१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

राजेश मिश्र

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ मा र स्थानीय तहको उम्मेदवारी दर्ता कात्तिक २७ गते हुने भएको छ । तीनवटै तहका रिक्त ५२ पदका लागि एकैदिन मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले शुक्रबार उपनिर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनले प्रतिनिधिसभा/प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारको अवधि कम्तीमा १५ दिन तथा स्थानीय तहका लागि कम्तीमा ८ दिन हुनुपर्ने भनेकाले मनोनयन दर्ताको मिति अलग-अलग भएको बताए । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रचारप्रसारका लागि २५ दिनको समय दिइएको थियो । यसपटक प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रचारप्रसारका लागि १६ दिनको समय पाउनेछन् ।


प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयनपत्र दर्ताका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि अपराह्न साढे १ बजेसम्मको समय निर्धारण गरिएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयन दर्ता निर्वाचन हुने जिल्लाको सदरमुकामस्थित निर्वाचन कार्यालयमा हुनेछ ।


उम्मेदवारी मनोनयन भएकै दिन ३ बजेभित्र उम्मेदवारको सूची प्रकाशन गरिने, भोलिपल्ट २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशनको कार्यक्रम तोकिएको छ । उम्मेदवारी फिर्ता लिन कात्तिक २४ गते बिहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । २५ गते उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।


आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार स्थानीय तहतर्फ कात्तिक २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । त्यही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । २८ गते उम्मेदवारउपर उजुरी गर्ने, २९ गते नामावली प्रकाशन, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ ।


कात्तिक १ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिनेछ । स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् । यसअघि १५ दिनको समय पाएका थिए । प्रमुख आयुक्त थपलियाले विभिन्न रिपोर्टहरूले प्रचारप्रसारको समय बढी हुँदा निर्वाचन खर्च बढ्ने देखाएकाले त्यसलाई घटाइएको बताए । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रबाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । प्रदेशसभातर्फ भक्तपुर १ (१) र बागलुङ २(२) मा उपनिर्वाचन हुन लागेको हो ।


भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङबाट निर्वाचित टेकबहादुर घर्तीमगरको निधनपछि ती स्थान रिक्त भएका हुन् । त्यस्तै, प्रदेशसभा ५ मा निर्वाचित सदस्य उत्तरकुमार ओलीको निधनका कारण प्रदेशसभा निर्वाचन क्षेत्र दाङ ३(२) मा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?