नुवाकोटको बट्टार बजार तनावग्रस्त, प्रहरीद्वारा २० राउण्ड अश्रु ग्यास प्रहार
नुवाकोट — विदुर नगरपालिका ४ बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको घटनाको विषयलाई लिएर बुधबार बट्टार बजार तनावग्रस्त भएको छ ।
तारकेश्वर गाउँपालिका ५ गोर्स्याङका ५ वर्षीय युनिक तामाङलाई बसले किचेर ज्यान गएपछि आक्रोशित भिड प्रदर्शनमा उत्रिएको थियो ।
दोषी चालकलाई कारबाहीको माग गर्दै प्रर्दशन उत्रिएका मृतकका आफन्त र स्थानीयले सडकमा टायर बालेर विरोध गरेका थिए ।
त्रिशुलीबाट काठमाडौं जानका लागेको बा ४ ख ७५०४ केरुङ डिलक्स बसले बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले बताए । स्थिति नियन्त्रणमा लिन २० सेल अश्रु ग्यास प्रहार गरिएको उनले बताए ।
घटनापछि मृतकका आफन्त र स्थानियले बस चालक विदुर नगरपालिका ७ तुप्चेकका राउडा तामाङलाई कुटपिट गरी सख्त घाइते बनाएका छन् । घाइते चालकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बालकलाई ठक्कर दिने बसलाई आक्रोशित भिडले तोडफोड गरेको छ ।
विरोधको क्रममा मृतकका आफन्त र प्रहरीबीच केही समय झडपको स्थिती बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ । बट्टार बजार तनावग्रस्त भएपछि बजार क्षेत्र बन्द भएको छ । अहिले मृतकका आफन्त र स्थानीय प्रशासनबीच वार्ता चलिरहेको छ ।
प्रकाशित : आश्विन २९, २०७६ १९:५१