२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आलम पक्राउ प्रकरण : ‘चुनावमा हिँडेको छोरो फर्केन’

शिव पुरी

(रौतहट) — भारतको सीतामाढीमा उच्च शिक्षा लिइरहेका २२ वर्षीय छोरा त्रिलोकप्रताप सिंह बिदामा घर आएका थिए । चुनाव थियो । उम्मेदवारका सहयोगी समूहले उनलाई हतारहतार बोलाएर लगेपछि पुन: घर फिर्न पाएनन् ।

आलम पक्राउ प्रकरण : ‘चुनावमा हिँडेको छोरो फर्केन’

मारिएको खबर आयो, आमाबाबुले लास पनि हेर्न पाएनन् । त्योबेला छोरासँग राम्ररी कुरा पनि गर्न नपाएको भन्दै यमुनामाई–४ सरुअठाकी ७६ वर्षीया आमा कमला सिंहको आँखा बेला–बेला रसाउँछन् ।

चुनावको पूर्वसन्ध्यामा बम विस्फोटमा परी घाइते हुँदा जिउँदै इँट्टाभट्टाको चिम्नीमा हालेको खबर पाएका सिंह परिवार अझै पीडामा छन् । बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । घटनामा उनी संलग्न भए/नभएको मुद्दा चल्दै जाँदा छिनोफानो हुने कुराले वृद्ध सिंह दम्पतीको चित्त बुझेको छैन । आलमको चुनाव प्रचारको नाममा हिँडेका त्रिलोकसँगै गाउँकै ओसी अख्तर पनि कहिल्यै घर फर्केनन् ।


त्रिलोक सीतामाढीस्थित राधाकृष्ण कलेजमा पढ्थे । पहलो संविधानसभा निर्वाचनको प्रचारका लागि भन्दै सांसद आलमका कार्यकर्ता आएर २०६४ चैत १८ मा उनलाई घरबाट लगेको पीडित परिवारको भनाइ छ । उच्च शिक्षा हासिल गरेर अधिकृत बन्ने इच्छा राखेको छोरा सम्झँदा कुरा गर्दागर्दै कमला रुन्छिन् । छोराको नाम लिनासाथ आँसु थामिँदैनन् । सिंह परिवारमा दुईमध्ये त्रिलोक कान्छा छोरा थिए । ‘छोराको लास देख्न पाइयो न सास,’ कमला भन्छिन्, ‘दैव पनि कति निष्ठुरी भएको । उसको ठूलो मान्छे बन्ने सपना नेताको चुनावले समाप्त पारिदियो ।’ छोरा पर्खेर बसेकी उनी घरमा कोही मानिस पुग्यो भने कमला हस्याङफस्याङ बाहिर निस्कन्थिन् । कसैले केही खबर ल्यायो कि, छोराको बारे केही सुराकी आयो कि वा छोरा जिउँदै छ भन्ने खबर ल्यायो कि भन्ने मनमा हुन्थ्यो ।


त्रिलोक बोल्न सिपालु थिए । उनी बोलीले भीडलाई तत्कालै प्रभाव पार्थे । त्यसैले प्रचारप्रसारमा उनलाई प्रयोग गर्न नेताले लागेका थिए । मतदानको १० दिनअघि उनलाई गाउँका मतदातालाई रिझाउन भनिएको थियो । तर चुनावको अघिल्लो दिन चैत २७ को साँझ बम विस्फोटमा परी घाइते भएको र त्यही अवस्थामा जिउँदै भट्टामा हालिदिएको खबर पाएर शोकमग्न सिंह परिवार एक दशकपछि पनि न्यायको गुहार लगाइरहेका छन् । ‘मेरा छोरा बोल्न माहिर थियो । एकैछिनमा भीडलाई आफ्नो तर्कमा सहमत गराउन सक्थ्यो,’ पिता श्रीनारायण भन्छन्, ‘यस्तो मान्छेलाई बम समात्न लगाई जिउँदै चिम्नीमा हाल्ने काम भयो । यसका दोषीलाई हदैसम्म सजाय हुनुपर्छ ।’ सिंह परिवार अहिले पनि छोराको फोटो बोकेर यताउता भौंतारिने गर्छन् ।


