कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिउँचितुवा संरक्षण बैठक भारतमा

कान्तिपुर संवाददाता

काठमाडौँ — हिउँचितुवा पाइने १२ देशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्रीहरूको उच्चस्तरीय बैठक कात्तिक ७ र ८ मा भारतको राजधानी नयाँदिल्लीमा हुँदै छ । 

हिउँचितुवा संरक्षण बैठक भारतमा

ग्लोबल स्नोलियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम (जीएसएलईपी) कार्यसमितिको उक्त चौथो बैठकमा नेपालबाट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईलगायत सहभागी हुनेछन् ।


जीएसएलईपीको तेस्रो बैठक गत वर्ष जेठमा किर्गिस्तानको बिस्केकमा भएको थियो । नेपालसहित, अफगानिस्तान, भुटान, चीन, भारत, काजकस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान हिउँचितुवा पाइने मुलुक हुन् । २०७३ देखि नेपालले हिउँचितुवा पाइने देशका सदस्यहरूको समितिको अध्यक्षतासमेत गरिरहेको छ ।


२०७३ माघमा काठमाडौंमा भएको जीएसएलईपीको दोस्रो बैठकले नेपाललाई अध्यक्ष बनाएको हो । चौथो बैठकमा नेपालले अर्को सदस्य मुलुकलाई अध्यक्षता हस्तान्तरण गर्ने महानिर्देशक भट्टराईले बताए । बैठकमा हिउँचितुवा संरक्षण, तिनको संरक्षणका अनुभव र उपलब्धिबारे बैठकमा चर्चा हुने मन्त्री बस्नेतले बताए । अघिल्ला बैठकमा जस्तै संरक्षण र मानव–हिउँचितुवा द्वन्द्व न्यूनीकरणमा भइरहेका प्रयासबारेसमेत बहस हुनेछ । हिउँचितुवा संरक्षण कार्ययोजना–२०१७ को बिस्केक घोषणापत्र कार्यान्वयनको अवस्था, अध्ययन–अनुसन्धान साथै यिनको वैज्ञानिक अनुगमन र पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाबारे पनि छलफल हुनेछ ।


विश्वका १२ देशमा हिउँचितुवाका २३ भू–दृश्यक्षेत्र पहिचान गरिएकामा तीनवटा नेपालमा पर्छन् । प्रदेश १ को कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरूण र सगरमाथा निकुञ्ज तथा प्रदेश ३ को लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्रको पूर्वी ब्लक, प्रदेश ४ को मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्यक्षेत्रको ब्लक र ढोरपाटन सिकार आरक्ष तथा कर्णाली प्रदेशको से–फोक्सुन्डो, रारा र खप्तड निकुञ्जसहित सुदूरपश्चिम प्रदेशको अपिनाम्पा संरक्षण क्षेत्र समेटिएको ब्लकमा हिउँचितुवा छन् ।


नेपालले वैज्ञानिक अध्ययनका लागि कञ्जनजंघा संरक्षण क्षेत्रमा हिउँचितुवाको घाँटीमा ‘रेडियो स्याटेलाइट कलर’ जडान गरिसकेको छ भने यसै महिनादेखि शे–फोक्सुन्डो निकुञ्जका दुईवटा हिउँचितुवामा पनि जडान गर्दै छ ।


त्यसका लागि विभागबाट उपमहानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा प्राविधिकको टोली निकुञ्जको भिजेर क्षेत्र जाने तयारी गरेको छ ।


हिउँ चितुवाको घाँटीमा झुण्ड्याइएको रेडियो स्याटेलाइट कलरले तिनको विचरण क्षेत्र, आहार, तापक्रमलगायत अवस्थाबारे जानकारी प्राप्त गर्न सकिन्छ । पुरानो आँकडाअनुसार नेपालमा ३ देखि ५ सय हाराहारी हिउँ चितुवा छन् । विश्वभर यसको संख्या करिब ६ हजार रहेको अनुमान छ ।


१२ देशमा हिउँ चितुवा विचरण गर्ने क्षेत्र (बासस्थान) १७ लाख ७६ हजार वर्गकिलोमिटर छ । नेपालमा संरक्षित सूचीमा रहेको यो सुन्दर र आकर्षक वन्यजन्तु साइटिसको अनुसूची १ मा छ । नेपालमा भएको ‘जीएसएलईपी’ को दोस्रो बैठकले हिमाली क्षेत्रको जैविक विविधता र हिउँ चितुवा अनुसन्धानमा सबै मुलुकले युवा पुस्तालाई सक्रिय बनाउने घोषणा गरेको थियो । यस्तै, मानव–हिउँ चितुवाबीच बढ्दो द्वन्द्व न्यून गर्न स्थानीयको जीवनस्तर माथि उठाउने, जीविकोपार्जन सुधार्ने र उनीहरूलाई आयआर्जनका कार्यक्रमलगायत कार्यक्रम सदस्य मुलुकले अघि बढाएका छन् ।


प्रकाशित : आश्विन २८, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?