राष्ट्रपति म्यानमार हुँदै जापान जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यानमारको चारदिने राजकीय भ्रमण गर्दै छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । घुमघामपछि भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल र म्यानमारबीच सन् १९६० देखि कूटनीतिक सम्बन्धको सुरुआत भएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलका अनुसार राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण दुई मुलुकबीच इतिहासदेखि चल्दै आएको सम्बन्धलाई थप बलियो बनाउनका लागि हुन लागेको हो ।

गत वर्ष म्यानमारका राष्ट्रपति मिन्टले नेपाल भ्रमण गरेका थिए । ‘दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन कूटनीतिक रूपमा यस्तो उच्चस्तरीय भ्रमण भइरहेका हुन्छन्, हाम्रो यसपटकको भ्रमणलाई पनि त्यसको एउटा भागका रूपमा लिन सकिन्छ,’ पौडेलले भने ।

प्रकाशित : आश्विन २८, २०७६ २१:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विमल प्लेइङ ११ मा

विनोद पाण्डे

अम्मन, जोर्डन — नेपालले जोर्डनसँगको विश्वकप छनोट खेलका लागि विमल घर्तिमगरलाई प्लेइङ ११ मा राखेको छ । खेल अहिले नेपाली समय अनुसार राति ९.४५ मा जोर्डनको अम्मन अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

विमललाई अस्ट्रेलियासँगको खेलमा पहिलो रोजाईमा राखिएको थिएन। उनी दोस्रो हाफमा मात्र मैदानमा आएका थिए। विमललाई अभिषेक रिजालको स्थानमा ल्याइएको छ।

विमलसँगै नेपाली टोलीमा सन्तोष तामाङ र सुमन अर्याललाई राखिएको छ। मिडफिल्डर सन्तोषलाई घाइते विशाल राई र सुमनलाई रञ्जित धिमालको स्थानमा ल्याइएको छ। नेपाल ४-५-१ को रणनिति अनुसार खेल्ने छ।

नेपाल अस्ट्रेलियासँग विश्वकप छनोटको पछिल्लो खेलमा ५-० ले पराजित भएको थियो। जोर्डनले कुवेतसँग भने गोलरहित बराबरी नतिजा मात्र निकाल्न सकेको थियो।

नेपाल पछिल्लो पटक अम्मन आउँदा २०११ मा विश्वकप छनोटमा जोर्डनसँग ९-० ले पराजित भएको थियो।

नेपाली टोली : किरण चेम्जोड (कप्तान, गोलरक्षक), अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, देवेन्द्र तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, रोहित चन्द, सन्तोष तामाङ, रविशंकर पासवान, विमल घर्तिमगर।

प्रकाशित : आश्विन २८, २०७६ २१:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT