरकारको निमन्त्रणामा चारदिने मैत्रीपूर्ण भ्रमणका लागि गएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले मंगलबार जापानका राजा नारुहितोको राज्यारोहण समारोहमा भाग लिनेछिन् । त्यही क्रममा उनले जापानका प्रधानमन्त्री सिन्जो अबे र भारतका राष्ट्रपति रामनाथ कोबिन्दसँग समेत भेट्ने कार्यक्रम छ ।

भ्रमणकै दौरानमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भण्डारीलाई स्वागत गर्नेछिन् । जापानस्थित गैरआवासीय नेपाली संघले पनि भण्डारीको स्वागतमा कार्यक्रम गर्दै छ । राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकर बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् ।

टोलीका अन्य सदस्य म्यानमारबाट राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ गए पनि गृहमन्त्री थापा शनिबार नेपालबाट जापान उडेका हुन् ।

चार दिनअघि भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा गएकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुका साथै म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु चीसँग भेट गरेकी थिइन् । राष्ट्रपति मिन्टले भण्डारीको सम्मानमा राजकीय भोज आयोजना गरेका थिए ।

भण्डारीले पिङओ लिङमा म्यानमारका नेपालीभाषीसँग भेट गरिन् । उनले बगानमा युनेस्को विश्व सम्पदा क्षेत्रसमेत अवलोकन गरिन् । भण्डारीले म्यानमारको पूर्वराजधानी यांगुनमा ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँको भ्रमण पनि गरिन् ।

प्रकाशित : कार्तिक २, २०७६ १९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT