कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मगर जातिको प्रगतिमा बाधक हुने संस्कारलाई सच्याऊ : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मगर सम्मेलन
गणेश राई

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी मगर जातिको प्रगतिमा बाधक हुने संस्कार र संस्कृतिलाई सच्याएर अघि बढ्नु पर्ने बताएका छन् ।

मगर जातिको प्रगतिमा बाधक हुने संस्कारलाई सच्याऊ : उपराष्ट्रपति पुन

नेपाल मगर संघको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको सोमबार उद्घाटन गर्दै पुनले मगर समुदायको इतिहास गौरवपूर्ण रहेको र विविधतायुक्त आदिवासी समुदाय भएको बताए ।


उनले प्रकृतिपूजक मगर जाति परम्पराप्रति विश्वास गर्ने भएकाले कतिपय संस्कार संस्कृति बोझिलो र आधुनिक समाज अनुकुल नभएकाले त्यसलाई अन्तर्राष्ट्रियकरणका निम्ति समस्या आएको पुनले जिकिर गरेका छन् ।


‘मगर समुदायभित्र बाह्र मगरात, अठाह्र मगरात र काइके क्षेत्रका विविध संस्कार संस्कृति परम्पराहरू छन्,’ उपराष्ट्रपति पुनले भने, ‘मगर संस्कार संस्कृतिमा प्रगतिका बाधक छन् भने सच्याएर अघि बढ्न जरुरी छ । त्यसलाई हाम्रो एकता, समृद्धिमा सहयोग पुग्ने संस्कृति अगाडि बढाऔं । त्यसलाई पूँजीजन्य भूमिकामा लगानी गर्न सघाऊ पुर्‍याउँछ । अन्तर्राष्ट्रियकरण हुन योग्य संस्कृति लोप हुनबाट जोगिन्छ ।’


मगर जातिको जनसंख्या क्षेत्री र बाहुनपछि तेस्रो स्थानमा रहेको छ, जुन १८ लाख ८८ हजार हो ।


सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले मगर र थारु नेपालको सबैभन्दा प्राचीन जाति भएको बताए । ‘विश्वभरि मगर जातिको साझा सवाल र आकांक्षा भनेकै जाति, भाषा, संस्कार संस्कृति परम्पराको एकरूपता र त्यसको प्रवर्द्धन हो,’ मन्त्री पुनले भने, ‘विश्वभरि आ–आफ्नो धारणा, सांस्कृतिक पृष्ठभूमि आपसमा आदानप्रदान गरेर दीर्घकालसम्म सँगै रहने प्रयास जारी राख्नु पर्छ ।’ सबैभन्दा महत्वपूर्ण सामाजिक, शैक्षिक, आर्थिक पक्ष विकासमा जोड दिनुपर्ने उनले बताए ।


मगर संघका अध्यक्ष नविन रोकामगरका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा २५ मुलुकका प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले अन्तर्राष्ट्रिय मगर महासंघ गठन प्रक्रिया अघि बढाएको जनाइएको छ ।


सम्मेलनमा पूर्वसभामुख तथा सांसद ओनसरी घर्तीमगर, आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङलगायतले मगर जातिको पहिचानबारे बोलेका थिए ।

प्रकाशित : आश्विन २७, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?