२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

काठ बोकेर दैनिक ५ हजार

मनाङको उपल्लो भेगमा घर बनाउने काठ र दाउरा तल्लो भेगबाटै ओसार्नुपर्ने बाध्यता छ । च्याँखु र क्याङमा बुट्यान मात्र छन्, फू गाउँमा त्यही पनि छैन । मेता क्षेत्रमा सल्लो मात्र पाइन्छ । त्यही सल्लाको काठ बोकेर हर्कबहादुर २ हजार ९ सय मिटर उचाइको मेताबाट ४ हजार ५० मिटरको फू गाउँ उक्लन्छन् । 
आश गुरुङ

(लमजुङ) — नाकै ठोक्किने उकालो । खोलामाथिको भीरैभीरको साँघुरो बाटो । कहिले काँचो त कहिले सुकेको काठ पिठ्युँमा बोकेर हिँडेको वर्षौं बित्यो ।

हिमाली जिल्ला मनाङको विकट मेतादेखि फू गाउँमा दैनिक हिँडिरहने ५५ वर्षीय हर्कबहादुर गुरुङ धुपीको झ्याङबाट पानी र मकै निकालेर खान्छन् ।

काठ बोकेर दैनिक ५ हजार

खुट्टामा थोत्रो चप्पल र हातमा लौरो टेकेर उकालो ओरालो गरिरहने उनको पसिनाले लुगा निथ्रुक्कै भिजेको छ । निधार र ढाडको छाला धसिएको छ । तर, पनि उनी भारी बोक्न छोड्दैनन् । करिब अढाई मिटर लम्बाइको एउटा काठमात्रै १० किलो बढी रहेको उनी बताउँछन् । उनका अनुसार ५ वटा काठलाई मिलाएर बनाएको भारी ५० किलो घट्दैन । समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको मेतादेखि च्याँखु, क्याङ हुँदै ४ हजार ५० मिटरको फू गाउँ पुर्‍याउँछन् ।


च्याँखु र क्याङमा केही बुट्यान छन् भने फू गाउँमा त्यही पनि छैन । मेता क्षेत्रमा सल्ला पाइन्छ । ‘माथि मेताबाट नलगेसम्म दाउरा पनि पाइँदैन । काठ त झन् लानै पर्‍यो,’ उनले भने ।


अप्ठ्यारो ठाउँ भएकाले खच्चडले काठ बोक्न मिल्दैन । काठ लामो भएर पनि अप्ठ्यारो परेको उनी बताउँछन् । धेरैजसो ठाउँमा छड्के भएर हिँड्न उनी । ‘कहिलेकाहीं ठोक्किएर भीरबाटै खसालिदेला जस्तो हुन्छ भारीले,’ उनले भने, ‘अप्ठ्यारो ठाउँ, खच्चडमा नमिल्ने ठाउँ । मान्छेलाई समेत गाह्रो हुन्छ,’ उनले भने । उनले दिनकै ५ हजार कमाउने गरेको बताए । ‘एउटा काठ बोकेको १ हजार हो । मैले ५ वटा बोकेको छु,’ उनले भने, ‘सितिमिती मान्छेले यस्तो ठाउँमा ३ वटाभन्दा बोक्दैन । सास बढ, लेक लाग्छ, बिरामी हुन्छ ।’

बिहान सबेरै मेताबाट बोकेर लाने र फू पुगेर रातसाँझ उनी फर्केर मेतामै आइपुग्छन् । ‘एकैचोटि ५ वटा बोकेर सबैले मलाई नै काठ बोकिदेऊ भन्छन् । कहिले फू जान्छु, कहिले नार । जता गएपनि एउटा काठ बराबर १ हजार हो ।’


उनले नार र फू क्षेत्रमा ३ महिनामात्रै सहजी काम गर्न सकिने बताए । हिउँदमा हिउँ र बर्खायाममा पानी पर्ने उनले बताए । ‘काम गर्ने ३ महिना हो । ३ महिना मरीमरी, दिनदिनै काठ बोकिन्छ । त्यसपछि त आराम गरिन्छ, बेंसीसहर झरेर । काम पाए गर्ने, नपाए नगरे पनि भो,’ उनले भने । उनले पहिले मनाङको खाङसारतिर काठ बोकेको बताए । ‘खाङसारतिर गाडी गयो । सबैथोक गाडीले बोक्न थाल्यो । अनि यता आएको हुँ’ उनले भने ।


तनहुँको देवघाट गाउँपालिका–२ दर्शन भन्ज्याङ घर बताउने हर्कबहादुरले आफ्ना २ पत्नी रहेको बताए । जेठीबाट ५ छोरा र २ छोरी र कान्छीसँग २ छोरी र ३ छोरा छन् । जेठी श्रीमती लमजुङ सदरमुकाम बेंसीसहरको भकुन्डेमा बस्छिन् । ‘म अहिले कान्छीसँग बस्छु । यहाँबाट केही कमाउँछु । बालबच्चा त पाल्नु पर्‍यो,’ उनले भने । २०४६ मा नेपाली सेनामा भर्ती भएका उनले कालीबहादुर गणमा बसेर राजदरबारको सेवा गरेको बताए ।

‘म सिपाही थिएँ । मेरो सेवा ६ वर्ष चल्दै थियो,’ उनले भने, ‘माओवादी भेट भयो । जाने भए जाम, नजाने भए मार्छु, काटु भनेपछि म गएँ । माओवादीको सेनामा भर्ती भएँ ।’ १० वर्ष माओवादी सेनामा रहेका उनले शान्ति प्रक्रियापछि अवसर पाएनन् । ‘पछि सरकारमा लाने बेलामा म परिनँ,’ उनले भने । उनले आफूलाई अयोग्य घोषणा गरेको बताए । ‘सेनाबाट लगेर जनसेना बनाए । पछि अयोग्य भने । अयोग्यलाई ६/७ लाख पैसा दिन्छ भन्थे । म पैसा नलिइकन भागेर हिँडे,’ उनले भने । त्यसपछि उनी भारी बोक्न मनाङ छिरेको बताए । ‘अब त बुढो भइयो । भारी बोक्न सक्दैन होला । २ वर्षजति बोक्छु होला’ उनले भने ।

प्रकाशित : आश्विन २८, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?