अनि उनी धम्मावती गुरुमा भइन् 

आमा बुबाबाट अनुमति नपाएपछि गणेशकुमारी शाक्यले निर्णय गरिन्, घरबाट भागेर बर्मा जाने । त्यो यात्रा अन्तत: नेपाली थेरवादी बौद्ध धर्मको इतिहासमा कोसेढुंगा भयो । 
हिमेश

काठमाडौँ — भित्री काठमाडौंमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाकी पात्र हुन्, धम्मावती गुरुमाँ । जुन बेला काठमाडौंमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन, धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरकी एक १४ वर्षीया बालिकाले तय गरेको अद्वितीय यात्राको कथा हो यो । 

अनि उनी धम्मावती गुरुमा भइन् 

सात दशकअघि धनाढ्य नेवार परिवारकी एक्ली छोरी गणेशकुमारी शाक्यले निर्णय गरेकी थिइन्, घर त्यागेर भिक्षुणी बन्ने । उनले ललितपुरको सुमंगल विहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गरेकी थिइन् । थप अध्ययनका लागि बर्मा जानुपर्थ्यो । आमाबुबाबाट अनुमति नपाएपछि उनले निर्णय गरिन्, घरबाट भागेर बर्मा जाने । उनले २००६ सालमा तय गरेको त्यो यात्रा अन्तत: नेपाली थेरवादी बौद्ध धर्मको इतिहासमा कोसेढुंगा सावित भयो । आफ्ना दुई साथीसँगै ललितपुरबाट उनी थानकोट पुगिन् । त्यसपछि हिँडेर भीमफेदी । त्यहाँबाट भारतको कुशीनगर । त्यहीं उनी भिक्षुणी भइन् । भिक्षुणी भएपछि उनको नाम रह्यो, धम्मावती । त्यहाँबाट उनीहरू बर्मा जान तयार भए । तर उनीहरूसँग कुनै आधिकारिक कागजात थिएन । यत्तिकैमा उनका दुई साथी पनि छुटे । धम्मावतीले निर्णय गरिन्, जंगलको बाटो भएर बर्मा जाने । त्यसैअनुसार नागाल्यान्ड र आसामको जंगली बाटो भएर उनी बर्मा पुगिन् । लगभग एक साताको त्यो पैदल यात्रा वास्तवमा कति धेरै कठिन थियो, आज अनुमान गर्न पनि सकिन्न । बर्माको विहारमा रहेर उनले १६ वर्ष बौद्ध धर्मको अध्ययन गरिन् र २०२० सालमा नेपाल फर्किन् । अहिले नेपालको भिक्षुणी परम्परामा सबैभन्दा ठूलो र आदरणीय नाम हो, धम्मावती गुरुमाँ ।


काठमाडौं आएपछि उनले भित्री काठमाडौंको न:घल टोलमा स्थापित गरिन्, धर्मकीर्ति विहार । असनबाट ठमेलतिर लाग्ने बाटोमा पर्छ, न:घल टोल । धर्मकीर्ति थेरवादी महिला भिक्षुणीहरूको विहार हो । नेपालमा जति धेरै सम्मानसँग उनको नाम लिइन्छ, त्योभन्दा पनि धेरै बढी सम्मान धम्मावती गुरुमाँलाई बर्मामा छ । राजनीतिक परिवर्तनसँगै बर्मा अचेल म्यानमार भएको छ, तर धम्मावती गुरुमाँप्रतिको आदर ज्युँका त्युँ छ ।


सु चीको नेपाल सम्बन्ध

यो कथामा जोडिन आउने अर्की पात्र हुन्, आङ साङ सु ची । उक्त विहारसँग लामो समयदेखि सम्बन्ध रहेका बौद्ध विद्वान् मदनरत्न तुलाधरको भनाइ सापटी लिने हो भने सु चीलाई हल्का फुल्का नेपाल भाषा बोल्न पनि आउँछ ।


अचेल बानी छुटेको हुनुपर्छ, नत्र उनले नेपालभाषा मज्जाले बुझ्थिन् । गत वर्ष एसिया प्यासिफिक सम्मेलनका लागि काठमाडौं आउँदा सु ची फेरि एकपल्ट त्यही धर्मकीर्ति बिहार पुगिन् र धम्मावती गुरुमाँप्रति भावपूर्ण सम्मान पोखिन् । त्यो क्षण वास्तवमै दुर्लभ थियो । सु ची म्यानमारकी स्टेट काउन्सिलर हुन्, प्रधानमन्त्री सरहकी । अझ उनी नोबेल शान्ति पुरस्कार प्राप्त महिला पनि हुन् । तर जति बेला उनी धर्मकीर्ति विहार पुगिन्, उनको व्यवहार सामान्य थियो, शान्ति र सौम्यताले भरिएको । जतिले त्यो क्षणलाई नजिकबाट आत्मसात् गर्न पाए, सबैले फेरि पुराना दिन सम्झे, जब सु ची पहिलोपल्ट धर्मकीर्ति विहार पुगेकी थिइन् । सु चीका श्रीमान् माइकल एरिस बेलायती हुन् । उनी हिमाली बौद्ध धर्मका ज्ञाता थिए । चार दशकअघि आफ्नो अनुसन्धानका क्रममा उनी नेपाल आएका थिए, सु चीसँगै । एरिस अनुसन्धानमा व्यस्त हुँदा सु ची भने धर्मकीर्ति विहारमा हुन्थिन् । अरू भिक्षुणीहरूलाई अंग्रेजी पनि सिकाउँथिन् ।


