राष्ट्रपति भण्डारीले जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिलाई भेट्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने राजकीय भ्रमण पूरा गरी शनिबार जापान प्रस्थान गरेकी छन् । उनी जापान सरकारको निमन्त्रणामा चारदिने मैत्रीपूर्ण भ्रमणका लागि गएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले मंगलबार जापानका राजा नारुहितोको राज्यारोहण समारोहमा भाग लिनेछिन् । त्यही क्रममा उनले जापानका प्रधानमन्त्री सिन्जो अबे र भारतका राष्ट्रपति रामनाथ कोबिन्दसँग समेत भेट्ने कार्यक्रम छ ।


भ्रमणकै दौरानमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भण्डारीलाई स्वागत गर्नेछिन् । जापानस्थित गैरआवासीय नेपाली संघले पनि भण्डारीको स्वागतमा कार्यक्रम गर्दै छ । राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकर बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् ।


टोलीका अन्य सदस्य म्यानमारबाट राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ गए पनि गृहमन्त्री थापा शनिबार नेपालबाट जापान उडेका हुन् ।


चार दिनअघि भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा गएकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुका साथै म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु चीसँग भेट गरेकी थिइन् । राष्ट्रपति मिन्टले भण्डारीको सम्मानमा राजकीय भोज आयोजना गरेका थिए ।


भण्डारीले पिङओ लिङमा म्यानमारका नेपालीभाषीसँग भेट गरिन् । उनले बगानमा युनेस्को विश्व सम्पदा क्षेत्रसमेत अवलोकन गरिन् । भण्डारीले म्यानमारको पूर्वराजधानी यांगुनमा ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँको भ्रमण पनि गरिन् ।

प्रकाशित : कार्तिक २, २०७६ १९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दुई वडाध्यक्ष तीन महिनादेखि फरार

अर्जुन राजवंशी

बिर्तामोड — वडाध्यक्षहरु बिर्तामोड नगरपालिका ८ का अजय कार्की र भद्रपुर नगरपालिका ९ का शनिलाल राजवंशी तीन महिनादेखि ‘फरार’ छन् । आफ्नो गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आशामा जिताइएका जनप्रतिनिधि नहुँदा जनता निराश बनेका छन् ।

गैरनेपालीलाई नागरिकता बनाइदिएको आरोप दुवै वडाध्यक्षहरुमाथि छ । उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ । वडा कार्यालय कार्यबाहकको भरमा चलिरहेको छ । वडामा रचनात्मक काम हुन सकेको छैन । १६ जना गैरनेपालीलाई नागरिकता बनाईदिएको आरोपमा २ जना वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका अधिकृतसहित ६ जना कर्मचारी, २ जना वडा सचिवसहित ४८ जनाका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीमध्ये बिर्तामोड ८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालयका खरिदार तेजेन्द्र न्यौपाने, नागरिकतामा सनाखत गर्ने बिर्तामोड ७ का मुस्तफा आलम, बुबा बनेर नागरिकता बनाइदिने ताप्लेजुङका टेकबहादुर गुरुङ तथा बिचौलियाहरु भद्रपुरका प्रेमराज तिम्सिना र बिर्तामोडका भीमबहादुर लिम्बू पक्राउ परेको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्य ४२ जना भने फरार रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी र वडाध्यक्षहरुको मिलेमतोमा ८ वटा नागरिकता दुरुपयोग गरी १६ जनालाई नेपाली नागरिकता बनाईदिएको डीएसपी श्रेष्ठले बताए । उनीहरुले ताप्लेजुङका टेकबहादुर गुरुङलाई बुबा बनाएर ८ जनालाई नक्कली नागरिकता बनाइदिएको श्रेष्ठको भनाइ छ ।

भद्रपुर ९ का नरबहादुर पाख्रिन बुबा बनेर दुई जनालाई, बिर्तामोड ८ का सुरेश अग्रवाल, त्यही वडाका सुशीलकुमार दास, नजिम मोद्दिन र निमा शेर्पा तथा भद्रपुर ९ का राम साह र नरबहादुर गुरुङ बुबा बनेर नक्कली नागरिकता बनाइदिएका थिए । ती नागरिकताहरु भद्रपुर ९ को ठेगानामा ६ वटा, बिर्तामोडको ५, शरणामति ३ र बाहुनडाँगीको ठेगानाबाट २ वटा बनाइएका छन् ।

१६ वटा नक्कली नागरिकता बनाउन १७ जनाले सनाखत गरेका छन् । शरणामति ठेगाना रहेका नागरिकतामा झापा गाउँपालिका ६ नम्बर वडा कार्यालयमा सचिव भवकृष्ण न्यौपानेको समेत संलग्नता देखिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीकाअनुसार नक्कली नागरिकता निर्माण गर्न भद्रपुरका सूर्यबहादुर खड्का, प्रेमराज तिम्सिना तथा बिर्तामोडका भीमबहादुर लिम्बू र बागबीर तामाङले बिचौलियाको भूमिका निर्वाह गरेका थिए ।

उनीहरुले ०७३ मंसिर १३ गते लोवसाङ गुरुङ, ०७३ माघ ११ गते पेमा डोल्कर गुरुङ, डोल्मा गुरुङ र छिरिङ डिकी गुरुङ, ०७६ जेठ ६ गते छिरिङ शेर्पा, धोनसेर गुरुङ, नवाङ केचन तामाङ, वाङमो गुरुङ, डोल्मा गुरुङ, ०७६ जेठ १४ गते रिगजेन छोडेन गुरुङ, नवाङ शिराप गुरुङ, लाक्पा शेर्पा, सन्जय अग्रवाल, सन्जय साह, ०७६ जेठ २१ गते ज्योति विश्वास दास र अयुव आलमलाई नेपाली नागरिकता बनाईदिएका हुन् ।

नागरिकता काण्डमा मुछिएपछि दुवै वडाध्यक्ष कार्यबहाक दिएर सम्पर्क विहीन छन् । कार्कीले असार ८ गते वडा सदस्य दीपक भट्टराईलाई कार्यबहाक दिएका छन् । राजवंशीले असार २४ गते वडा सदस्य रामप्रसाद दाहाललाई कार्यबहाक दिएका हुन् । बिर्तामोड ८ का वडा सचिव समेत पक्राउ परेपछि वडा कार्यालय सचिव विहीन छ ।

बिर्तामोड ८ मा वडा ९ का सचिव सुवास विकले हेर्दै आइरहेका छन् । ‘जनताबाट प्रत्यक्ष निर्वाचित भएका वडाध्यक्ष नै नभएपछि काम गर्न थोरै गाह्रो हुँदोरहेछ’ भद्रपुर ९ का काब अध्यक्ष दाहालले भने, ‘जनताले आशा गरेर उहाँलाई वडाध्यक्षमा जिताएका थिए । तर, अहिले गम्भीर आरोपमा फरार हुनुहुन्छ ।’

बिर्तामोड ८ का काब अध्यक्ष भट्टराईले वडाध्यक्ष फरार रहे पनि जनताको कुनै काम नरोकेको बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको नागरिकता काण्डको फाइल भदौं १३ गते जिल्ला प्रहरीलाई जिम्मा लगाएको छ । प्रहरीले उक्त घटनामा मुछिएका सबैलाई ‘संगठित अपराध’ अन्तर्गत मुद्दा चलाउने तयारी समेत गरिरहेको छ ।

प्रकाशित : कार्तिक २, २०७६ १९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×