३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

मधु शाही

(बाँके) — निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोबलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् । 

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिनअघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक (सइ) बमबहादुर रानाले करणी प्रयास गरेको आरोप लगाएकी हुन् । केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार पहिले दुवै जनाबीच शंकास्पद गतिविधि देखिएको थियो । गत असोज २६ गते ब्यारेकस्थित गर्ल्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ । डीएसपी न्यौपानेले महिला संवेदनशीलतालाई महत्त्व दिँदै त्यसै दिन जिल्ला प्रहरी प्रशासनमा उजुरी दिन सघाएको बताए । ‘पीडितले आफैं निवेदन लेखेकी छन्,’ उनले भने, ‘हामीले तुरुन्त दर्ता गर्न सहयोग गर्‍यौं ।’


डीएसपी न्यौपानेका अनुसार तालिमका क्रममा ती जवान निराश देखिन्थिन् । केन्द्रकै महिला अधिकृतमार्फत उनी निराश देखिनुको कारण बुझ्न लगाएको न्यौपानेले सुनाए । त्यसपछि पीडितले पीडक भिनाजु नाता पर्ने र नेपालगन्जमा उनीसँगै कोठामा बसेर प्रहरीको तयारी गरेको खुलाइन् । सँगै बस्दा पनि पीडितमाथि दुर्व्यवहार गर्दै आएको खुलेको डीएसपी न्यौपानेले सुनाए । तालिम लिने क्रममा केन्द्रमै यस्तो घटना दोहोरिएपछि आजित भएर उजुरी दर्ता गरेको प्रहरी अधिकृतले बताए ।


जिल्ला प्रहरीले रानालाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाएको जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी शिव सिंहले पीडित र पीडक नातामा साली–भेना पर्ने बताए । ‘तालिम अवधिभर प्रशिक्षार्थीलाई मोबाइल चलाउने अनुमति छैन,’ उनले भने, ‘पीडित महिलाले दिएको लिखित बयानअनुसार घरमा आमाबुबालाई फोन गर्न आऊ भन्दै सई रानाले ब्यारेकको कोठामा बोलाएका रहेछन् ।’ कोठाभित्र पस्नेबित्तिकै आरोपितले कोठाको चुकुल लगाएर हात समाउन खोजेको पीडितले बयानमा उल्लेख गरेकी छन् । छोरीले उजुरी दिएलगत्तै घरबाट बाबुआमा पनि जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।


डीएसपी सिंहले घटनाको अनुसन्धान र छानबिन नगरी सत्यतथ्य पत्ता नलाग्ने भन्दै परिवारलाई सम्झाएको बताए । ‘परिवारले घटनामाथि विश्वास गरेका छैनन्,’ उनले भने, ‘हामीले पीडितको उजुरी सुनेर अनुसन्धान थालेका छौं ।’ मिडियामा बलात्कार भएको उल्लेख गरेर आएका समाचार तथ्यपरक नभएको सिंहले बताए । ‘जबर्जस्ती करणी गर्न खोजेको भन्दै पीडितले उजुरी दिएकी हुन्, त्यसैका आधारमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘बलात्कार हुनु फरक कुरा हो ।’


पीडित महिला तीन महिनादेखि प्रहरी जवानको प्रशिक्षणमा छन् । तालिममा सक्रिय उनीसँग भेट्न कसैलाई पनि दिइएको छैन । केन्द्रका डीएसपी न्यौपानेले पीडित आफैंले कसैसँग भेट्न नचाहेकाले अनुमति नदिएको बताए । ‘उहाँले आफन्तलाई समेत भेट्न चाहनुभएको छैन,’ डीएसपी न्यौपानेले भने ।


प्रकाशित : कार्तिक १, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?