सवा सय वर्षपछि हात्तीसारको लय

प्रदेश र स्थानीय सरकारले पर्यटकीय पूर्वाधारका लागि छुट्याए बजेट 
संघले जिम्मेवारी दिए योजना अघि बढ्ने
प्रताप विष्ट

(हेटौंडा) — राणाकालमा तत्कालीन राजा र मन्त्री सिकार खेल्ने सोख राख्थे । काडमाडौं खाल्डोबाट निस्कने जत्था फर्पिङ हुँदै मकवानपुरगढी झरेर भीमफेदी पुग्थ्यो । त्यहाँ आरामदायी हौदासहित जंगल सफारीका लागि एक दर्जन हात्ती तयार राखिन्थे । सिकारमा तराई निस्केको जत्थाले फर्केर भीमफेदीमै बास गर्थ्यो । सिकारसहित फिर्ने लस्करका लागि खान बस्न व्यवस्था थियो । 

वि.सं. १९५२ मा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणालगायतले हात्ती सवारीमा प्रयोग गरेका हौदाहरू रहेको भीमफेदी–६ को हात्तीसार संग्रहालयलाई पुनर्जीवन दिन तयारी सुरु भएको छ । २०४५ सालपछि प्रयोगविहीन हात्तीसारमा यतिबेला हात्ती छैनन् । सवारी गर्दा हात्तीमाथि बस्न विभिन्न प्रकारका ४२ वटा हौदा र चुनासुर्कीले बनाइएको भव्य भवन इतिहासको साक्षी छ । १९९० र २०७२ को भवनले क्षति पुर्‍याउन नसकेको भवन भए पनि सरकारी योजना अभावमा हात्तीसार संग्रहालय करिबकरिब बेवारिसे हालतमा छ । सिकार, पिँजडा र रासनपानी राख्ने व्यवस्थासहितका हौदाहरू प्रयोगमा नआउँदा माकुराले जालो लगाएको छ । अजंगको भवनमा भित्रीभागको तल्लोपट्टि लाइन लगाएर हौदाहरू राखिएका छन् । बिनातलब रखवारी गर्दै आएका भरतसिंह लामाले हात्तीहरू बाँधेर राख्ने ठाउँमा मकैका घोगा फिँजाएर राखेका छन् । भवनभित्र चिम छन्, बल्दैनन् । महसुल नतिरेकाले प्राधिकरणले हात्तीसारको बिजुली काटिदिएको एक दशक भइसकेको छ । भीमफेदी बजारसँग जोडिएको हात्तीसार क्षेत्रको जमिन अतिक्रमण गरेर स्थानीय केहीले घर बनाएका छन्, केहीले खेतीपाती गरिरहेका छन् ।

इतिहास बोकेको हात्तीसार चितवन राष्ट्रिय निकुन्जले मातहतको इकाईका रूपमा भए पनि लामो समयदेखि न संरक्षणका कार्यक्रम थिए, न त सरकारको चासो थियो । प्रदेशभित्रको ऐतिहासिक स्थल भएकाले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश र स्थानीय सरकारको बल्ल ध्यान गएको छ । डिभिजन वन कार्यालय हेटौंडालाई प्रदेश सरकारले उक्त क्षेत्र संरक्षणको जिम्मेवारीसँगै बजेट दिने भएको छ । प्रदेशको चासोपछि डिभिजन वन प्रमुख इमानाथ पौडेल र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायतले गत शनिबार हात्तीसार क्षेत्रको स्थलगत अवलोकन गरे । ‘हात्तीसारको जग्गा नापनक्सा र संरक्षणको जिम्मा चितवन निकुन्जले डिभिजन वन कार्यालयलाई दिनुपर्छ,’ अध्यक्ष लामा भन्छन्, ‘हाम्रो प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयले यसका लागि चालु वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ, हामीले गाउँपालिकाबाट १० लाख छुट्याएका छौं ।’


