कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपालाई कार्यकर्ताको सुझाव : जनताको गुन नबिर्सिने गरी काम गर्नुस्

एकजुट हुन, जनतालाई दु:ख नदिन र तल्लो तहसम्म एकताको काम चाँडै सक्न नेताहरुलाई आग्रह
बिनु सुवेदी

काठमाडौँ — कालिकोटका पदमबहादुर शाही डेढ घण्टाजति लाइनमा बसेपछि बल्ल स्टेजमा उक्लिन पाए । कार्यकर्ताको स्वागतका लागि उभिएका नेकपा स्थायी समिति सदस्यहरूसँग हात मिलाउँदै जब महासचिव विष्णु पौडेलको छेउमा पुगे, एकछिन रोकिए र आफ्नो विषयमा छिरिहाले । शाही र उनीसँगै कालिकोटबाटै आएका नेकपाका अरू पाँच जना कार्यकर्ताको विषय थियो सुर्खेत–हुम्ला सडक । 

नेकपालाई कार्यकर्ताको सुझाव : जनताको गुन नबिर्सिने गरी काम गर्नुस्

कर्णालीको विकासका लागि सुर्खेत–हुम्ला सडकखण्डलाई प्राथमिकता दिनुपर्‍यो भनेर महासचिवसँग अनुरोध गरेको शाहीसँगै आएका देवानन्द धितालले बताए । ‘हामीले पार्टीका ठूला नेतालाई यस्तै अवसरमा मात्रै भेट्न पाउँछौं,’ उनले कान्तिपुरसँग भने । महासचिव पौडेलले काम भइरहेको छ भनेर जवाफ दिएपछि यो पाँच सदस्यीय टोली ढुक्क देखिएको छ ।


नेकपाले बुधबार राखेको चियापान कार्यक्रममा लामो लाइनमा बसेर नेताहरू भेट्ने, आफ्नो समस्या राख्ने र नेतृत्वलाई खबरदारी गर्नेको संख्या ठूलो थियो । काठमाडौं नेपालटारका ८४ वर्षीय कृष्णबहादुर डंगोल लाइनमा बसेर नेताहरू भेट्नेमध्येका एक हुन् । लट्ठी टेकेरै आएका उनले नेताहरूलाई अब टुटफुट नहुने गरी मिल्न सुझाव दिए । ‘हाम्रो देश आनन्दको छ, एकजुट हुनुस्, धर्म नछोड्नुस् भनेर नेताहरूलाई सुझाव दिएर आएँ,’ डंगोलले कान्तिपुरसँग भने । अर्घाखाँचीकी यमुना पोखरेलले ‘नेताहरूले अरू जे जे गरून् तर जनतालाई दु:ख दिनु भएन’ भनिन् । तत्कालीन एमाले र माओवादी एक भएपछि नेकपाका नेता/कार्यकर्ता चियापानका लागि दोस्रोपटक जम्मा भएका हुन् । पोहोरको दसैंमा एकताको माहौल ताजै थियो । यसपालि १७ महिना पुगिसकेको छ । धेरै कार्यकर्ताले तल्लो तहसम्म एकताको काम कहिले सकिन्छ भनेर पनि नेतालाई सोधे । ‘ठूलो पार्टीमा अनेक समस्या आउँछन् तर एकजुट हुने वातावरण बन्नुपर्छ,’ काभ्रेका अमृत हुमागाईंले भने ।


दिउँसो १२ देखि ३ बजेसम्म सर्वसाधारणका लागि आयोजना गरिएको चियापानमा सांस्कृतिक प्रस्तुति दिने कलाकारहरूले पनि खबरदारी गरिरहेका थिए । उनीहरूले बारम्बार जनताको मतको अवमूल्यन नगर्न आग्रह गरिरहँदा चौरमा बसेका कार्यकर्ता ताली बजाउँथे । भोकाहरू भोकभोकै र झुपडीमा बस्नेहरू झुपडीमै रहे भने जनताको बलिदानको अर्थ नहुने गायक बिहानी विकको तर्क थियो । उनले नेता–कार्यकर्ता, धनी–गरिबबीच विभेद नहुने गरी काम गर्न सुझाइरहँदा साना र ठूलाबीचको भेदभाव भने चियापानमै देखियो ।


