तोडफोड गर्ने सांसद साह एयरपोर्टबाट पक्राउ

जहाज ढिलो भएको झोंकमा सांसद प्रमोदकुमार साहले लात्ती प्रहार गर्दा बुद्ध एयरको काउन्टरको सिसा र कम्प्युटर फुटेको थियो
अजित तिवारी

(जनकपुर) — जहाज ढिलो भएको झोंकमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । काठमाडौंमा पक्राउ परेका उनलाई अपराह्न बुद्ध एयरकै जहाजबाट जनकपुर ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

तोडफोड गर्ने सांसद साह एयरपोर्टबाट पक्राउ

सांसद साहलाई मंगलबार दिउँसो ओखलढुंगा उड्न त्रिभुवन विमानस्थल पुगेका बेला महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले पक्राउ गरेर जनकपुर ल्याएको हो । उनलाई जनकपुर विमानस्थलको पार्किङ–वेबाटै गाडीमा हालेर सीधै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको थियो । एयरपोर्टको आगमन कक्षअगाडि राष्ट्रिय जनता पार्टी (राजपा) का नेता/कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेकाले उनलाई बारुण यन्त्रको बाटोबाट लगिएको थियो । सांसद साहलाई जिल्ला प्रहरी कार्यालयमा कागजी प्रक्रिया पूरा गरेर जिल्ला अदालत लगिए पनि कार्यालय समय बितिसकेकाले म्याद थप बुधबार मात्र हुने प्रहरीले जनाएको छ ।


सांसद साह राजपाका सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् । उनलाई सोमबार जनकपुर विमानस्थलको टर्मिनलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको कसुरमा प्रहरीले पक्राउ गरेको हो । सोमबार अपराह्न बुद्ध एयरकै जहाजबाट काठमाडौं पुगेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय अपराध अनुसन्धान महाशाखालाई मंगलबार बिहान पत्र लेखेको थियो । ‘गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेको छ,’ धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले भने ।


सांसद साहलाई ल्याउने क्रममा जनकपुर विमानस्थल पुगेका राजपाका नेता–कार्यकर्ताले बुद्ध एयर र नागरिक उड्डयन कार्यालयको विरोधमा नाराबाजी गरे । राजपाका प्रदेश २ का सचेतक प्रमेश्वर साहले विमानस्थल र एयरलाइन्सको सुधारसँग जोडिएको मामिलामा समान्य भनाभनमै सांसदलाई मुद्दा चलाउनु अन्याय भएको बताए । उनले सांसद साहको रिहाइ नभए पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिए । प्रदेश २ सरकारको सत्ता साझेदार राजपाले मंगलबार साँझ जनकपुरको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेको छ ।


बुद्ध एयरको जहाज ३ घण्टा ढिलो भएको झोंकमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । उनले जहाजको अवस्था बुझ्न खोज्दा एयरलाइन्सका कर्मचारीले राम्रो ‘रेस्पोन्स’ नगरेपछि काउन्टरमा लात्तीले हिर्काएको स्वीकार गरेका छन् । नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साहविरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए । सांसद साहले भने फेसबुकमा ‘एउटा जिम्मेवारी व्यक्तिको हैसियतले एयरलाइन्सको गल्ती र मनोमानी क्रियाकलापको विरोध गरेको हुँ’ भनी लेखेका छन् । उनले ‘यो गल्ती हो भन्ने कारबाही भोग्न तयार छु’ भनेका छन् ।


