यसरी घेराबन्दीमा परे चन्द समूहका २१ नेता

दुर्गालाल केसी

(दाङ) — नेत्रविक्रम चन्द समूहका नेताहरू बबई गाउँपालिकाको पुरन्धाराबाट अमिलिया हुँदै नेपाल–भारत नाका क्षेत्रमा दुई दिनअघि नै प्रवेश गरेका थिए । उनीहरू बुधबार राजपुर गाउँपालिका–४, मुग्रेठा खोलास्थित जंगलको बीचमा मानिस नबस्ने गरेको ज्ञानेन्द्र वलीको घरमा पुगे । त्यही घरमा बास बसे । राति बैठक गरे । मध्यरातसम्म बैठक गरेका चन्द समूहका नेता त्यसपछि ढुक्कैले सुते । उनीहरूले आफ्नो सुरक्षार्थ केहीलाई सेन्ट्रीमा खटाएका थिए । 

यसरी घेराबन्दीमा परे चन्द समूहका २१ नेता

चन्द समूहको यो योजना र गतिविधिबारे प्रहरीले पहिल्यै सूचना पाइसकेको थियो । सूचना पाएलगत्तै प्रहरी सादा पोसाकमा परिचालित भए । उनीहरू करिब ६ किलोमिटर पर पर्ने राजपुरको मतियानी खोलासम्म गाडीमा गए । त्यसपछि सडक नभएकाले तीन घण्टा पैदलै हिँडेर बैठकस्थल पुगे ।


रातको १ बजेको थियो । प्रहरीले घर घेरा हाल्यो । त्यसक्रममा सेन्ट्रीमा बसेका चन्द समूहका सात/आठ जना हतियारसहित भागे । नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुरसहित २१ नेता पक्राउ परे । चन्द्रबहादुर केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो र मध्यपश्चिम कमान्ड इन्चार्ज हुन् ।


जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहका अनुसार पक्राउ परेका अन्यमा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा, संयोजक रामबहादुर थापा, कार्यालय सचिव सबिन पोखरेल, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाल, जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठनका केन्द्रीय अध्यक्ष बबिन केसी, बुद्धिजीवी संगठनका सदस्य सुनील पौडेल, जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी र राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहरा छन् । राष्ट्रिय दलित मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, राप्ती ब्युरोका सदस्य तिलक पुन, हितप्रसाद रोका, पोस्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जित क्षत्री, रमेश आचार्य, विष्णु थापा र कुलबहादुर वली पनि सँगै पक्राउ परे ।

यी सबैलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गढवाका साथै प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी घोराही र वडा प्रहरी कार्यालय लमहीबाट समेत गरी करिब ६० प्रहरी परिचालित थिए । ‘उनीहरूलाई थप मद्दत गर्न डीएसपी ईश्वरी भट्टको नेतृत्वमा २१ जनाको सशस्त्र प्रहरी टोली पनि खटाइएको थियो,’ सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई गण भालुबाङका निमित्त गणपति डीएसपी रोम कार्कीले भने ।


पक्राउ परेका सबैलाई राति हिँडाउन समस्या भएपछि बिहानपख थप बल मगाएर मात्रै सदरमुकाम घोराही ल्याइएको थियो । घोराहीबाट सशस्त्र प्रहरीका सई योगेन्द्र हमालको नेतृत्वमा थप १३ जनाको अर्को टोली समेत परिचालन गरिएको थियो ।


जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईका अनुसार पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको छ । ‘सबै नेताले नाम, ठेगाना गलत भनिरहेका छन्’ उनले भने, ‘प्रस्ट कुरा नगरेकाले विस्तृत विवरण लिन समय लागेको छ।’

मुग्रेठा खोलाको जंगल क्षेत्र नेपाल–भारत सीमामा पर्छ । सीमा क्षेत्र विद्रोहीका लागि सुरक्षित मानिन्छ । बैठकस्थल गढवा गाउँपालिकाको केन्द्रबाट १५ किलोमिटरभित्र पर्छ । सीमा क्षेत्र सशस्त्र द्वन्द्वबा बेला तत्कालीन माओवादीले पनि सुरक्षित स्थलका रूपमा प्रयोग गर्दै आएको थियो । सडक र यातायातको पहुँच नहुनुका साथै नेपाल र भारत दुबैतिर घना जंगल भएकाले त्यस क्षेत्रलाई चन्द समूहले सुरक्षित स्थलका रुपमा रोजेको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित : कार्तिक १, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?