सु चीका कान्छा छोरा किम एरिसको जन्म काठमाडौंमै भएको थियो । सुत्केरी सु चीलाई धम्मावती गुरुमाँले आफ्नै छोरी जस्तै स्याहारिन् । यसै क्रममा उनले बौद्ध धर्मबारे ज्ञान पनि पाइन् । अहिले पनि धर्मकीर्ति विहारमा जानुपर्छ र त्यसको वरिपरि रहेका पाका आमाहरूलाई भेट्नुपर्छ, उनीहरूसँग सु चीबारे सुनाउने धेरै कथा हुने गर्छ । उनीहरूले सु चीलाई नजिकबाट देख्ने, बोल्ने र संगत गर्ने अवसर पाएका छन् ।


यो सबै चर्चा फेरि एकपल्ट किन भन्दा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पाँचदिने राजकीय भ्रमणमा म्यानमार जाँदैछिन् । त्यस क्रममा पक्कै पनि सु चीसँग भेट हुनेछ । कुराकानी पनि हुनेछ । त्यसमा पक्कै पनि धम्मावती गुरुमाँको त्यो यात्राबारे कुरा निस्कनेछ, अनि सु चीले नेपालसँग रहेको आफ्नो आत्मीय सम्बन्धबारे पनि चर्चा गर्नेछिन् । आफू पनि महिला भएको नाताले राष्ट्रपति भण्डारीका लागि यो उत्तिकै घतलाग्दो विषय हुनेछ ।


बौद्ध धर्ममा म्यानमारको योगदान

म्यानमार आफैंमा थेरवादी बौद्धमार्गीको बाहुल्य भएको देश हो । बौद्ध धर्मको इतिहासमा पुरानो वर्माको ठूलो महत्त्व छ । सबैभन्दा पहिला बुद्धको शरणमा जाने तपस्सु भल्लुक दाजुभाइ थिए । उनीहरू बर्मेली व्यापारी थिए । उनीहरूले गौतम बुद्धलाई भेट्दा संघको स्थापना पनि भएको थिएन । बुद्धले उनीहरूलाई चिह्नका रूपमा एक मुठ्ठी केश दिएका थिए । त्यस अगाडि तपस्सु भल्लुकले बुद्धलाई भोजन दान दिएका थिए । यो थियो, सातु र महको भोजन ।


बर्मामा के विश्वास गरिन्छ भने गौतम बुद्ध स्वयं त्यहाँ पुगेका थिए । उनी बोधिज्ञान प्राप्तिको तीन महिना पाँच दिनपछि नै बर्मा पुगेको मानिन्छ । यस अर्थमा बर्मेली बौद्ध धर्मको इतिहास बुद्ध जत्तिकै पुरानो छ । ऐतिहासिक रूपमा भने राजा अशोकको पालामा बौद्ध धर्म बर्मा पुगेको मानिन्छ । थेरवादी परम्पराअनुसार बर्मामा पाँचौं र छैटौं संगायना भएको थियो । सन् १८७१ मा भएको पाँचौं संगायनाकै क्रममा सम्पूर्ण त्रिपिटक संगमरमरमा कुँदिएको थियो ।


विपश्यना ध्यानको पुनरुदय बर्माबाटै भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको स्थापना, प्रचार र प्रचारमा पनि बर्माको महत्त्वपूर्ण योगदान छ । नेपालका सुरुआती समयका प्रमुख भिक्षु र भिक्षुणीले बर्मामै बौद्ध धर्मको अध्ययन गरेका थिए । यसको सबैभन्दा राम्रो उदाहरण त धम्मावती गुरुमाँ नै रहिन् । अहिले पनि बर्मामा गएर बौद्ध धर्मको अध्ययन गर्ने परम्परा कायम छ । धम्मावती गुरुमाँले बरोबर भन्ने गरेकी छन्, ‘नेपाल र बर्माको सम्बन्धको सबैभन्दा ठूलो आधार भनेकै धार्मिक र सांस्कृतिक नाता हो ।’


प्रकाशित : आश्विन २९, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?