सर्वसाधरणलाई लड्डु र केरा, भीआईपीलाई स्यान्डविच

नेकपाले पठाएको निम्तो नै दुई भागमा बाँडिएको थियो । कार्यकर्ता र सर्वसाधारणलाई १२ देखि ३ बजेसम्म समय दिइएको थियो । दिउँसो ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवा निवृत्त पदाधिकारी, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको थियो । चियापानमा सर्वसाधारण र कार्यकर्ताका लागि लड्डु, केरा र निम्कीको व्यवस्था थियो । एउटा सुरक्षा घेरा पार गरेपछि पुगिने उच्च पदस्थहरूका लागि तय चियापानमा स्यान्डविच, कुकिज, बर्फी र पकौडाको व्यवस्था गरिएको थियो । बाहिर कार्यकर्ताले टपरीमा खाँदा उच्च पदस्थका लागि प्लेट र काँटाचम्चाको व्यवस्था गरियो ।


उच्च पदस्थको चियापानमा दाहाल अनुपस्थित

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उच्च पदस्थ अधिकारीका लागि आयोजित चियापानमा लगभग पूरै समय बसे । पाहुनालाई कहिले उठेर त कहिले बसेरै स्वागत गरिरहे । भलाकुसारी गर्न चाहनेसँग केहीबेर कुराकानी पनि गरिरहेका हुन्थे । उनीसँगै नेकपा सचिवालयका अरू सदस्य, मन्त्री र केही स्थायी समिति सदस्य पनि थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल भने उच्चपदस्थका लागि आयोजित चियापानमा देखिएनन् । चितवन जानुपरेकाले सो कार्यक्रममा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ । चितवनमा बिहीबार चियापान छ । ‘चितवनमा पनि पार्टीको चियापान छ, जहाजको टिकट नपाइएकाले अध्यक्षज्यू बुधबारै जानुपर्‍यो,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने ।


आँखा चिम्लिनेले मात्र सरकारको काम देखेनन् : प्रधानमन्त्री


चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले पछिल्लो समय आफूहरू राष्ट्रिय एकताको सन्देश दिन सफल भएको दाबी गरे । उनीहरूले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलको एउटै अभिव्यक्ति आउनुलाई एकता र सफलताको संज्ञा दिए । प्रधानमन्त्री ओलीले आँखा चिम्लिनेहरूले मात्रै सरकारको काम देख्न नसकेको बताए । ‘केहीले सरकारका काम देखेनन् होला तर बूढाबूढी र गरिब जनतालाई सोध्यो भने सरकारले के काम गरिरहेको छ, थाहा हुन्छ,’ उनले भने । उनले सरकारले भनसुनमा विश्वास नगर्ने भएकाले त्यसको पछि नलाग्न पनि आग्रह गरे । अध्यक्ष दाहालले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न दलहरूबीच सुदृढ सम्बन्ध र एकता हुनुपर्ने बताए । उनले देश अहिलेको अवस्थामा आइपुग्न करोडौं जनताको सहभागिताले मात्रै सम्भव रहेको भन्दै परिवर्तनको जस कुनै एक दलले लिन नहुने बताए । उनले चियापान कार्यक्रमले राजनीतिक सहमति र सहकार्यको वातावरण बन्न सहयोग पुग्ने प्रतिक्रिया दिए ।


अध्यक्ष दाहालले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको उल्लेख गर्दै भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको रणनीतिअनुसार अघि बढ्नुपर्ने बताए । ‘हिजो हामीले युद्धलाई शान्तिमा रूपान्तरण गयौं, मिलेर संविधान बनायौं । हाम्रो काँधमा अब यो देशलाई समृद्ध बनाउने अभिभारा छ । हामी यसमा दत्तचित्त भएर लाग्नुपर्छ,’ उनले भने । उनले विकास र समृद्धिको नयाँ युगमा नेपाल प्रवेश गर्न लागेको बताए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिसकेकोले परिवर्तनविरुद्ध कसैले औंला उठाउन नसक्ने उनको भनाइ थियो । ‘यो परिवर्तनबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुनु सामान्य हो तर उपलब्धि र हामीले हासिल गरेको परिवर्तनलाई कसैले चुनौती दिन सक्ने अवस्था छैन । परिवर्तन, संविधान, विकास र समृद्धिको नारामा हामी एकमत छौं ।’


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय मुद्दामा दलहरू एक भएको प्रतिक्रिया दिए । चियापान कार्यक्रमपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘यस्ता भेटघाटले सबै पार्टीलाई एक ठाउँमा ल्याउने काम गरेको छ, यसबाट हामी राष्ट्रिय मुद्दामा एक ठाउँमा छौं भन्ने सन्देश गएको छ ।’


उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मतभेदका बाबजुद मिलेर बस्नुपर्छ भन्ने सन्देश चियापान कार्यक्रमले दिएको बताए ।


प्रकाशित : आश्विन ३०, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?