एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी- समाचार - कान्तिपुर समाचार

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले पन्त अध्यक्षमा विजयी भएको जानकारी दिए । पन्तको प्रतिद्वन्द्वी कुल आचार्य थिए । एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान भएको थियो ।

निर्वाचन समितिका सदस्य पाण्डेका अनुसार अध्यक्षमा विजयी पन्तले १ हजार २१७ मत पाएका छन् । प्रतिद्वन्द्वी आचार्यले १ हजार ७० मत प्राप्त गरे ।


चार उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, बद्री केसी, मन केसी र सोनाम लामा निर्वाचित भए । महिला उपाध्यक्षमा रविना थापा विजयी बने भने महासचिवमा हेमराज शर्माले जितेका छन् ।


४१ पदाधिकारीको लागि मतदान भएको थियो । ४१ पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए ।


बुधबार राति इलेक्ट्रोनिक भोटिङ हुने भने पनि मेसिन बिग्रिएको भन्दै शुक्रबार १० बजेदेखि मतदान सुरु गरिएको थियो ।


कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेकाअनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो।


बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रँदा मतपत्रको आधारमा मतदान गरिएको थियो।

प्रकाशित : कार्तिक १, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

उपचारमा सहयोग

कान्तिपुर संवाददाता

परासी — पत्रकार अर्जुन बोहराको उपचारका लागि नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले १० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ  । पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्षसमेत रहेका बोहराको मस्तिष्क घात भई काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालको आईसीसीयूमा उपचार भइरहेको छ  ।

दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका बोहराको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि महासंघ केन्द्रीय समितिले अपिल गरेपछि रकम उपलब्ध गराएको जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताए । जिल्ला शाखाले स्थानीय तहको आर्थिक सहयोगमा सञ्चालन गरेका पत्रकार क्षमता अभिवृद्धि तालिमहरूबाट बचत भएको कोष रकमबाट सहयोग उपलब्ध गराएको हो ।

उक्त रकम पत्रकार बोहराको दाजुको बैंक खातामा पठाइएको शाखाले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×