सांसद गुरुङविरुद्ध यस कारण मुद्दा

राजेन्द्र मानन्धर

दोलखा — गत स्थानीय निर्वाचनका बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा कुटपिटबाट कुलबहादुर तामाङको मृत्यु भयो । घटनामा तत्कालीन नेकपा माओवादीका ३९ जना नेता, कार्यकर्ता र समर्थकलाई विपक्षी बनाई दोलखा जिल्ला अदालतमा मुद्दा दायर भयो ।

सांसद गुरुङविरुद्ध यस कारण मुद्दा

त्यसमा पूर्वराज्यमन्त्री देवी खड्का र हालका ३ नम्बर प्रदेश सांसद विशाल खड्कासहितको नाम थियो । निर्वाचनका दिन मत नहालेरै उनीहरू फरार भएका थिए । जिल्ला अदालत दोलखाले उक्त मुद्दाका आरोपितहरूलाई सफाइ दिइसकेको छ ।


उक्त हत्याकाण्डको प्रतिकारका रुपमापछि जुँगुका वीरध्वज खड्कामाथि हमला भयो । त्यही घटनालाई लिएर तत्कालीन नेकपा एमालेका नेता पार्वत गुरुङविरुद्ध ज्यान मार्ने प्रयाससम्बन्धी मुद्दा दर्ता भयो । अदालतले हाजिर हुने म्याद सांसद गुरुङको जन्म घर गौरीशंकर गाउँपालिका सुरीमा पठाएको थियो ।


उक्त म्याद प्रहरीले गाउँपालिकामा बुझाएपछि मुद्दाबारे थाहा पाएको सांसद गुरुङले बताए । घटनामा संलग्न नभएकाले उक्त मुद्दाबारे चासो नदिई बसेको पनि उनले बताए । ‘म दोलखाको कार्यक्रममा मन्तव्य दिएको दिन काठमाडौंमा भएको घटनामा संलग्न भन्दै ज्यान मार्ने उद्योगको मुद्दामा मेरा नाम मुछिएछ,’ सांसद गुरुङले दाबी गरे । उनले अदालतलाई सम्मान गर्दै समयमै हाजिर हुन जाने पनि बताए ।


गत वैशाख २९ मा दायर मुद्दामा गुरुङसहित सात जनालाई प्रतिवादी बनाइएको छ । सांसद गुरुङ त्यतिखेर प्रहरीलाई दबाब दिएर किटानी जाहेरी हालिएको दाबी गर्छन् । पछि प्रहरीले गुपचुपमै मुद्दा दर्ता गराएको पनि उनले आरोप लगाए । ‘राजनीतिक मुद्दा हो । बाहिर हल्ला आएजस्तो नभएकाले अदालतमा कुरा राख्छु,’ उनले भने ।


पूर्वएमाले र माओवादी केन्द्रबीच एकता भइसकेपछि वादी–प्रतिवादीमा मिलाप रहेकाले गुरुङ आफूविरुद्धको ज्यान मार्ने मुद्दालाई बेवास्ता गरी बसेका थिए । दुवैतर्फका नेताले जुँगुको ज्यान मरेको घटना र काठमाडौंको कुटपिट घटनालाई ‘तैं चुप मै चुप’ को अवस्थामा पुर्‍याएका थिए ।


उक्त दुवै आपराधिक घटना भइसकेपछि मुद्दा दर्ता गराउन कानुनीभन्दा पनि राजनीतिक दबाब परेको थियो । दुवै घटनामा अपराधमा प्रत्यक्ष संलग्न व्यक्तिलाई भन्दा पनि नेतालाई फसाउने दाउ रचिएको थियो । तामाङ हत्याको घटनामा आरोप खेपेकी पूर्वराज्यमन्त्री देवी खड्का आपराधिक घटनालाई राजनीतीकरण गर्ने र नेतालाई फसाउन खेलले घटनामा संलग्न नभएका व्यक्तिहरूले दु:ख पाइरहेको बताउँछिन् । ‘मुद्दा प्रक्रिया पूरा गरी मैले सफाइ पाएँ । त्यस्तै घटनामा अदालती प्रक्रियामा पार्वत गुरुङ हुनुहुन्छ,’ उनले भनिन् ।


२० वर्षअघिको माओवादी द्वन्द्वकालीन एउटा हत्या घटनामा दोलखा पूर्वमाओवादी नेता शंकर लामा पक्राउको सूचीमा छन् । त्यहीँ अदालत परिसरबाट माला लगाउँदै २०७० सालको संविधानसभा निर्वाचनमा सभासदको चुनाव चिह्न बुझेर मैदानमा उत्रिएका लामा अहिले कानुनबाट छलिँदै हिँडेका छन् । वास्ता नगरी राखिएको हत्या घटनाको जाहेरीका आधारमा प्रहरीले २० वर्षभित्र अदालत पठाउनै पर्ने कानुनी प्रावधानअनुसार लामाविरुद्ध मुद्दा दायर गरेको थियो ।


यो पनि पढ्नुहोस्:

सांसद पार्वत गुरुङलाई पक्राउ म्याद

प्रकाशित : आश्विन ३०, २०७६ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?