कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रेमीबाट नछुट्टिन गर्भ

ठाकुरसिंह थारु

बर्दिया — पन्ध्र वर्षीया उनको पेटमा बच्चा छ । परिवारले हराएको भन्दै उनको खोजीका लागि प्रहरीमा निवेदन दियो । खोजीका क्रममा हराएको नभई बालविवाह गरेर लुकेको प्रहरीले पत्ता लगायो ।

प्रेमीबाट नछुट्टिन गर्भ

सम्पर्कविहीन अवधिमा उनले गर्भधारण गरिन् । कानुनले २० वर्ष उमेर नपुग्दासम्म बिहेवारीमा रोक लगाएको छ । बालविवाह सम्भव नभएपछि लुकेर यस्ता घटना हुन थालेका छन् ।


यहाँ उमेर नपुगेर भएका विवाहमा प्रहरीले एकले अर्कालाई छुटाएर अभिभावकको जिम्मा लगाउने गरेको छ । त्यसरी अलग्गिनु नपरोस् भनेर गर्भ बोक्ने गरेको अनुसन्धानबाट खुलेको छ । ‘यस्तो समस्या मुलुकभरि फैलिसकेको छ । कम उमेरमा बिहे गरेर भाग्ने घटना बढेका छन्,’ जिल्ला प्रहरी बर्दियाका निमित्त प्रमुख डीएसपी रामशंकर कोहारले भने, ‘भागेर बिहे गरेका किशोरी खोजेर परिवारलाई बुझायो, केही दिनमा फेरि भाग्छन् ।’ पहिले उमेर नपुगेरै बिहे गरिदिने चलन थियो । अभिभावले सन्तानको मन्जुरी नलिई विवाह गरिदिन्थे । अभिभावकको मन्जुरीबिना किशोरकिशारीले भागेर विवाह गर्न थालेका छन् ।


उनीहरूलाई कानुनी व्यवस्थाबारे जानकारी छ । तर, प्रेम नटुटाउने नाममा बालविवाह विकराल बन्दै गएको छ । यस क्रममा कतिपय किशोरकिशोरी भारततर्फ भाग्ने गरेका छन् । त्यहाँबाट सन्तान जन्माएर फर्केका उदाहरण छन् । ‘किशोरकिशोरी हराएका उजुरी प्रदेश ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आउने गरेका छन् । त्यसक्रममा खोज्दै जाँदा फेला परेका कतिपय किशोरीले गर्भ बोकिसकेका थिए । केही त बच्चा हुर्काइरहेका भेटिए ।


यस्तो अवस्थामा के गर्ने भन्ने समस्या छ,’ बाँकेका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर वलीले भने, ‘यस्तो जटिल अवस्थाका किशोरीलाई आमाबुबाको जिम्मा लगाउने कि के गर्ने समस्या छ । हामीकहाँ उनीहरूलाई राख्ने सेल्टर पनि छैनन् ।’ उनका अनुसार प्रहरीले छुटाएर अभिभावकको जिम्मा लगाउन थालेपछि किशोरकिशोरीले गर्भ बोक्ने विकल्प रोजेका हुन् ।


केही दिनअघि एक अभिभावकले पाँच महिनादेखि छोरी हराएकाले खोजिदिन उजुरी दिए । बर्दियाकी ती किशोरी नेपालगन्ज नाका भएर भारत जाने क्रममा सम्पर्कविहीन भएको जानकारी मिल्यो । प्रहरीले भारतीय समकक्षीको सहयोगमा खोजतलास सुरु गर्‍यो ।

उनी भेटिइन् । तर, किशोरीको अवस्था सामान्य थिएन । उनी दुई महिनाकी गर्भवती थिइन् । ‘एक/दुई घटना मात्र छैनन् । नेपालगन्ज मुख्य नाका भएर होला, यस्ता घटना दिनहुँ बाहिर आइरहेका छन् । किशोरीसँग सोधपुछ गर्दा प्रेमीसँग नछुट्टिनका लागि यसो गरेको भन्छन्,’ एसपी वलीले भने, ‘यस्तो अवस्थामा उनीहरूलाई कसरी छुटाउनु † नछुटाए कानुनको उल्लंघन हुन्छ ।’ अभिभावकले पनि गर्भवती भएको जानकारी पाएपछि छोरी जिम्मा लिन आनाकानी गर्छन् ।


कानुनअनुसार तोकिएभन्दा कम उमेरका केटाकेटीको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । र, यस्तो विवाह स्वत: बदर हुने व्यवस्था छ । बहुविवाहको सजायमा दोषीलाई एक वर्षको बदला पाँच वर्षसम्म कैद हुन सक्ने प्रावधान प्रचलित कानुनमा छ । प्रदेश ५ मा भने बालविवाहको अवस्था विकराल देखिएको छ । ०६८ को जनगणना अनुसार साबिक मध्यपश्चिमाञ्चल क्षेत्रमा ५३ प्रतिशत बालविवाह हुने गरेको अभिलेख छ ।


त्यससँगै पूर्वाञ्चलमा ३४, मध्यमाञ्चलमा ४०, पश्चिमाञ्चलमा ३६ र सुदूरपश्चिमाञ्चलमा ४८ प्रतिशत बालविवाह हुने गरेको छ । ‘अहिले एक दिनमै दुई/तीन बालविवाहका घटना हामीकहाँ आउँछन् । उमेर नपुगेकालाई सम्झाइबुझाई अभिभावकको जिम्मा लगाउँछांै,’ जिल्ला प्रहरी बर्दियास्थित महिला सेलकी प्रमुख मीना तामाङले भनिन्, ‘कतिपय केस गम्भीर अवस्थाका आउँछन्, जसले हामीलाई नै समस्यामा पार्ने गरेका छन् ।’


मुलुकी ऐन, २०२० जारी हुदाँ १४ वर्ष नपुगेकी किशोरी र १८ वर्ष नपुगेको लोग्ने मानिसले विवाह गर्न नपाउने व्यवस्था थियो । त्यसयता १६ वर्ष कायम गरियो । तत्पश्चात् मुलुकी ऐनको ११ औं संशोधनबाट महिला र पुरुष दुवैको उमेर संरक्षकको मञ्जुरीले १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष तोकियो । पछिल्लोपटक ऐन संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ ।


उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा बालबालिकाको उमेरअनुसार बढीमा तीन वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले आठ महिनायता करिब ६ सय महिला हराएको भन्दै खोजीका लागि निवेदन परेको बताए । तीमध्ये ८७ जना फेला परेका छन् । हराएकामा अधिकांश किशोरी छन् । ‘हामीसँग पनि महिला हराएको भन्दै खोजतलासका लागि निवदेन आउँछ ।

कतिपय किशोरी हुन्छन् । खोज्दै जाँदा बालविवाह गरेर भारत पसेका भेटिन्छन्,’ उनले भने । पहिले अभिभावकले पुण्य प्राप्त हुने परम्परागत विश्वास तथा छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जाने भन्दै सानो उमेरमै विवाह गरिदिने चलन थियो । अहिले अवस्था उल्टो छ । किशोरकिशोरी आफैं भागेर विवाह गर्नाले चुनौती थपिएको छ ।

प्रकाशित : आश्विन ३०, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?