मृगौला किन्न नक्कली नाता, कानुनले के भन्छ ? 

निदान अस्पतालका सीईओ, कानुन अधिकृत, चिकित्सक, गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत अधिकृत र मृगौला किन्ने व्यक्ति पक्राउ
जनकराज सापकोटा

काठमाडौँ — मृगौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृत, ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत, सोही अस्पतालका कानुन अधिकृत, चिकित्सक र मृगौला लिने व्यक्ति गरी ५ जना पक्राउ परेका छन् । 

मृगौला किन्न नक्कली नाता, कानुनले के भन्छ ? 

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र आले, मृगौला प्रत्यारोपण गर्ने निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान, कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा. राजेश पन्त र लामा छन् । दुवै मृगौला फेल भएपछि लामाका आफन्तले काभ्रेका ३७ वर्षीय एक युवकलाई ३ लाख रुपैयाँ दिएर मृगौला किनेका थिए । जिल्ला प्रशासन कार्यालय ललितपुरमा शाखा अधिकृत रहेका बेला आलेले मृगौला प्रत्यारोपण अनुमति दिने समितिमा रहेर स्वीकृतीको हस्ताक्षर गरेका थिए । तीन महिनाअघिको यो घटनाबारे ब्युरोले दसैंअघि अनुसन्धान सुरु गरेको थियो ।


प्रहरी स्रोतका अनुसार अधिकृत आले बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा रहेका अधिकृत आले घटनाको केही समयपछि मात्रै गृहमन्त्री थापाको सचिवालयमा काज सरुवा भएका थिए । गृहमन्त्रीको निजी सचिवालयमा एक उपसचिवसहित दुई अधिकृत छन् । आलेले मृगौला प्रत्यारोपण स्वीकृति समितिमा रहेर काम गर्दा आर्थिक लाभ लिए कि लिएनन् भन्ने खुलिसकेको छैन ।


मृगौला फेर्नैपर्ने भएपछि लामाको परिवारले रामेछापको दोरम्बा–३ को वडा कार्यालयबाट भान्जाले मृगौला दिने भन्दै नाता प्रमाणितको सिफारिस ल्याएको थियो । सिफारिसपत्रमा सक्कली भान्जाकै नाम र फोटो टाँसिएको थियो । उक्त पत्रलाई निदान अस्पतालका डा. पन्त, प्रमुख कार्यकारी अधिकृत प्रधान, कानुन अधिकृत भट्टराई र जिप्रका ललितपुरका अधिकृत आलेसहितको प्रत्यारोपण स्वीकृति समितिले प्रमाणीकरण गर्दै प्रत्यारोपणको अनुमति दिएको थियो ।


सिफारिस पत्रमा सक्कली भान्जाको नाम र तस्बिर भए पनि मृगौला दिने बेला नक्कली व्यक्ति खडा गरिएको थियो । बिरामी लामाका छोरा र आफन्ती एक दलालमार्फत काभ्रेका युवासँग मृगौला किन्ने सहमति गरिवरि उनैलाई भान्जाका रूपमा स्वीकृति समितिसमक्ष उपस्थित गराइएको थियो । अनुसन्धानमा संलग्न स्रोतका अनुसार वडाको सिफारिसपत्रमा भएको फोटोभन्दा फरक व्यक्ति उपस्थित हुँदाहुँदै स्वीकृति दिइएको थियो । जबकि उपचारमा संलग्न अस्पतालकै स्टाफ नर्सले समेत सिफारिसपत्रमा फोटोको भन्दा फरक व्यक्ति भएको बताएकी थिइन् । नक्कली भान्जाका रूपमा खडा भएको व्यक्तिले आफू फोटो खिच्दा मोटो भएको र पछि दुब्लाएको तर्क गरेका थिए भने सक्कली भान्जाको दिदीलाई समेत उपस्थित गराइएको थियो ।


भान्जा बनेर उपस्थित युवा निरक्षर रहेको र उनलाई प्रलोभनमा पारेर मृगौला दिन तयार पारिएको ब्युरोका प्रवक्ता एसपी गोविन्द थपालियाले बताए । उनका अनुसार घटना सार्वजनिक हुने सम्भावना भएपछि मृगौला लिएका लामाको परिवारजनले नक्कली भान्जालाई घरबाट कतै ननिस्किने गरी लुकाएर राखेका थिए । प्रहरीका अनुसार मृगौला बेचेको सात दिनपछि अस्पतालबाट निस्किएका ती युवा मदिराको अम्मली भएको र प्रत्यारोपणपछि अस्वस्थ वातावरणमा बसिरहेको पत्ता लागेको थियो ।


ब्युरोले मृगौला किनबेचमा संलग्न एक बिचौलिया पहिचान गरे पनि ती व्यक्तिलाई पक्राउ भने गरिसकेको छैन । अस्पतालका प्रमुख कार्यकारी अधिकृत, कानुन अधिकृत, डाक्टर र जिल्ला प्रशासनका अधिकृतसँग बिचौलियाको सम्पर्क भयो कि भएन र यो प्रक्रियामा आर्थिक लेनदेन भयो कि भएन भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।


प्रहरीका अनुसार नक्कली दाता खडा गरी गरिएको मृगौला प्रत्यारोपणमा लामाको परिवारले करिब ११ लाख खर्चेको देखिन्छ । मृगौला किन्न भने तीन लाख रुपैयाँ बैंक खातामा राखिदिएको र पछि केही पैसा थपिदिने प्रलोभन दिएको पाइएको छ । प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ ।


कानुनले के भन्छ ?

मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०५८ को अनुसूची ११ मा सम्बन्धित अस्पतालले मृगौला प्रत्यारोपण आवश्यक पर्ने भन्दै सिफारिस गरेपछि एकाघरका परिवार वा नजिकको नातेदारबाट मृगौला लिन कागजी प्रक्रिया अगाडि बढाउने व्यवस्था छ । यस्तो सिफारिसपछि मृगौला दान दिने एकाघरका सदस्य वा नजिकका नातेदारले अनुसूची १३ अनुसार मन्जुरीनामाको कागज गर्नुपर्छ । यस्तो मन्जुरीनामामा दाताको तस्बिर र तीनपुस्ते विवरण खुलाइएको हुन्छ । मन्जुरीनामापछि सम्बन्धित वडा कार्यालयले गरिदिएको नाता प्रमाणितलाई अस्पताल र जिल्ला प्रशासन कार्यालयका अधिकृतसहितको टोलीले प्रमाणीकरण गरेपछि मात्रै प्रत्यारोपणको काम अगाडि बढाइन्छ ।

प्रकाशित : आश्विन ३०, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?