१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजपा महाधिवेशन फेरि सर्ने

कुलचन्द्र न्यौपाने

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले तेस्रोपटक तोकिएको मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएको छ । कात्तिक २८–३० सम्म महाधिवेशनको मिति तोकिएको थियो । अहिलेसम्म तयारी अघि नबढेकाले चौथोपटक मिति तोक्न पार्टीभित्र छलफल सुरु भएको छ ।

राजपा महाधिवेशन फेरि सर्ने

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कात्तिक ३ गते बस्ने अध्यक्ष मण्डलको बैठकले तोकिएको मितिमै महाधिवेशन गर्ने या सार्ने निर्णय लिने बताए । तयारीबिनै महाधिवेशन सम्भव छ र ? भन्ने प्रश्नमा उनले भने, ‘असम्भव छैन तर औपचारिक निर्णय अध्यक्ष मण्डलको बैठकले मात्रै गर्न सक्छ ।’


पछिल्लोपटक पार्टीले महाधिवेशन तयारी अघि नबढाउनुका पछि समाजवादी पार्टीसँग एकताको प्रसंग मुख्य कारण हो । समाजवादी र राजपाबीच एकीकरणका लागि लामो समयदेखि अनौपचारिक संवाद चलिरहेको छ ।


अध्यक्षमण्डलका नेताहरूमध्ये महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले महाधिवेशनभन्दा पार्टी एकतालाई प्राथमिकता दिँदै आएका छन् । महाधिवेशनपछि एकीकरणमा जटिलता थपिने उनीहरूको निष्कर्ष छ । अध्यक्ष मण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादव भने एकीकरणअगावै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।


०७४ वैशाखमा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस समाजवादी, अनिल झा नेतृत्वको नेपाल सद्भावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकबीच एकीकरण भई राजपा बनेको थियो । केन्द्रमा एकीकरण भए पनि पार्टीका तल्ला तहमा अझै ६ दलकै संरचना कायम छन् । गत वैशाखमा तत्कालीन संघीय समाजवादी र नयाँ शक्तिबीच एकीकरण भई बनेको समाजवादी पार्टी र राजपा दुवैले एकता महाधिवेशन गर्नुपर्ने भएको छ । एकता महाधिवेशनमा जानुअघि एकीकरण गर्दा सहज हुने बुझाइ राजपाका चार नेताको छ । ‘महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यले आफ्नो पोजिसन छोड्न कठिनाइ हुन्छ, पार्टीका सबै संरचनाको समायोजन गर्न पनि कठिन हुन्छ,’ राजपाका अर्का एक नेता भन्छन्, ‘अब दुवै पार्टीबीच एकीकरणका लागि निर्णायक वार्ता हुने भएकाले महाधिवेशनको मिति सार्नेबारे छलफल भइरहेको छ ।’


महासचिव केशव झाले नियमित प्रक्रियामा महाधिवेशन गर्न असम्भव भएकाले केही समयका लागि सार्नुपर्ने देखिएको बताए । ‘एकीकरण भएन भने पनि मिति सार्नुको विकल्प अब छैन,’ उनले भने । ४८ जिल्लामा राजपाको संगठन छ । महाधिवेशन तयारीका सिलसिलामा करिब ८ लाख सदस्यता वितरण गरिएको दाबी गरेको छ ।


सदस्यता वितरण गरे पनि तल्ला तहका संरचनाको अधिवेशनको तिथि अहिलेसम्म तोकिएको छैन । केन्द्रीय महाधिवेशन गर्न कम्तीमा वडा र निर्वाचन क्षेत्रीय कार्यसमितिको अधिवेशन हुनुपर्छ । यी दुई अधिवेशनबाट केन्द्रीय महाधिवेशनका प्रतिनिधि चुनिन्छन् ।


नेता महतोले कात्तिकभित्र समाजवादी पार्टीसँग एकता हुने/नहुने टुंगो लाग्ने बताए । ‘एकताका लागि दुवै पक्षबीच भएका अनौपचारिक संवाद सकारात्मक छन् तर परिणाम ननिस्केसम्म सकारात्मक संवादले मात्रै अर्थ राख्दैन,’ उनले भने, ‘अब एक महिनाभित्र हामी एकता हुने/नहुने छिनोफानो गर्छौं । एकीकरण भयो भने एकता महाधिवेशन हुन्छ । भएन भने राजपाको महाधिवेशन अघि बढ्छ ।’


महाधिवेशनपछि मात्रै पार्टी एकीकरण गर्नुपर्ने अडानमा रहँदै आएका नेता झाले भने महाधिवेशनका बारेमा कुनै टिप्पणी गर्न चाहेनन् । ‘म अहिले राजधानी बाहिर छु, आएपछि टिप्पणी गरौंला,’ उनले भने ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?