१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खातुनमाथि एसिड प्रहार गर्ने सुधार गृहमा

माजिद मियाँ र सम्साद मियाँको उमेर नपुगेकाले पुर्पक्षका लागि कारागार नपठाउने अदालतको निर्णय
भूषण यादव

वीरगन्ज — जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको छ ।

खातुनमाथि एसिड प्रहार गर्ने सुधार गृहमा

जिल्ला न्यायाधीश प्रकाश खरेलको एक नम्बर इजलासले अनुसन्धानका क्रममा उमेर पुगेको प्रमाण पेस नभएकाले बाल सुधार गृहमा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए ।


जिल्ला प्रहरी कार्यालय पर्साले खातुनमाथि एसिड प्रहार गरेका माजिद मियाँ र सम्साद मियाँलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी सम्सादले गत भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए ।


प्रहरीले सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेको अभियोजन पत्रमा मुलुकी अपराध संहिता २०७४ को दफा ४५(४), मुलुकी अपराध संहिता २०७४ को दफा १८३(२), १९३(२) र बालबालिका ऐन २०७५ को दफा ३६(४) बमोजिम सजाय माग दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका मुद्दा फाँटका एक अधिकृतका अनुसार ज्यान मार्ने उद्योगमा १० वर्ष कैद र एसिड प्रहार गरी कुरूप बनाएकाले ८ वर्ष कैद माग दाबी गरिएको छ । यसैगरी एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म क्षतिपूर्तिको मागसमेत गरिएको ती अधिकृतले जनाए ।


अदालतका स्रेस्तेदार अधिकारीका अनुसार अभियोजन पत्रमा माजिदको उमेर १९ र सम्सादको उमेर १८ वर्ष उल्लेख छ । नारायणी अस्पतालले शारीरिक परीक्षण गरी उपलब्ध गराएको उमेरको प्रमाणपत्रमा सम्सादको १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष देखिएको छ । अभियुक्तले पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा माजिदको उमेर १४ र सम्सादको १२ वर्ष देखिएको छ । ‘अहिलेसम्म पेस भएका सबुत प्रमाणले उनीहरू दोषी देखिएका छन्,’ न्यायाधीश खरेलले भने, ‘तर उमेर नपुगेकाले कारागार पठाउन सकिएन ।’ खरेलका अनुसार सर्वोच्च अदालतले शारीरिक परीक्षण भई आउँदा १४ देखि १६ वर्षको बीचमा भनेको छ भने अघिल्लो उमेरलाई मान्नुपर्ने व्याख्या गरेको छ । सर्वोच्चको नजिरका आधारमा सम्सादको १६ वर्ष र माजिदको १८ वर्ष उमेर देखिएको छ । एसिड बिक्री गर्ने वीरगन्ज महानगरपालिका– ६ निवासी मनीष मण्डललाई प्रहरीले मतियार बनाएको छ । मण्डल फरार छन् । एसिड प्रहारबाट घाइते भएकी खातुनको काठमाडौंमा उपचार भइरहेको छ ।


त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुनलाई स्कुल जाँदा बाटोमै रोकेर एसिड प्रहार गरिएको थियो । प्रहरीका अनुसार सम्सादले साथी माजिदको सल्लाहमा एसिड प्रहार गरेको बयान दिएका छन् । सम्साद र माजिद मिल्ने साथी हुन् । सम्सादले दिएको बयानअनुसार ५ महिना अगाडिदेखि माजिदले खातुनलाई पछ्याइरहेका थिए ।


माजिदको प्रेम प्रस्ताव खातुनले अस्वीकार गरेकी थिइन् । एसिड हाल्ने योजना भदौ १९ गते राति बनेको थियो । ‘सम्साद र माजिदले घटनाको अघिल्लो राति करिब एक बजेसम्म छपकैयामा भइरहेको गणेश चतुर्थी पूजा हेरेका थिए,’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यहाँबाट उनीहरू गणेशमान चोकमा रहेको सैलुनमा सुतेका थिए । सैलुनमा सम्साद पार्ट टाइम काम गर्थे, सैलुनको एउटा साँचो उनीसँगै हुन्थ्यो ।’


भोलिपल्ट बिहान उठेर उनीहरू मालपोत चोकमा रहेको एक चिया पसलमा गएर चिया खाएपछि खातुनलाई कुरेर बसेका थिए । खातुन आएपछि सम्सादले भाभी (भाउजू) भन्दै रोके । ‘भाभी माजिदसँग किन नबोलेको ?’ भनेर उनले सोधे । ती अनुसन्धान अधिकृतका अनुसार ‘मलाई स्कुल जान ढिला भो’ अगाडि बढ्न खोज्दा खातुनमाथि सम्सादले जगमा रहेको एसिड उनको शरीरमा फ्याँकेका थिए ।


प्रत्यक्षदर्शी र सैलुन सञ्चालकको बयानका आधारमा एसिड प्रहार गर्नेको पहिचान भएको थियो । घटनाकै दिन दुवैलाई प्रहरीले छपकैयाबाट नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?