कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ राष्ट्रपति सीको ‘भ्रमण सफल’भएको समाजवादी र राजपाको ठहर 

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल भएको जनाएको छ । पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले सीको दुईदिने नेपाल भ्रमणको स्वागत गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘दुई देशको मित्रतालाई प्रगाढ बनाउन यसले मद्दत पुर्‍याएको छ ।’

चिनियाँ राष्ट्रपति सीको ‘भ्रमण सफल’भएको समाजवादी र राजपाको ठहर 

त्यसैगरी राजपाले पनि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल र ऐतिहासिक भएको जनाएको छ । ‘यो उच्चस्तरको भ्रमणले चीन र नेपालको सम्बन्ध बलियो र फलदायी बनाएको छ, यसबाट हामीले अधिकतम लाभ लिनुपर्छ,’ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले कान्तिपुरसँग भने । तर, भ्रमणक्रममा मधेसकेन्द्रित दल र मधेसी जनताको विचारलाई महत्त्व नदिइएकोमा उनले असन्तुष्टि जनाए । ‘यस्तो उच्चस्तरको भ्रमणमा मधेस र मधेसी दलको खोजखबर भएन, हाम्रो सरकारबाट भएन या चिनियाँ पक्षबाट भएन, यो एउटा कमजोरी भयो,’ उनले कान्तिपुरसँग भने ।


पार्टी एकीकरणमा जोड

समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठका अनुसार पार्टीको पदाधिकारी बैठकमा राजपासहित विचार मिल्ने अन्य साना राजनीतिक दलसँगको एकताका विषयमा समेत छलफल भएको थियो । ‘विचार मिल्नेसँग ध्रुवीकरणको पक्षलाई तीव्रता दिनुपर्छ भन्ने निष्कर्ष बैठकको हो,’ उनले भने । राजपासँग केही समयदेखि चल्दै आएको अनौपचारिक संवादलाई समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि नै निष्कर्षमा पुर्‍याउने प्रयत्न हुने उनले बताए । पार्टीको संघीय परिषद् बैठक कात्तिक २८ गते र केन्द्रीय कार्यसमिति बैठक कात्तिक २९ र ३० गते बस्ने निर्णय बैठकले गरेको छ ।


केन्द्रीय कार्यसमिति ४ सय र संघीय परिषद् संख्या हजार हाराहारीमा छ । समाजवादी र राजपा एकीकरणका लागि धेरै अघिदेखि अनौपचारिक संवाद चल्दै आए पनि निष्कर्षमा पुग्न सकेको छैन । दुवै पार्टीले एकीकरणका विषयमा सहमति खोज्न वार्ता समिति गठन गरेका छन् । बेलाबखत वार्ता समिति र नेतृत्व तहमा समेत एकता प्रक्रियाबारे छलफल चल्दै आएको छ । तर, सबै छलफल अनौपचारिक तहमा सीमित छन् ।


वैचारिक र सांगठनिक मुद्दामा दुवै पार्टी निकट रहे पनि नेताहरूको व्यवस्थापनका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अड्किँदै आएको छ । खासगरी राजपा अध्यक्षमण्डलका ६ सदस्यको व्यवस्थापन पेचिलो बनेको छ । ‘सकभर हाम्रो केन्द्रीय कार्यसमितिअघि एकीकरणलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल अघि बढाउने प्रयास हुनेछ, भएन भने केन्द्रीय कार्यसमिति बैठकपछि ध्रुवीकरण प्रक्रिया जारी रहनेछ,’ समाजवादीका महासचिव श्रेष्ठले भने । उनका अनुसार बैठकले मंसिर १४ गते हुन लागेको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका रिक्त स्थानको उपनिर्वाचनमा उम्मेदवार छनोट गर्नेसम्बन्धी निर्णयसमेत गरेको छ ।


प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार छनोट सम्बन्धमा प्रदेश कार्यसमितिको सिफारिसमा केन्द्रले निर्णय गर्ने र स्थानीय तहमा प्रदेश कार्यसमितिले छनोट गर्ने निर्णय बैठकले गरेको छ । बैठकले अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोगलाई पूर्णता दिएको छ ।


प्रकाशित : आश्विन २८, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?