संघ सकारात्मक भए अपेक्षित रूपमा योजना अघि बढ्ने उनले बताए । ‘हात्तीसारमा हात्ती नै ल्याएर सिकार नखेलाए पनि ३२ रोपनी जग्गामा फैलिएको यो क्षेत्रमा कम्पाउन्ड लगाउने, बाटोमा ढुंगा छाप्ने, हात्तीका मूर्ति राख्ने र सिकार खेल्न जाँदाको जंगबहादुर र एलिजाबेथको सालिक बनाउने योजना छ,’ उनले भने, ‘यति गर्न सके हाम्रो क्षेत्रको पनि पर्यटकीय आकर्षण बढ्छ ।’ तराईलाई काठमाडौं उपत्यका जोड्ने नारायणगढ–मुग्लिन सडक निर्माणअघिसम्म भीमफेदीकै बाटो चलनमा थियो । मकवानपुरको यो पुरानो सदरमुकामको आकर्षण बढाउनका लागि हात्तीसार संग्रहालयको योजना अघि बढाउन प्रदेश सरकार सकारात्मक भएकाले गाउँपालिकाको पनि आत्मबल बढेको अध्यक्ष लामाको भनाइ छ । ‘योजनाअनुसार काम गर्न सकियो भने भीमफेदीमात्रै होइन नेपाल–बेलायत दौत्य सम्बन्धको इतिहासले पनि लय पाउँछ,’ उनले भने ।

संग्रहालयका हेरालु ७० वर्षीय भरतसिं लामाका अनुसार हात्तीसारका संरचना र सामग्री न्यूनतम लगानीमै पुन: दर्शनीय बनाउन सकिने अवस्थामा छन् । ‘नेपाल आउँदा महारानी एलिजाबेथ द्वितीय यहाँबाट सिकारी हौदा कसिएका हात्ती चढेर चितवन र पर्सा गएकी थिइन् । त्यो जत्थाले बाघ र गैंडाको सिकार गरेको थियो,’ उनले भने, ‘त्यो बेलाका चारवटा सिकारी हौदा छन्, जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदा पनि छन् ।’ त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीमा ठूला दर्जाका स्वदेशी र विदेशी आएर हात्ती चढेर सिकार खेल्न जाने गरेको भीमफेदीको सुपिङका ८३ वर्षीय नलसिंह लामाले बताए । ‘त्यतिबेला भीमफेदीको चहलपहल धुमधाम थियो, हात्ती आउजाउ गरिरहन्थे,’ उनले भने, ‘त्यतिबेला हात्तीसारभरि नै १०–१५ वटा हात्ती हुन्थ्ये । अहिले सुनसान छ ।’ अझै पनि संरक्षणको योजनाले भीमफेदीको आकर्षण बढाउने उनले बताए ।

हात्तीसारलाई प्रदेश सरकारको मातहतमा राख्न कुनै समस्या नभएको चितवन राष्ट्रिय निकुन्ज प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । उनले भने, ‘यो संघीय सरकारले नै निर्णय गर्नुपर्छ । प्रदेशले पहल गर्दा हुने प्रक्रियाको कुरा हो ।’ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का प्रदेश र स्थानीय तहले अपनत्व लिएर योजना अघि बढाउने भएपछि संघले जिम्मेवारी हस्तान्तरण गर्न समस्या नहुने बताउँछन् । संघीय राजधानी प्रवेश गर्ने छोटो वैकल्पिक रुट हेटौंडाबाट भीमफेदी भएर कुलेखानी हुँदै दक्षिणकाली र फर्पिङ सडक सञ्चालनमा छ । भीमफेदीमा क्षेत्रीय कारागार पनि छ ।

प्रकाशित : आश्विन २९, २०७६ ०७:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किबीले आम्दानी दिन थाल्यो

प्रताप विष्ट

हेटौंडा — सुरु-सुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, घरकाले पनि उनलाई गाली गर्थ्ये । तर अहिले भने सबैले उनलाई स्याबासी दिन थालेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपा-६ लीलाखेलका मनोरथ बलामीले किबी खेती गरेर यो वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने अवस्थामा पुगेका छन् । 

काठमाडौंमा उनले अहिले होलसेलमा किबी प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मनोरथले १३ वर्षअघिदेखि किबी खेती गर्न सुरु गरेका थिए ।

पहिलो वर्षमा १५ वटा बिरुवा रोपेर सुरु गरेको मनोरथसँग अहिले १ सय ८० वटा किबीका रुखहरू छन् । तीमध्ये २० वटा भाले जातका किबीका बोट छन् । ती सबैले उत्पादन दिन थालिसकेका छन् । ‘सुरु-सुरुमा बजारको पनि समस्या थियो,’ बलामीले भने, ‘अहिले समस्या छैन, काठमाडौं लगेपछि बिक्री भइहाल्छ ।’ स्थानीय महोत्सवहरूमा पनि बलामीले किबी बिक्रीका लागि राख्ने गरेका छन् । आकर्षक ढंगले प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् ।

