१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘आतिथ्यबाट आल्हादित भएँ’

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भोजको आतिथ्य पूरा गरेर शनिबार राति १०:३० बजे होटल सोल्टीको विशिष्ट शयनकक्षमा पुगिसकेका थिए । भ्रमणको थकान र कार्यतालिकाको चटारो भए पनि राष्ट्रपतिले आफ्ना शिष्टाचार महापालमार्फत नेपाल–नेपालीलाई मध्यरातमै सन्देश पठाउन चाहे । 

‘आतिथ्यबाट आल्हादित भएँ’

राष्ट्रपति सीसँगै आएका चिनियाँ विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल होङ लीले त्यो सन्देश बोकेर आएका थिए, नेपाली समकक्षीछेउ । परराष्ट्रका प्रमुख शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीलाई नजिकै बोलाएर लीले भने, ‘नेपाल र नेपाली जनताले आफूमाथि देखाएको सद्भाव र आतिथ्यले आफू आल्हादित भएको महामहिम राष्ट्रपति सीको सन्देश छ । एयरपोर्ट, बाटोमा सबैतिर फूलका गुच्छाले गरिएको स्वागत र सद्भावले म प्रफुल्लित बनेको छु । नेपाल र नेपालीको यस्तो आतिथ्य मेरा लागि ऐतिहासिक छ ।’


यति मात्रै होइन, यो आतिथ्य र हार्दिकताको सन्देशलाई चिनियाँ जनतामाझ पुर्‍याउन राष्ट्रपति सीले काठमाडौं आएका सम्पूर्ण चिनियाँ सञ्चारकर्मीलाई समेत आग्रह गरेका थिए । राष्ट्रपतिको यो सन्देश चीनमा शनिबार राति नै चिनियाँ मिडियाहरूमार्फत पुगिसकेको थियो । ‘यो अनुभूति मात्रै गर्ने कुरा हो,’ राष्ट्रपति सीले पठाएको सन्देशबारे सूचना पाइसकेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रपति सीको सफलता एवं ऐतिहासिक भ्रमणप्रति सम्पूर्ण नेपाल र नेपालीसमेत आनन्दित बनेका छौं ।’


प्रकाशित : आश्विन २८, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?