कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भौतिकशास्त्र प्रथम सेमेस्टरको परीक्षा विवाद : उत्तरपुस्तिका नधुल्याउन निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सतर्कता केन्द्रले स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको परीक्षाको उत्तरपुस्तिका नधुल्याई सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ ।

भौतिकशास्त्र प्रथम सेमेस्टरको परीक्षा विवाद : उत्तरपुस्तिका नधुल्याउन निर्देशन

क्यान्टम मेकानिक्स विषयको पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको र परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको भन्दै विद्यार्थीले केन्द्रमा उजुरी दिएका थिए । उजुरीमाथि छानबिन गर्ने क्रममा केन्द्रले विवादित विषयको परीक्षा सम्बन्धमा त्रिविसँग जवाफसमेत मागेको छ । केन्द्रका प्रहरी नायब उपरीक्षक गणेशकुमार श्रेष्ठले त्रिविलाई काटेको पत्रमा विवादित परीक्षाको सन्दर्भमा के–कस्तो कारबाही भएको छ, जानकारी दिन आग्रह गरिएको छ ।


परीक्षार्थीले त्रिवि, अख्तियार, केन्द्र र शिक्षा मन्त्रालयमा पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै उजुरी दिएका थिए । त्रिविले प्राध्यापक सीताराम ब्याउतको संयोजकत्वमा गठन गरेको समितिले ४५ पूर्णांकको परीक्षामा ३५ अंक पाठयक्रम बाहिरबाट प्रश्न सोधिएको ठहर गरेको थियो । त्रिविले भने पाठयक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको भेटिए पनि छानबिन समितिको प्रतिवेदनविपरीत सोही परीक्षालाई वैधता दिएको थियो । विद्यार्थीको उजुरीलाई बेवास्ता गर्दै नतिजा प्रकाशन भइसकेको छ ।


विद्यार्थी आशिष पौडेललगायतले उत्तरपुस्तिका परीक्षणमा समेत अनियमितता गरिएको हुन सक्ने आशंकामा पुनः उजुरी दिएका थिए । उक्त विषयको प्रश्नपत्र परीक्षा समयभन्दा डेढ घण्टाअगावै बाहिरिएको विद्यार्थीको दाबी छ । गत पुस २९ गते काठमाडौंको महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलमा प्रश्नपत्र आउट भएको विद्यार्थीले बताए । पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएपछि विद्यार्थीले परीक्षा हलभित्रै विरोध गरेको पौडेलले जनाए । बाँडिसकेको प्रश्नपत्र संकलन गरेर पुनः डेढ घण्टापछि त्यही प्रश्नपत्रका आधारमा परीक्षा लिइएको विद्यार्थीको गुनासो छ ।


परीक्षा समितिले प्रश्न पाठ्यक्रम भित्रबाट भए/नभएको भौतिकशास्त्र केन्द्रीय विभागलाई सोधेको थियो । विभागका प्रमुख विनिल अर्यालले पाठ्यक्रम भित्रैबाट सोधिएको लेखी पठाएका थिए । सोही आधारमा परीक्षा समितिले नतिजा प्रकाशन गरेर ०७६ सालको परीक्षासमेत सञ्चालन गरिसकेको छ । सतर्कता केन्द्रले छानबिन गरिरहेकै बेला गत वैशाख ११ गते नतिजा प्रकाशन गरिएको थियो । विद्यार्थीले त्रिविमा तालाबन्दी गरेपछि मात्रै ब्याउतको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले ४५ पूर्णांकमा ३५ को बाहिरको, ५ अंक पाठयक्रमभित्रको र ५ अंकको दोहोरो अर्थ लाग्ने प्रश्न सोधिएको प्रतिवेदन दिएको थियो ।


विद्यार्थीले उक्त प्रतिवेदनका आधारमा दोषीलाई कारबाही र पुनः परीक्षाको माग गरेका छन् । ‘शिक्षाध्यक्ष, उपकुलपति दुवैले कारबाही गर्न चासो दिएनन्,’ पौडेलले भने, ‘परीक्षा रद्द नगरी अर्को वर्षको परीक्षा सञ्चालन गरेर अनियमिततालाई बैधता दिइयो ।’


०७५ को ब्याचका विद्यार्थीको विरोधका बाबजुद २०७६ को परीक्षा गत भदौ ५ गते सञ्चालन गरिसकिएको छ । शिक्षा मन्त्रालयले समेत विवादित परीक्षाका विषयमा कारबाही गर्न त्रिविलाई पत्राचार गरेको थियो । ‘कुनै पनि निकायको निर्देशन त्रिविले मानेको छैन, दोषीलाई कारबाही पनि भएन, विद्यार्थी पीडित भइरहेका छन्,’ उनले भने, ‘कैफियत देखिएको परीक्षा बदर गरिएन ।’ त्रिवि उपकुलपति सुधा त्रिपाठी भने परीक्षामा भएको विवादका विषयमा आवश्यक कारबाही गर्न डिन कार्यालयलाई निर्देशन दिएको भन्दै पन्छिएकी छन् ।

प्रकाशित : कार्तिक १, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?