कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कष्टकर बन्दै लुम्बिनी यात्रा : सडक देखेरै हच्किन्छन् पर्यटक

लुम्बिनीको प्रवेशद्वार मानिने भैरहवाको बुद्धचोकबाटै सडकको बेहाल सुरु हुन्छ । सवारीसाधन र यात्रु देख्नै नसकिने गरी बुङबुङती धूलो उड्छ । जताततै खाल्टा छन् । जीर्ण बनिसकेको बेथरी पुलमा घण्टौंको जामले दिने सास्ती उस्तै छ ।
माधव ढुंगाना

(भैरहवा) — ओमकार गौचनले दसैंमा टीका थाप्न आएका नातेदारलाई बुधबार बुद्ध जन्मस्थल लुम्बिनी लगे तर भैरहवादेखि लुम्बिनीसम्मको २२ किमि सडकको दुरवस्थाले यात्रा खल्लो हुन पुग्यो । ‘सबै जना लुम्बिनी घुम्न उत्साहित थिए,’ भैरहवाका पुराना व्यापारी तथा समाजसेवी गौचनले भने, ‘तर खाल्टैखाल्टा परेको सडकले निराश बनाइदियो ।’ 

कष्टकर बन्दै लुम्बिनी यात्रा : सडक देखेरै हच्किन्छन् पर्यटक

सडककै कारण लुम्बिनी पुगेर फर्कंदा सात–आठ घण्टा आराम गर्नुपरेको र केहीले दुखाइ कम गर्ने औषधि सेवन गरेको उनले सुनाए । लुम्बिनीको प्रवेशद्वार मानिने भैरहवाको बुद्धचोकबाटै सडकको बेहाल सुरु हुन्छ । मालवाहक ट्रक, पर्यटकीय बस, सार्वजनिक यातायात साधन, निजी गाडी तथा मोटरसाइकलको ताँती लाग्छ । सवारीसाधन र यात्रु देख्नै नसकिने गरी बुङबुङती धूलो उड्छ । जताततै खाल्टा छन् । कुहिरीमण्डल सडकमा धुलोबाट जोगिन ओभरटेक गर्ने होडबाजी पनि उत्तिकै छ । जीर्ण बनिसकेको बेथरी पुलमा घण्टौंको जामले दिने सास्ती छँदै छ ।


घटे पर्यटक

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार यस वर्षको सेप्टेम्बरसम्म अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन घटेको छ । आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक कम आएका हुन् । जबकि वार्षिक तथ्यांक हेर्दा केही वर्षदेखि लुम्बिनीमा पर्यटक आगमन बढ्दै गएको पाइन्छ ।


अघिल्लो वर्षको सेप्टेम्बरसम्म १२ हजार ९५ पासपोर्टवाहक पर्यटक लुम्बिनी आएका थिए । यस वर्षको सेप्टेम्बरसम्म ८ हजार ६ सय २७ जना मात्र आएका छन् । यही अवधिमा भारतीय पर्यटक अघिल्लो वर्ष ८ हजार ८ सय ५१ जना आएकामा यस वर्ष ८ हजार ३ सय ४१ जना छन् । आन्तरिक पर्यटकका रूपमा अघिल्लो वर्ष २६ हजार ५ सय ९० जना आएकामा यस अवधिमा २२ हजार ७ सय ५३ मा सीमित छ ।


भारतको दिल्लीस्थित टप ट्राभल्स कम्पनीका चालक राजेश चौधरी डेढ दशकयता विदेशी पर्यटकलाई बसमा लुम्बिनी घुमाउन ल्याउने गर्छन् । लुम्बिनी जाने सडकको बेहालले पछिल्लो समय यता आउन समस्या झेलिरहेको उनले सुनाए । ‘लुम्बिनी जाने निर्माणाधीन सडकमा दुर्घटनाको ठूलो जोखिम छ,’ उनले भने, ‘जीर्ण र सिंगल लेनको पुलमा घण्टौंको जामले निकै सास्ती दिन्छ ।’


चासो कम

लुम्बिनी पुग्ने सडक र पुल स्तरोन्नति गर्न तीनै तहका सरकारको ध्यान पुगेको छैन । लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने भन्दै प्रदेश ५ सरकारले करोडौं खर्चेर ०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहँदा सडकबारे अलिकति पनि चासो देखिँदैन । जीर्ण सडक र बीचमै निर्माणकार्य स्थगित भई लथालिंग रहेका दुईवटा पुलले २० लाख पर्यटक भित्र्याउने गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत गिज्याइरहेको यात्रु बताउँछन् ।


निर्माणाधीन सडक चाँडो सम्पन्न गर्न सहजीकरणसहितको दायित्व वहन, ठेकेदार तथा आयोजनालाई पहलकदमी, तत्काललाई बेलीब्रिज, स्थायी पुल निर्माणका लागि गर्नुपर्ने टेन्डरजस्ता विषयलाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने सरोकारवालाको सुझाव छ । लुम्बिनीको विकास र योजनाबारे तीनै तहका पदाधिकारीले गर्दै आएका भाषणको कार्यान्वयन पक्ष अति कमजोर छ । जब कि रूपन्देहीका हरेका स्थानीय तहले आफ्नो आर्थिक समृद्धिका लागि लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर पर्यटन विकासको अवधारणा र योजना अघि सारेका छन् ।