गैरसैनिक हवाई उडान ऐनको दफा ९ (१) खण्ड ६ मा विमानस्थलमा कार्यरत कर्मचारी (सरकारी वा गैरसरकारी) लाई डर, धाक, धम्की वा प्रलोभनमा पारेर खतरा वा बाधा उत्पन्न गराउने कार्य गरे हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्ध अपराध गरेको मानिने उल्लेख छ । उक्त कसुर ठहरिए ५ देखि १० वर्षसम्मको कैद सजाय हुन्छ । दफा ९ (१) खण्ड च–मा विमानस्थल क्षेत्र वा बाहिर रहेका सञ्चार तथा उड्डयनसँग सम्बन्धित उपकरण वा मालसामानमा कुनै पनि प्रकारले पूर्ण वा आंशिक रूपमा बिगारे, भत्काए, क्षति पुर्‍याए वा नष्ट गरे विमानस्थल सुरक्षाविरुद्धको अपराध गरेको मानिने पनि भनिएको छ । उक्त कसुरमा अपराध गर्नेबाट भएको नोक्सानी बिगो भराई निजलाई १ वर्षदेखि ५ वर्षसम्मको कैद हुन्छ ।


के भएको थियो ?

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा शनिबार र आइतबार देशभरकै आन्तरिक उडान प्रभावित बनेको थियो । दसैं बिदामा जिल्लामै रहेका सांसद साह आइतबार नै काठमाडौं पुग्न खोजेका थिए । त्यस दिन हवाई उडान निकै ढिलो भएपछि उनले सोमबार ११ बजेर २० मिनेटको बुद्ध एयरको टिकट काटेका थिए । उनी समयमै विमानस्थल पुगेर भीआईपी कक्षमा जहाज कुरिरहेका थिए ।


भीआईपी कक्षकै एउटा कुनामा धनुषा कांग्रेसका पुराना नेता दिलीप सहगल ह्वीलचेयरमा बसेका थिए । सहगल मुटुका बिरामी हुन् । उनी उपचारका लागि काठमाडौं हिँडेका थिए । ११ बजेको जहाज निकै ढिलो भएपछि सांसद साह बुद्ध एयरको काउन्टरमा पुगे । जहाज ढिलाइबारे कारण सोधे । एयरलाइन्सका कर्मचारीले झर्कोफर्को गरेको सांसद साहको भनाइ छ । त्यसपछि उनले नागरिक उड्डयन कार्यालय जनकपुरका प्रमुख सन्तोष ढकाल र धनुषाका प्रजिअ प्रदीप कँडेललाई फोन गरेर गुनासो सुनाएको उनले बताए । सांसद साहले बिरामी सहगललाई पहिलो आउने जुनसुकै जहाजमा उडाउन अड्डी कसे । बुद्ध एयरका कर्मचारीले अस्वीकार गरे । त्यही झोंकमा सांसद साहले एयरलाइन्सको काउन्टरमा लात्ती हिर्काए । काउन्टरको सिसा र कम्प्युटर फुटेको बुद्ध एयरका जनकपुर इन्चार्ज विजय सिंहको भनाइ छ । सिंहले काउन्टरमा तोडफोड भएपछि सांसद साहसित भीआईपी कक्षमै पुगेर आक्रोश पोखेका थिए । उनले सांसद साहलाई जहाज चढ्नबाट अवरोध गरे । प्रजिअ कँडेलले सिंहलाई फोन गरेपछि मात्रै उनलाई जहाज चढ्न दिइयो । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार समितिका सदस्य समेत रहेका सांसद साहलाई समितिको बैठकमा सहभागी हुन सोमबार १ बजे काठमाडौं पुग्नुपर्ने थियो । जहाज ढिलो हुँदा उनको त्यो बैठकमा सहभागी हुने सम्भावना टर्‍यो ।


राजपाद्वारा भर्त्सना

राजपाले आफ्ना सांसद साहलाई पक्राउ गरिएको घटनाप्रति भर्त्सना गरेको छ । सामान्य घटनालाई अतिरञ्जित बनाइएको टिप्पणी राजपाको छ । एयरपोर्टमा बुद्ध एयरको जहाज घण्टौंसम्म नआउँदा छटपटाइरहेका विरामीको पीडा हेर्न नसकेर काउन्टरमा सोधपुछ गर्न जाँदा सामान्य रूपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाइएको राजपाको विज्ञप्तिमा उल्लेख छ । ‘सांसदलाई अविलम्ब रिहा गरी एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न हामी सरकारसँग जोडदार माग गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।


......

बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टाको अन्तरालमै सांसद साह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।


सांसद साह पक्राउ परेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले पुष्टि गरे ।

सांसद साहले पनि आफू पक्राउ परेको फेसबुक वालमा लेखेका छन् ।

...........

जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनीधिसभाका सांसद प्रमोद साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पत्र काटेको छ ।


काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको छ । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार सांसद साहलाई पक्राउ गर्न पत्र काठमाडौं पठाउने प्रकृया थालिएको छ ।


‘गैर सैनिक हवाइ उडान २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेको छ,’ एसपी खनालले कान्तिपुरसँग भने, ‘उजुरी दर्ता गरेर उनलाई पक्राउ गर्न पत्र काटिएको हो ।’


बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला भएको झोकमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । सांसद साहले जहाजको अवस्थाबारे बुझ्न खोज्दा एयरलायन्सका कर्मचारीहरुले राम्रो रेस्पोन्स नगरेको भन्दै काउन्टरमा लात्तीले हिर्काएको स्वीकार गरेका छन् ।


नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए । एसपी खनालले सांसद साहलाई पक्राउ गरेर धनुषा प्रहरीको जिम्मा लगाएपछि कार्वाहीको प्रकृया अगाडि बढाइने बताए ।

यता, सांसद साहले आफ्नो फेसवुक वालमा एयरपोर्ट प्रकरणबारे थप प्रष्टिकरण दिएका छन् । जनकपुर विमानस्थलमा लामो समयदेखि यात्रुहरु एयरलायन्सको बेथिति भोगिरहेको र आफू काबू भएर सोमबार लात्ती हिर्काएको स्टाट्समा लेखेका छन् । ‘एउटा जिम्मेवारी व्यक्तिको हैसियतले एयरलायन्सको गल्ती र मनोमानी क्रियाकलापको विरोध गरेको हुँ,’ सांसद साहले लेखेका छन्, ‘जनताले दिएको मतको अपमान भइरहेकोले चुप लागेर बस्न सकिन्न । यो गल्ती हो भने कारवाही भोग्न तयार छु ।’


उनले एयरपोर्ट र एयरलायन्सको बद्मासीका बारेमा धनुषाका सिडिओ प्रदिप कँणेल र विमानस्थलका प्रमुख ढकाललाई समेत फोनमा जानकारी गराएको दाबी गरेका छन् ।


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका निर्वाचित सांसद साहले विमानस्थलको रनवेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र मुटुका बिरामीलाई तत्कालै काठमाण्डौं पुर्‍याउने विषयमा विमानस्थलका कर्मचारी र एयरलायन्सले वेवास्ता गरेपछि रिसले काउन्टरमा लात्तिले हिर्काएको बताए । मुटुका बिरामी जनकपुरका शौखिलाल चौधरीको समस्याबारे बुद्धएयरलाई जानकारी गराउदा कर्मचारीले वास्ता नगरेको सांसद साहले आरोप लगाए ।


प्रतिनीधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार समितिका सदस्य समेत रहेका सांसद साहलाई त्यो समितिको बैठकमा सहभागि हुन १ बजे नै काठमाडौं पुग्नुपर्ने थियो । तर, जहाज ढिलो हुँदा उनको त्यो बैठकमा सहभागि हुने सम्भावना टर्‍यो । ‘मंगलबार बिहानै अनुगमनमा चार जिल्ला निस्कनु छ । समितिको बैठकमा त्यही विषयमा छलफल थियो,’ सांसद साहले भने, ‘जहाज डिले भएर बैठकमा सहभागी हुन पाइन । एयरलायन्सका कर्मचारीले पनि झर्कोफर्को गरेपछि रिसमा लात्ती हिर्काएको हुँ ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?