२०६४ चैत २७ को साँझ पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट भएको खबर जिल्लाभरि फैलिएको थियो । विस्फोटमा थुप्रै जना घाइते भएको र घाइतेहरूलाई इँटाभट्टामा जलाएर मारेको खबर सुने पनि डरले गाउँलेले घटनास्थलसम्म जाने आँट गरेनन् । प्रहरी प्रशासनलाई प्रभावमा लिएका आलमविरुद्ध बोल्ने साहस कसैले गरेनन् । घटना गराएको आरोपमा कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथि लाग्यो । तर, गाउँलेहरूले आपसमै कुरा गरे । अघि सरेर उनीविरुद्ध बोले आफ्नै ज्यानको जोखिम हुने ठानिरहे । आलम त्यसबेला उक्त क्षेत्रका कांग्रेसका उम्मेदवार थिए । घटनामा युमनामाई ४ सरुअठाका त्रिलोक र ओसी अख्तरलाई जिउँदै चिम्नीमा हालेको परिवारजनले खबर पाए । घटनालगत्तै उनीहरूले प्रहरीमा सांसद आलम उनका भाइ महताबलगायत ५ जनाको नाममा किटानी जाहेरी दिए । गाउँलेको ठूलो जमातबीच नेताविरुद्ध कारबाही हुनुपर्ने भनाइ राख्ने परिवार एक्लो नै भएकाले प्रहरीले पनि गम्भीरतापूर्वक लिइदिएन । घटनालगत्तै कांग्रेसबाहेकका दलहरूले विज्ञप्ति जारी गर्दै छानबिन र दोषीमाथि कारबाहीको माग पनि गरेका थिए । दलहरूले विज्ञप्ति निकाल्ने औपचारिकता पूरा गरे पनि पीडित परिवारका साथ उनीहरू उभिएनन् ।


प्रतिवादीविरुद्ध परेको जाहेरी प्रहरीले २०६५ असार ९ मा मात्र दर्ता गरेको पाइएको छ । किटानी जाहेरीमा उल्लेखित सांसद आलमलगायत पाँचै जनाविरुद्ध एकै दिनमा अनुसन्धान सकेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले प्रतिवेदन बुझाएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का र प्राप्त प्रमाण उल्लेख गरेको आधारमा उक्त कार्यालयले मुद्दा चल्न नसक्ने ठहरसहितको प्रतिवेदन असार ३० मा महान्यायाधिवक्ता कार्यालयलाई पठायो ।

महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयको निर्णयको पक्ष लिएपछि पीडित सर्वोच्च अदालतमा रिट हाल्न पुगे । रिट दर्ताको चार वर्षपछि सर्वोच्चले २०६९ जेठ १६ मा महान्यायाधिवक्ता कार्यालयको निर्णय खारेज गर्दै घटना अनुसन्धान र दोषी पक्राउको आदेश गर्‍यो । आलमले घटना माओवादीले गराएर आफूमाथि झूटा आरोप लगाएको सफाइ दिँदै आए । यसबीच कारबाहीको जाहेरी दिनेमध्येकी ओसी अख्तरकी आमा रुक्सानाको गोली प्रहारबाट हत्या भयो । उक्त घटनाका दोषी अझै पक्राउ परेका छैनन् । आलमको राजनीतिक प्रभावमा परेको प्रहरीले सर्वोच्चको फैसला कार्यान्वयन समितिले प्रस्टीकरण सोधेपछि मात्रै अहिले आएर पक्राउ र अनुसन्धान थालेको हो ।


पक्राउ परेका पूर्वमन्त्री एवं सांसद आलम अहिले पनि घटना आफूले नगराएको दाबी गर्छन् । अदालतले उनलाई एक साता हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । ‘घटनामा कुनै किसिमको विस्फोट भएकै छैन,’ आलम भन्छन्, ‘बम विस्फोट भएको घटनास्थलमा केही न केही प्रमाण भेट्टिन्थ्यो । मलाई बदनाम गराउने काम भयो ।’ यता आलम पक्राउपछि भने सिंह परिवारमा न्याय पाउने आस बढेको छ । ‘घटनाको १२ वर्ष भयो तर हाम्रो घाउ आलै छ,’ त्रिलोकका पिता श्रीनारायण भन्छन्, ‘अब सरकारले कुनै प्रभावमा नपरी निष्पक्ष अनुसन्धान गर्नुपर्छ ।’


प्रहरीले राजपुर गाउँमा त्यो बेला कतै पनि बम विस्फोटको घटना नभएको भन्ने मुचुल्का बनाएको छ । सांसद पक्राउको विरोध गर्दै कांग्रेस, तरुणदल र आलमका आफन्तले राजनीतिक पूर्वाग्रह भएको प्रतिक्रिया दिएका छन् । आलमका भाइ शेख वकिलले १२ वर्षपछि राजनीति प्रतिशोध साध्न विपक्षीको भनाइमा लागेर प्रहरीले पक्राउ गरेको आरोप लगाए ।


प्रकाशित : आश्विन ३०, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?