लुम्बिनी भ्रमण वर्ष मनाइरहेको आयोजक समितिबाट पनि पहलकदमी र निगरानी पुगेको छैन । लुम्बिनी भ्रमण वर्षका लागि विनियोजित कतिपय बजेटको शीर्षक लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्नेभन्दा रकम सिध्याउने खालका छन् । बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको पर्यटकले २२ किमि दूरीमा रहेको लुम्बिनी पुग्न बुटवल, सालझन्डी हुँदै झन्डै ७५ किमि घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता छ । ‘भैरहवा–लुम्बिनी सडकको दुरवस्थाले लुम्बिनी आउने पर्यटनलाई नराम्ररी असर पारेको छ,’ कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले भने, ‘यहाँ आउने आन्तरिक पर्यटकको रोजाइ अन्यत्रै पर्न थालेको छ ।’


ठेकेदार र सडक विभागको विवादले वर्षौंदेखि अलपत्र रहेको निर्माणाधीन बेथरी पुल अझै सकिने छाँट छैन । यही पुलका कारण स्वदेशी तथा विदेशी पर्यटक घण्टौं जाममा सास्ती खेप्न बाध्य छन् । ‘वैकल्पिक पुल निर्माण गरेर भए पनि काम अघि बढाउन जरुरी छ,’ भट्टराईले भने, ‘एउटा पुल निर्माणका लागि तीन–चार करोड रुपैयाँ लगानी स्थानीय र प्रदेश सरकारका लागि ठूलो विषय होइन ।’


सुस्त गतिमा आयोजना

भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको योजनासहित चालू अवस्थामा रहेको सडक भत्काइएपछि लुम्बिनी यात्रा कष्टकर हुन थालेको हो । बुद्धचोकदेखि विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनीसम्म चार लेन र लुम्बिनीदेखि तौलिहवासम्म दुई लेनको सडक निर्माण गर्ने योजना छ । यसका लागि आउँदो पुस महिनासम्ममा निर्माण सम्पन्न हुने गरी भारतीय निर्माण कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव हरियाणासँग ०७३ असार ३० मा ठेक्का सम्झौता गरिएको हो ।


एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण थालिएको यस आयोजनाको सुरुको ठेक्का रकम १ अर्ब ९३ करोड रुपैयाँ छ । सम्झौता मितिमै निर्माण सम्पन्न गर्न भन्दै ठेकेदार कम्पनीले सडकको डिजाइन नै परिवर्तन गराई गुणस्तरहीन निर्माण कार्य गरिरहँदा पनि आयोजना मौन छ ।


ठेकेदार कम्पनीको दबाबमा डिजाइन परिवर्तन गर्दा आयोजनाको लागत बढेर २ अर्ब ९ करोड ८ लाख रुपैयाँ पुगेको छ । निर्धारित मितिमा निर्माण सम्पन्न नहुने निश्चित छ । भैरहवादेखि लुम्बिनीसम्मको निर्माणकार्य कछुवा गतिमा छ । तोकिएको अवधिमा काम नसकिनुमा ठेकेदार कम्पनीको प्लानिङमा पनि कमजोरी रहेको र निर्माण सामग्रीको अभाव झेल्नुपरेको भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका प्रमुख प्रदीपराज शाक्यले बताए । ‘३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि आउँदो पुससम्ममा सकिने अवस्था छैन,’ उनले भने, ‘योजनाको प्रगति ५० प्रतिशत हाराहारीमा छ ।’


निजी क्षेत्रको चिन्ता

भैरहवाका युवा व्यवसायी पवन हलुवाईले लुम्बिनीमा झन्डै दुई अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरेका छन् । तर अझै सञ्चालनमा ल्याउन सकेका छैनन् । ‘यात्रा कष्टकर भएकाले पर्यटक लुम्बिनी आउनै मान्दैनन्,’ हलुवाईले भने, ‘यही डरले होटलको ओपनिङ नै गरेको छैन । बैंकको व्याज कसरी तिर्ने भन्ने चिन्ता अर्कोतर्फ छ ।’


केही समयअघि आफ्नो होटलमा रुम बुक गरेका विदेशी पर्यटकको एउटा समूह लुम्बिनी जाने क्रममा बेथरी पुलको जामले गर्दा त्यहींबाट फर्केको उनले सुनाए । ‘बरु होटलको रुमचार्ज तिर्छौं तर यो कष्ट सहेर लुम्बिनी जाँदैनौं भने,’ उनले सुनाए, ‘सडकको बेहालले उत्पन्न यस्ता घटनाले धेरै लगानीकर्तालाई दिग्दार बनाएको छ ।’


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सुरु भएपछि सयौं निजी लगानीकर्ता लुम्बिनीलाई आधार मानेर पर्यटन व्यवसायमा लगानी गरिरहेका छन् । पछिल्लो समयमा तारे होटल निर्माण, ट्राभल र यातायात साधनमा लगानी बढ्दो छ । पुराना होटलले स्तरोन्नति गर्दै छन् । ‘सडक जामको सास्तीले गर्दा पर्यटक आगमन घट्न थालेको छ र आएका पनि बस्नै मान्दैनन्,’ लुम्बिनी होटल एसोसिएसन अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘सडक निर्माणको कछुवा गतिले लुम्बिनीका पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ ।’

प्रकाशित : आश्विन २८, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?