बलामीले काभ्रेबाट बिरुवा ल्याएर रोपेका हुन् । एउटा बिरुवाको मूल्य ३ सय रुपैयाँ परेको थियो । बलामीको करिब ७ रोपनी जमिन किबीको बोटले ढाकेको छ । किबी खेती बज्रबाराहीमा बलामीले मात्र गरेका छैनन् । करिब ६० परिवारले गरेका छन् ।

विगत १४ वर्षदेखि थाहा नपा ६ बज्रबाराहीका फणिन्द्र सुवेदीले पनि किबी खेती गरेका छन् । उनीसँग चार सयवटा वटा किबीको बोट छन् । तीमध्ये २ सय वटाले उत्पादन गर्न थालेका छन् । उनले यो वर्ष करिब १२ लाख रुपैयाँको किबी बिक्री गर्ने अनुमान गरेका छन् ।

‘अव धमाधम किबी टिपेर बिक्री गर्ने अवस्थामा भइसकेको छ,’ कृषक फणिन्द्रले भने, ‘गत वर्षको भन्दा यो वर्ष राम्रोसँग फलेको छ ।’ उनले करिब ६ हजार केजी किबी उत्पादन हुने अनुमान गरेका छन् । किबी खेतीका लागि सुवेदी पनि अगुवा कृषक हुन । ‘व्यवस्थितसँग कृषक सुवेदी र बलामीले किबी खेती गरेका छन्,’ थाहा नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जय तिवारीले भने, ‘बज्रबाराही किबी खेतीका लागि पकेट क्षेत्र जस्तो भइसकेको छ ।’

बलामी र सुवेदीलाई मृग र मलसाप्रोबाट किबीको फल जोगाउन मुस्किल परेको छ । मृग र मलसाप्रोले किबीको फल खान रुचाउँछ । सुवेदीले २० रोपनी जग्गामा किबी खेती गरेका छन् । किबी खेतीमा प्रांगारिक मल मात्र प्रयोग गरिन्छ । रासायनिक मल र विषादी प्रयोग नगरिने सुवेदीले बताए ।

बलामी र सुवेदीले सुरुमा किबी खेती गर्न काभ्रे र गोदावरीबाट किबीका बिरुवा खरिद गरेर ल्याएका थिए । सुवेदीले किबीको नर्सरी आफैंले राखेका छन् । किबीको बेर्ना खरिद गर्न इलाम, संखुवासभालगायत विभिन्न स्थानबाट आउने गरेका छन् । किबीको एउटा बेर्ना तीन सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको एक गाउँ, एक उत्पादनअन्तर्गत बज्रबाराही किबी खेतीका लागि छनोट परेको थियो । थाहा नपाका करिब ६० जना कृषकले २० देखि चार सयवटा किबीको बिरुवा लगाएर उत्पादन गर्न थालेका हुन । बज्रबाराही र नामटारमा किबी खेतीका लागि उपयुक्त हावापानी भए पनि नामटास्थित अघोरका एक कृषकले मात्र किबी खेती गरेका छन् ।

सुरुमा यस क्षेत्रमा उत्पादन गरिएका किबीको मकवानपुर उद्योग वाणिज्य संघले बजारीकरण गर्न सहयोग गरेको थियो । थाहा नपा-६ बज्रबाराहीमा यो वर्ष करिब २० टन किबी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएका अधिकांश किबी काठमाडौंमा बिक्री हुने गर्छ । थोरै भए पनि अहिले स्थानीयबासीले पनि किबी खान थालेका छन् बलामीले भने ।

थाहा नपाको बज्रबाराही किबी गाउँको रूपमा परिणत हुँदै छ । ८ सय मिटरदेखि २० हजार मिटरसम्मको उचाइमा किबी खेती फस्टाउँछ । किबी खेतीका लागि मकवानपुरको उत्तरी क्षेत्र हावापानी उपयुक्त रहेको कृषि शाखा प्रमुख तिवारीले बताए । जिल्लाको उत्तरी क्षेत्र ८ हजारभन्दा बढी किबीका लागि बोट छन् । तर उत्पादन थोरैले मात्र दिने गरेका छन् उनले भने ।

प्रकाशित : आश्विन २७, २०७६ १०:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×