१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान जारी [अपडेट]

विमल खतिवडा

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका मतदान जारी छ । उच्च सुरक्षाबीच काठमाडौंको हायात होटलमा बिहीबार बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो । होटल परिसरमा मतदाताहरु लामो लाइन लागेको छ ।

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान जारी [अपडेट]

बुधबार साँझ ८ बजे एकजना मतदाताले भोट हालेपछि भोटिङ मेसिनले काम नगरेको भन्दै स्थगित गरिएको थियो ।


निर्वाचन समिति सदस्य कुलप्रसाद पाण्डेले मतपत्रका आधारमा मतदान भइरहेको कान्तिपुरलाई जानकारी दिए ।


एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बुधबार ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका हुन् । बिहान ८ बजेबाट मध्याह्न १२ बजे सम्मका लागि मनोनयन दर्ता खुला गरिएको थियो । मनोनयन दर्ता सकिएसँगै साँझ नै मतदान हुने तय गरिएको छ । अध्यक्ष पदमा अन्तिम समयसम्म प्रयास भए पनि सहमति भने हुन सकेन । निर्वाचन समितिका सदस्य पाण्डेका अनुसार कुमार पन्त र कुल आचार्यको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । त्यस्तै चार जना उपाध्यक्षका लागि नौजनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र केशव पौडेलको उम्मेदवारी परेको हो ।


एक महिला उपाध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ ।


त्यस्तै एक महासचिव पदका लागि जानकी गुरुङ र हेमराज शर्माको उम्मेदवारी परेको हो । दुई सचिव पदमा दीपकप्रसाद ओली, सुष्मा लिम्बू, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारीले सचिवमा उम्मेदवारी दिएका हुन् ।


एक कोषाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । सोमनाथ सापकोटाले साँझ उम्मेदवारी फिर्ता लिएका छन् । सापकोटाले फिर्ता लिएसँगै कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सुदन थापाको प्रतिस्पर्धा हुने भएको छ । सह कोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै एक महिला संयोजकका लागि चारजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराउनेमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु, संगीता मरहठ्ठा शर्मा र जुनु गुरुङ छन् । युवा संयोजकमा एक पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।


हिमाल गुरुङ, स्वतन्त्र प्रताप शाह र सुदीप कार्कीले युवा संयोजक पदका लागि उम्मेदवारी दिएका हुन् । त्यस्तै क्षेत्रीय संयोजक, उपसंयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजकमा निर्वाचन हुनेछ । निर्वाचन कमिटीका अनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय युवा संयोजक (अफ्रिका) का लागि उम्मेदवारी परेन । विभिन्न देश र प्रशान्तको क्षेत्रीय संयोजक, उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी परेको छ । निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार मनोनयन दर्ता सकिएर उम्मेदवारलाई नाम फिर्ताका लागि चार बजेसम्मको समय दिइएको थियो । ‘सुरुमा ७७ जनाको उम्मेदवारी परेको थियो,’ निर्वाचन समितिका सदस्य पाण्डेले भने, ‘अन्तिम समयमा दुईजनाले नाम फिर्ता लिएका छन्, उम्मेदवारको संख्या ७५ पुगेको छ ।’


मंगलबारबाट चाबहिलस्थित हयात होटलमा सुरु सम्मेलनमा दोस्रो दिन बुधबार उम्मेदवार भोट माग्न व्यस्त देखिन्थे । कोही व्यक्तिगत रूपमा त कोही प्यानल बनाएर मैदानमा गीत गाउँदै आफ्नो पक्षमा माहोल बनाउन दिनभर व्यस्त रहे । होटलमा विभिन्न पार्टीका नेताकार्यकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो । आफूनिकट उम्मेदवारको फोटोसहितको प्लेकार्ड बोकेर भोट माग्न व्यस्त देखिन्थे ।


लम्बिँदै चुनाव

प्राविधिक कारणले बुधबारको चुनाव स्थगित भएसँगै एनआरएनएको सम्मेलन लम्बिने देखिएको छ ।


मंगलबार सुरु भएको सम्मेलन आज सकिने कार्यक्रम थियो । निर्वाचन समिति सदस्य पाण्डेले मतदान समयमै भए आजै राति नतिजा आउने नत्र भोलि मात्रै नतिजा सार्वजनिक हुने बताए । सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट २५ सय प्रतिनिधि सहभागी छन् ।


प्रकाशित : आश्विन ३०, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?